घोराही क्रिकेटको सेमीफाईनलमा वडा नं. १४ र १७ प्रवेश
घोराही, १० बैशाख । घोराहीमा जारी वडा स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमीफाईनलमा वडा नम्बर १४ र १७ प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता अन्तरगत सोमबार बिहान भएको खेलमा वडा नम्बर १४ ले वडा नम्बर १ लाई ८० रनले र दिउँसो भएको अर्को खेलमा वडा नम्बर १७ ले वडा नम्बर २ लाई ७१ रनले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेका हुन् ।
समुह ए बाट वडा नम्बर १४ र समुह बी बाट वडा नम्बर १७ सेमीफाईनल प्रवेश गर्दा बाँकी दुई वटा समुहको सेमीफाईनल पुग्ने टीमको टुंगो लाग्न बाँकी छ ।
घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा सोमबार बिहान भएको लिग चरणको पाँचौ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वडा नम्बर १४ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । १ सय ५२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको वडा नम्बर १ ले १२ दशमशलव ५ ओभरमा सबै विकेट गुमाएर ७१ रन बनायो । योसँगै वडा नम्बर १४ ले ८० रनको जीत निकाल्दै सेमीफाईन प्रवेश गरेको छ । प्रतियोगितामा उत्कृष्ट पारी खेल्दै ६३ रन बनाउनुभएका वडा नम्बर १४ का समिप पौडेल प्लेयर अफ द म्याच हुनुभयो ।
यसैगरी, दिउँसो भएको अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर १७ ले ९ विकेटको क्षतिमा १ सय ३१ रन बनायो । १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको वडा नम्बर २ ले १२ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएपछि वडा नम्बर १७ ले ७१ रनको जीत दर्ता गरेको हो । प्रतियोगितामा २६ रन बनाउनुका साथै ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्नुभएका वडा नम्बर १७ का सुरेश बुढा प्लेयर अफ द म्याच हुनुभयो ।
प्रतियोगितामा पालिकाभरका १९ वटा वडा मध्ये १२ वटा वडाको सहभागी छ । अब मंगलबार पनि लिग चरणका दुई खेल हुनेछ । जसमा वडा नम्बर १६ र १८ बीच बिहान र वडा नम्बर ५ र १० बीच दिउँसो खेल हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख १५ गते हुने अन्तर वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिता संयोजक देवबहादुर भण्डारीले जानकारी दिनुभयो ।