Ad Area

आगलागीका ६८ घट्नामा तीन करोड बढीको क्षति


घोराही, २३ वैशाख । दाङमा करिव दुई महिनाको अवधिमा ६८ आगलागीका घट्ना भएका छन् । सुख्खा समयसँगै हावाहुरी सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा आगलागीका घट्नाहरु हुँदा तीन करोड बढीको क्षति भएको छ ।

दाङमा चैतदेखि वैशाखको हालसम्म जिल्लाका विभिन्न स्थानीय तहहरुमा भएका ६८ वटा आगलागीका घट्नाहरु हुँदा तीन करोड ८६ लाख ४५ हजार दुई बराबरको क्षति भएको जिल्लामा आपत कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख शम्भु आचार्यले जानकारी दिनुभएको छ । प्रमुख आचार्यका अनुसार चैत महिनामा २५ वटा र वैशाख महिनामा ४३ वटा आगलागीका घट्नाहरु हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ । आगलागी कारण घर,गोठ,सरकारी कार्यालय,उद्योग,पसललगायतमा क्षति पुगेको छ । आगलागीका ४८ घट्नामा ६३ घर र ४१ गोठहरुमा क्षति पुगेको छ ।

आगलागीका घट्नामा ४८ घर परिवारका दुई सय १७ परिवार संख्या विस्थापित भएको आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार गर्मी मौसम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढेका छन् । मानवीय लापरवाहीका कारण घरवाटसँगै जंगलमा लागेको आगो बस्तीसम्म आइपुगेर जिल्लाको देउखुरी क्षेत्रमा ठुलो क्षति गरेको केन्द्रका प्रमुख आचार्यले जानकारी दिनुभएको छ ।

केन्द्रका प्रमुख आचार्यले भन्नुभयो,‘अन्य समयमा कहिलेकाही आगलागीका घट्नाहरु हुने गरेपनि सुख्खा समयमा जिल्लामा दिनहुँ जसो आगलागीका घट्नाहरु हुने गरेका छन् । तीमध्ये धेरै जसो घरहरुमा मानवीय लापरवाहीसँगै कतिपय घरमा जंगलमा लागेको आएर क्षति गर्ने गरेको छ ।’ यो बर्ष लागलागीका कारण देउखुरीको राजपुर गाउँपालिकामा सवैभन्दा धेरै क्षति भएको छ । जंगल क्षेत्रसँगै नजिकमा घरहरु हुँदा राजपुर गाउँपालिका आगलागीका घेरै घट्नाहरु भएका छन् ।

त्यसँगै गढवा गाउँपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, दंगीशरण गाउँपालिका शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकामा पनि आगलागीका घट्नाहरु भइरहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०÷०८१ को बैशाखसम्म जिल्लामा एक सय २० वटा आगलागीका घट्ना हुँदा दुई सय २५ परिवार संख्या विस्तापित भएका छन् । जसमा ८ करोड ७६ लाख नौ हजार दुई सय बराबरको क्षति भएको प्रमुख आचार्यले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार आगलागीबाट ७६ घर, ४५ गोठ, सवारी साधन १२, सरकारी कार्यालय एउटा र उद्योग तथा व्यवसाय १२ वटामा क्षति पुगेको छ । आगलागीबाट दुई पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । त्यसैगरी १६ जना घाइते भएका छन् । आगलागीमा परेर ३७ वटा पशु चौपायको जलेर मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

त्यसैगरी जिल्लामा ५० हेक्टर बढी क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । जिल्लाको दाङ र देउखुरी क्षेत्रको सामुदायिक तथा राष्ट्रिय गरेर करिव ५० हेक्टर बढी क्षेत्रफलमा आगलागी हुँदा जंगलमा सुकेका काठसँगै महत्वपूर्ण जतिबुटी तथा साना विरुवाहरुमा क्षति पुगेको डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार डढेलो नियन्त्रणका लागि सञ्चार माध्यमबाट सार्वजनिक सूचना, सामुदायिक वनका पदाधिकारी तालिमसँगै सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेपनि प्रभावकारी हुन नसक्दा बर्षेनी आगलागीका घट्नाहरु बढ्दै गएको क्षेत्री बताउँनुहुन्छ ।