Ad Area

गुल्मीमा आगलागीबाट ८९ घर गोठ जले, ८३ पशु चौपाया मरे


रमेश विश्वकर्मा

गुल्मी, ९ वैशाख  । गुल्मीका विभिन्न १४ स्थानमा शनिबार एकैदिन भएको आगलागीबाट ८९ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ४१ घर, ४८ गोठ, ८३ पशुचौपाया, एक ट्याक्टर, दुई कुटानपिसान मिल, एक मन्दिर र दुई किराना पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार नौ पशुचौपाया घाइते भएका छन् । एकै दिन आगलागी भएका विभिन्न स्थानहरूमध्ये इस्मा गाउँपालिकाका विभिन्न स्थानमा लागेको आगोले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । यस गाउँपालिकाको वडा–२ स्थित सिदुङ्खामा लागेको आगोले ११ घर, १७ गोठ, २० बाख्रा, छ भैँसी, एक पाडो, एक ट्याक्टर, दुई कुटानपिसान मिल र दुई किराना पसल जलेर नष्ट भएका छन् । सोही वडाको हाडिखोलामा लागेको आगोबाट छ घर, दुई गोठ, एक भैँसी र तीन बाख्रा जलेर नष्ट भएको बताइएको छ ।

इस्मा गाउँपालिकाकै वडा–४ स्थित मड्किनामा लागेको आगोले दुई गोठसहित एक भैँसी र नौ बाख्रा जलेर नष्ट भएका छन् । सोही वडाकै हुल र कोटकटेरीमा आगलागीबाट दश घर १४ गोठ, १२ बाख्रा, चार भैँसी र मन्दिर जलेर नष्ट भएका छन् भने एक पाडो घाइते भएको छ । गुल्मी दरबार गाउँपालिका वडा–६ भलायचौरमा लागेको आगोले एक घर पूर्ण रूपमा जलेको छ । मुसिकोट नगरपालिका वडा–५ आँपचौरमा लागेको आगोले तीन घर र दुई गोठ जलेका छन् । सोही नगरपालिकाको वडा–९ अर्लाङ्कोटमा दुई घर, एक गोठ पूर्ण रूपमा जलेका छन् भने दुई भैँसी घाइते भएको उहाँले बताउनुभयो ।

त्यस्तै मालिका गाउँपालिका वडा–१ म्यालचौरमा लागेको आगोले दुई गोठ पूर्ण रूपमा जलेका छन् । मदाने गाउँपालिका वडा–१ घडेरीमा पनि लागेको आगोले पाँच घर, पाँच गोठ, दश बाख्रा, १२ कुखुरा जलेर नष्ट भएका छन् । तीन गोरु र दुई पाडा घाइते भएका छन् । छत्रकोट गाउँपालिका वडा–१ हुँगामा लागेको आगोले दुई गोठ र पाँच बाख्रा जलेर नष्ट भएका छन् ।

धुर्कोट गाउँपालिका वडा–६ करमचाल्नेमा आगलागीबाट एक खाली घर जलेको छ । सोही पालिकाको वडा–४ रातापोखरामा आगलागीबाट एक खाली गोठ जलको छ । रुरुक्षेत्र गाउँपालिका वडा–१ भट्कुवामा आगलागीबाट दुई खाली घर जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad