Ad Area

रोल्पाली ढाङढुङ(कुरेली) समाज सेवाको पाँचौं साधारणसभा


घोराही,२६ जेठ । रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् वडा नम्बर १३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेलको विशिष्ट आतिथ्यमा शनिवार साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले रोल्पाली ढाङढुङ कुरेली समाज सेवाले खेल्दै आएको सामाजिक सेवाको काम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले रोल्पाबाट दाङ आएर बसोबास गर्दै आएकाहरुलाई संस्थामा आवद्ध गर्दै सामाजिक, सांस्कृतिक एकतामा जोड्ने कामले रोल्पाको कला, संस्कृति, सीपसँगै सामाजिक एकताको राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले रोल्पालीहरुमा रहेको सीप, कला र क्षमता निखार्न तालिम र चेतनाको विकासमा ध्यान दिनपनि आग्रह गर्नुभयो ।

आफुसँग भएको सीप र कलालाई आयआर्जनमा जोड्ने गरी थप क्षमता बढाउने काममा लाग्ने काममा स्थानीय सरकारको साथ सहयोग रहने हुँदा रोल्पाली ढाङढुङ कुरेली समाज सेवालाई आवश्यक समन्वय र सहकार्य गर्न सुझाव दिनुभयो ।

यसैगरी, भौतिक विकाससँगै मानवीय विकासमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय मानव स्वास्थ्यलगायत समस्याले मानिसले अनावश्यक आर्थिक भार व्यहोर्नु पर्ने अवस्था भईरहेको हुँदा कामसँगै आफ्नोे स्वास्थ्यमा सजगता अपनाउने विषयमा सचेतना फैलाउने काममा संस्थाले भुमिका बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष पोख्रेलले समृद्ध वडा बनाउने अभियानलाई रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको साथ, सहकार्य रहेको भन्दै आगामी दिनमा यो भुमिका अझ बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष दिलाराम वली, लुकुमेल समाजका वरिष्ठ उपाध्यक्ष भागीरथी पुन, समाजका सल्लाहकार कुम्भ बुढा मगर, पत्रकार गोविन्द खड्का, सुविधा टोल विकास संस्थाका सचिव गणेश घर्तीलगायत बोल्नुभएको थियो ।

त्यस अवसरमा, संस्थाको प्रगति प्रतिवेदन सचिव सुरेन्द्र घर्ती मगर र आर्थिक प्रतिवेदन संरक्षक समिति सदस्य मनप्रसाद बुढाले प्रस्तुत गर्नुभएको थियो । २०७४ चैत ३० गते औपचारिक रुपमा स्थापित रोल्पाली ढाङढुङ कुरेली समाज सेवाले संस्थागत रुपमा गर्दै आएको प्रयासबाट थुप्रैले साथ, सहयोग र राहत प्राप्त गर्न सफल भएका छन् । संस्थाका उपाध्यक्ष प्रेम बुढा मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव थुमबहादुर वलीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad