साक्षर जिल्ला दाङमा अझै करीव १९ प्रतिशत नागरिक निरक्षर
घोराही, २६ बैशाख । दाङलाई साक्षर जिल्ला घोषणा गरेको करीव एक दशक पुगेको छ । तत्कालीन शिक्षा कार्यालयको पहलमा जिल्लाका ३९ वटै गाविसलाई साक्षर घोषणा गरेसँगै जिल्लालाई नै साक्षर घोषणा गरिएको हो । २०७२ असार २४ गते तत्कालीन शिक्षा मन्त्री चित्रलेखा यादवले दाङलाई साक्षर जिल्ला घोषणा गर्नुभएको थियो ।
जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ९५ हजार ८९ जनसंङ्ख्या मध्ये ९६ दशमलव ८ प्रतिशत अर्थात ३ लाख ८२ हजार ५ सय ७० जना साक्षर भएपछि जिल्लालाई साक्षर घोषणा गरिएको थियो । सो समयमा दाङको शिक्षा कार्यालयको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्याल हुनुहुन्थ्यो ।
साक्षरता भन्नाले अक्षर चिनेको वा जानेको, लिपि चिनेको वा अलिअलि लेखपढ गर्न सक्ने वा अल्पशिक्षितलाई जनाउँदछ । जिल्लालाई साक्षर घोषणा गर्न १५ देखि ६० वर्ष उमेरसम्मका ९५ प्रतिशत नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । तर, जिल्लालाई साक्षर घोषणा गरेको दशक बित्न लाग्दा दाङको साक्षरता दर अपेक्षा गरिए अनुसार सुधार हुन सकेको छैन ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दाङमा करीव १९ प्रतिशत नागरिक अझै निरक्षर रहेको पाईएको छ । जिल्लामा १८ दशमलव ६ प्रतिशत नागरिक निरक्षर रहेको पाईएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा ८१ दशमलव ४ प्रतिशत नागरिक मात्रै साक्षर भेटिएका छन् । जिल्लामा रहेको कुल ६ लाख ७४ हजार ९ सय ९३ जनामध्ये ५ लाख ४९ हजार ४ सय ४५ जना मात्रै साक्षर भेटिएका छन् । बाँकी १ लाख २५ हजार ५ सय ४८ जनसंख्या निरक्षर रहेको पाईएको हो ।
जिल्लाको साक्षरता दर हेर्दा सबैभन्दा कमजोर राजपुर गाउँपालिकाको देखिएको छ । राजपुरमा २८ हजार ३ सय ४६ जनसंख्या रहेकोमा त्यहाँ ७६ दशमलव ७८ अर्थात २१ हजार ७ सय ६५ जना मात्रै साक्षर रहेका छन् ।
जिल्लाको गढवा गाउँपालिकाका साक्षरता दर ७७ दशमलव ६९ प्रतिशत रहेको छ । त्यहाँ ४५ हजार ८ सय ९८ जनसंख्या रहेकोमा ३५ हजार ६ सय ५८ जना साक्षर भेटिएका छन् ।
यसैगरी, जिल्लाको एक मात्र पहाडी भूगोल रहेकोपालिकाका रुपमा परिचित बंगलाचुली गाउँपालिकामा २२ हजार ३ सय ७३ जनसंंख्या रहेकोमा ७७ दशमलव ९१ प्रतिशत अर्थात १७ हजार ४ सय २० जना मात्रै साक्षर रहेका छन् । बबई गाउँपालिकामा ३० हजार ९ सय ६८ जनसंख्या रहेकामा ७८ दशमलव ०१ प्रतिशत अर्थात २४ हजार १ सय ५८ जना मात्रै साक्षर रहेका छन् ।
दंगीशरण गाउँपालिकामा २३ हजार ६ सय ६८ जनसंख्या रहेकामा ७८ दशमलव ९६ प्रतिशत अर्थात १८ हजार ६ सय ८८ जना साक्षर रहेका छन् ।
जिल्लाको राप्ती गाउँपालिकामा ५२ हजार १ सय २३ जनसंख्या रहेकामा त्यहाँ ७९ दशमलव ३७ प्रतिशत अर्थात ४१ हजार ३ सय ७० जना साक्षर रहेका छन् ।
शान्तिनगर गाउँपालिकामा २७ हजार ६ सय ४१ जनसंख्या रहेकोमा ७९ दशमलव ९४ प्र्रतिशत अर्थात २२ हजार ९६ जना साक्षर रहेका छन् ।
लमही नगरपालिकामा ५९ हजार ५० जनसंख्या रहेकोमा ८० दशमलव ८८ प्रतिशत अर्थात ४७ हजार ७ सय ५९ जना साक्षर रहेका छन् ।
जिल्लामा रहेका दुई उपमहानगरमा पनि साक्षरता दरमा १६ प्रतिशत निरक्षर भेटिएका छन् । घोराही उपमहानगरपालिकामा २ लाख ५ सय ३० जनसंख्या रहेकोमा ८३ दशमलव ०५ प्रतिशत अर्थात १ लाख ६६ हजार ५ सय ४० जना मात्रै साक्षर भेटिएका छन् ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७९ हजार ७ सय ५५ जनसंख्या रहेकोमा ८३ दशमलव १४ प्रतिशत अर्थात १ लाख ४९ हजार ४ सय ४८ जना साक्षर रहेका छन् । संस्थागत तर्फ भने ४ हजार ६ सय ४१ जनसंख्या गणना गरिएकोमा ९५ दशमलव ४५ प्रतिशत ४ हजार ४ सय २९ जना साक्षर रहेको पाईएको छ ।
जिल्लामा रहेका सय वटा वडामा १ लाख ६२ हजार ३ सय १६ परिवार संख्या रहेको छ । जसमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । ३ लाख २० हजार ५ सय ७३ पुरुष रहेको दाङमा महिलाको संख्या ३३ हजार ८ सय ४७ ले धेरै छ । अर्थात महिलाको संख्या ३ लाख ५४ हजार ४ सय २० जना रहेको छ ।
उसो त, नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत र महिलाको ६९ दशमलव ४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ ।
२०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५ दशमलव ९ प्रतिशत थियो । जसमा पुरुषको ७५ दशमलव १ र महिलाको साक्षरता दर ५७ दशमलव ४ प्रतिशत थियो । देशभर साक्षरता दर बढेको पाइएपनि नागरिकमा चेतना स्तरको विकास भने अपेक्षाकृत हुन सकेको छैन । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने शिक्षा अनुसारको चेतनाको विकास पनि हुनुपर्ने हो । तर, सरकारको दाबी अनुसार शैक्षिक गुणस्तर बढेको मान्न नसकिने शिक्षाविद् तथा लेखकहरूको तर्क रहेको छ । नेपाली शिक्षा प्रणालीले नागरिकको चेतना स्तर नबढाएको, सोँचाई फराकिलो बनाउन नसकेको कुराहरू भइरहेका छन् ।