Ad Area

दाङमा माछापालनका लागि पिंजडा प्रविधि,माछापालनमा सहजता हुने अपेक्षा


घोराही, ७ जेठ । दाङका कृत्रिम जलाशयहरुमा माछापालनलाई व्यवस्थीत गर्ने उद्देश्यले पहिलो पटक पिंजडा प्रविधिबाट माछापालन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१७ ओखरामा रहेको कृत्रिम जलाशयमा पिंजडा प्रविधिबाट माछापालन गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताउनुभएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र दाङको करिव डेढ लाख र स्थानीय उपभोक्ताको ५० हजार गरेर दुई लाख रुपैयाँ खर्च गरेर पोखरीमा पिंजडा निर्माण गरेर माछापालन गर्न थालिएको मत्स्य विकास अधिकृत चौधरीले जानकारी दिनुभएको हो ।

मत्स्य विकास अधिकृत चौधरीले भन्नुभयो,‘ठुला जलाशयहरुमा पिंजडा प्रविधि अपनाएर कुलेखानी र पोखरामा व्यवसायीक रुपमा माछापालन गरिएपछि पश्चिम क्षेत्रमा थिएन । दाङमा पनि ठुला र गहिरा पोखरीहरु भएकाले हामीले पहिलो पटक अभ्यासका रुपमा पिंजडा प्रविधि अपनाएका छौ ।’ उहाँका अनुसार ओखरामा रहेको कृत्रिम जलाशयमा संरचना निमाण गरेर पंगास जातका एक हजार माछाका भुरा छाडेको छ । कृत्रिम जलाशसमा छाडिएका माछाको संरक्षण गर्ने र विक्री गरेर आम्दानी समुदायले खर्च गर्ने गरि छोडिएको बताउनुभयो ।

पिंजडा प्रविधिका माध्यमबाट गहिरा जलाशयहरुमा माछापालन गर्दा माछालाई चारो राख्नेदेखि उत्पादन पनि सत प्रतिशत लिन सकिने मत्स्य विकास अधिकृत चौधरीले बताउनुभयो । घोराही क्षेत्रका कृत्रिम जलाशयहरुमा माछाका भुरा हाल्ने गरिएपनि मार्नलाई समस्या भइरहेको अवस्थालाई मध्यनजर गरेर नयाँ प्रविधि अपनाइएको भन्दै अधिकृत चौधरीले भन्नुभयो,‘जिल्लामा धेरै जलाशयहरु निर्माण भएपनि माछापालनबाट आम्दानी लिन उपभोक्तालाई समस्या भइरहेको अवस्थामा हामीले नयाँ प्रविधि भित्राएका छौ । यो सफल भएको खण्डमा यसलाई अन्य जलासयहरुमा पनि विस्तार गर्ने सोच रहेको छ ।’

कृत्रिम जलासयमा माछापालनलाई सहजताका ७२ घनमिटरको पिंजडा पोखरीमा राखेर माछापालन गरिएको ओखरा सेवाली कृत्रिम जलाशय उपभोक्ता समितिका अध्यक्ष दिनेश चौधरी बताउँनुहुन्छ । उहाँका अनुसार वृहत सिचाई कार्यालयले दाङले तीन बर्षअघि निर्माण गरिएको कृत्रिम जलाशयमा स्थानीयले दुई बर्ष १५ हजार माछाका भुरा हालेपनि गहिरो पोखरीका कारण उत्पादन लिन सकेका छैनन् । गहिरो पोखरीमा माछा मार्नका लागि समस्या भइरहेको अवस्था नयाँ प्रविधिले सहजता हुने अपेक्षा गरिएको अध्यक्ष चौधरीले बताउँनुभएको छ ।

जिल्लामा अहिले १ सय १५ हेक्टर क्षेत्रफलमा माछा पालन हुने गरेको छ भने वार्षिक उत्पादन ६ सय ११ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । जिल्लामा दुई सय ८५ बढी माछापालन सम्वन्धी फर्महरु रहेका छन् । जलाशयमा भेटेरिन अस्पताल तथा पशु बिज्ञ केन्द्र दाङका प्रमुख डा.प्रतिभा विष्ट, मत्स्य विकास अधिकृत प्रेम चौधरीलगायतले कृत्रिम जलाशयमा निर्माणमा गरिएको पिंजडामा माछाका भुरा छाडेर नयाँ प्रविधिको सुरुवागत गर्नुभएको थियो ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad