Ad Area

लैंगिक तथा अल्पसंख्यकले मनाए गौरवको महिना


घोराही, २ असार । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवको महिनाका रुपमा कार्यक्रम गरेर मनाईरहेका छन् । दाङमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक एवम् तेश्रो लिङ्गीहरुले संयुक्त रुपमा आफुहरुको पहिचानलाई राज्यका सबै निकायले गम्भीरतापूर्वक बुझ्न सकून् भन्ने उद्देश्यसहित ‘प्राईड मन्थ- 2024’का रुपमा मनाईरहेका छन् ।

जस अन्तरगत आईतबार उनीहरुले घोराही बजारमा ¥याली निकालेर आफुहरुले समाजमा रहँदा भोग्दै आएका समस्या र चुनौतिका बारेमा जानकारी गराउँदै विद्यमान समस्यामा सबै पक्ष गम्भीर हुनुपर्ने आवाजसमेत उठाएका छन् । विभिन्न प्रकारका नारासहितका प्ले कार्ड लिएर कार्यक्रम गरेका उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गम्भीरतालाई हरेक व्यक्ति, समुदाय र राज्यले बुझ्न आवश्यक रहेको बताएका छन् ।

मानव स्वास्थ्य समाजका परियोजना संयोजक जुनु चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको पहिचान स्थापित गर्ने, मानव अधिकार प्रत्याभूत गराउने र यौन स्वास्थ्य सुरक्षा र प्रवद्र्धन गराउने उद्देश्यलाई राज्यले अझै बुझ्न नसक्दा धेरै खालमा समस्या र अपहेलना सहनुपर्ने अवस्था रहेको बताउनुभयो ।

समाजका अध्यक्ष मुस्कान डिसीले लैंगिक तथा अल्पसंख्यक समुदायको उत्थान र सबलीकरणका लागि लामो समयदेखि संस्थागत रुपमा प्रयास भइरहेको भएपनि अझै समाजमा धेरै जसो लैंगिक तथा अल्पसंख्यकहरु खुल्न नसकेको बताउनुभयो । लैंगिक तथा अल्पसंख्यक हुनु शारिरीके कारणले हुने भएपनि यसलाई नकारात्मक रुपमा लिन नहुने उहाँ बताउनुहुन्छ । आफुहरु यौनिक तथा अल्पसंख्यकका रुपमा परिचय स्थापित गराउँदै समाजको एक महत्वपूर्ण नागरिकका रुपमा लिएर सामाजिक विकासको क्षेत्रमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

तर, अहिले पनि विभिन्न कारणले यो समुदाय झनझन सिमान्तकृत बन्दै गइरहेको प्रति चिन्ता र चासो व्यक्त गर्दै एक्लैको प्रयासले लक्ष्य सम्म पुग्न असम्भव हुने हुँदा स्थानीय सरकार सहयोगीका रुपमा साथ रहनुपर्ने उहाँ आवश्यकता औँल्याउनुहुन्छ ।

गौरवको महिनाका रुपमा कार्यक्रम गर्दै घोराही उपमहानगर पुगेका उनीहरुले पालिकालाई आफुहरुको समस्यालाई गम्भीरतापूर्वक लिएर नीति तथा कार्यक्रममा समावेश गरेर आवश्यक बजेट विनियोजन गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् ।

Blog Post Ad

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले हरेक नागरिकको संविधान प्रदत्त अधिकारलाई सुरक्षित गर्नु राज्यको पहिलो दायित्व रहेको बताउनुभयो । उहाँले यौनिक अल्पसंख्यक भएकै कारण कोही कसैले पनि दुख मनाउ गरेर बाँच्नु नपर्ने भन्दै स्थानीय सरकार यो विषयमा गम्भीर रहेको बताउनुभयो ।

यौनिक तथा अल्पसंख्यकको उत्थान र सबलीकरणका लागि जिल्लामा क्रियाशील संस्थाको अगुवाईमा उनीहरुले कार्यक्रम गरेका हुन् । उनीहरुका अनुसार जिल्लाका यौनिक तथा अल्पसंख्यकको संख्या ५ हजारको हाराहारीमा रहेको छ । तर, अझै पनि धेरै व्यक्ति विद्यमान सामाजिक परिवेशका कारण खुल्न नसकेको यस क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको भनाई छ ।

Blog Post Ad Blog Post Ad