Ad Area

घोराहीको नीति तथा कार्यक्रम सार्वजनिक


घोराही, २ असार । घोराही उपमहानगरपालिकाले विगतका धेरै जसो कार्यक्रमहरुलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि अख्तियारी गरिने कृषि, शिक्षा र स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासलगायत कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको १५ औं अधिवेशनमा आईतबार नगर प्रमुख नरुलाल चौधरीले कूल ३३ पृष्ठको २ सय ६१ बुँदामा समेटिएको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभयो । उहाँले कृषियोग्य भूमिमा नियमित सिँचाई गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोलाखाल्सी, सिमसारलगायत क्षेत्रहरुको मुहान संरक्षण गर्ने, भूमिगत जलभण्डार स्थिर राख्न सिँचाई, पर्यटन, रोजगारी सिर्जना गरी नगरबासीको आर्थिक स्तर उकास्ने, किसानलाई दिइने उन्नत बिउ विजन र कृषि उपकरणमा अनुदानलाई निरन्तरता दिने, सूचना प्रविधिको माध्यमबाट कृषि सूचना उपलब्ध गराउन घोराही कृषि मोबाईल एप तयार गरी कार्यान्वयनमा ल्याई किसान परिचय पत्रको समेत व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

यसैगरी, पशुपंक्षीको उपचार, पशुआहारालाई व्यवस्थित गर्न नगरभित्र रहेका पशु सेवा केन्द्रको सुदृढीकरण गरिने भएको छ । जनहितका कार्यक्रम यथावत रहने नीति ल्याएको उपमहानगरले कृषि, स्वास्थ्य र शिक्षामा केही नयाँ नीति अवलम्वन गर्नेगरी थप कार्यक्रम पनि ल्याएको छ ।

यस्तै पशुपंक्षीमा देखिने संक्रामक रोग निवारण गर्न निःशुल्क खोप उपलव्ध गराउने र त्यसका लागि डोर टू डोर कार्यक्रम सञ्चालन गर्ने, गोठदेखि ओठसम्म स्वच्छ उत्पादन र उपभोग गर्न डिस्पेन्सरीसहितको प्रयोगशाला सञ्चालनमा ल्याउने उपमहानगरले आफ्नो नीतिमा उल्लेख गरेको छ ।

बालीको मूल बिउ उत्पादन गर्न बिजबृद्धि कार्यक्रम सञ्चालन गर्ने, उत्पादित कृषि उपजको बिक्री वितरणका लागि कृषि उपज संकलन केन्द्र निर्माण गर्ने, तोरी र मह उत्पादनलाई बढाउन सिंचाईमा अनुदान र तोरीको तेल, बेसार र महको ब्राण्डिङ गर्ने यी सबै उत्पादनलाई बृद्धि गर्न साना सिंचाईका उपकरण, कृत्रिम जलाशय, इनार, पक्कीकुलो, बाँध, थोपा सिंचाईका लागि विशेष सुविधा उपलव्ध गराउने नीति उपमहानगरले लिएको छ ।
यसैगरी, माटोको गुणस्तरमा ह्रास हुन नदिन माटो परिक्षण कार्यलाई निरन्तरता दिँदै प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन र प्रयोगमा किसानलाई प्रोत्साहन गरी प्राङगारिक तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

सिकलसेलका बिरामीलाई निःशुल्क रगत, लैंगिक हिंसा निवारण, बालमैत्री अभियान, जेष्ठ नागरिक घरदैलो स्वास्थ्यजाँचलगायतका थुप्रै पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरप्रमुख चौधरीले बताउनुभयो । आयुर्वेद उपचारात्मक, प्रवद्र्धनात्मक तथा पूर्वकर्म, पञ्चकर्म तथा शिरोधारासहितको आयुर्वेद स्वास्थ्य सेवा विस्तार गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने, जन्मजात बिकलाङ्ग न्यूनीकरण गर्न गर्भवतीहरुलाई नियमित निःशुल्क भिडियो एक्सरे सेवाको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ । उपमहानगरले कृषिमा जस्तै शिक्षामा पनि केही नयाँ कार्यक्रम थपेको छ । राष्ट्रिय शिक्षा नीतिले सम्बोधन गरे बमोजिम ५ वर्षे नगर शिक्षा योजना तयार गर्ने भएको छ ।

Blog Post Ad

विद्यार्थीहरुलाई छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, स्यानेटरी प्याड वितरण, विज्ञान र सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था र शुक्रवारिय सिर्जनशील कार्यक्रम गरेर बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी एक वडा एक नमूना विद्यालय सञ्चालन गर्ने, प्राविधिक धारको शिक्षालाई व्यवस्थित गर्दै सीपयुक्त शिक्षा उपलव्ध गराउने र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघको क्षमता अभिबृद्धि गर्ने, विद्यालयहरुलाई स्रोत साधनयुक्त बनाउने, सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । थारु तथा मगर भाषामा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यक्रम अनुसार पाठ्यपुस्तकको व्यवस्था गर्ने भएको छ । बालमन्दिर आधारभूत विद्यालयलाई अपांगमैत्री विशेष विद्यालयका रुपमा संचालन गर्ने नीति पालिकाले लिएको छ ।

पाँच वर्षमुनि उमेर समूहका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर दिने भनेको उपमहानगरले शिक्षामा पहुँच सुनिश्चित गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

लैंगिक समानता तथा सामाजिक समोवशीकरणको नीतिलाई अवलम्बन गर्ने, सन् २०२६ सम्ममा घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न लैंगिक हिंसा नियन्त्रणका सूचक बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक एवम् संरक्षणात्मक कार्यक्रम संचालन गरिने भएको छ ।

त्यसैगरी घोराही उपमहानगरले स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । असहाय, विपन्न तथा प्रसूतिजन्य सेवाका लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने, प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत पाठेघर बचाऊँ अभियान कार्यक्रम संचालन गरिने भएको छ । पाठेघरको निशुल्क भिआईए स्क्रिनिङ गरी क्यान्सरको प्रारम्भिक जाँच तथा उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

घोराहीलाई लागूऔषध दुव्र्यसनमुक्त नगर घोषणा गर्ने, नगरक्षेत्रका निर्माणाधीन स्वास्थ्य संस्थाहरुको भवन सम्पन्न गर्ने, उपप्रमुख खुत्रुके वचतलाई निरन्तरता दिने भएको छ । घोराही उपमहानगरपालिकाले सामाजिक सुरक्षा र विकासका कार्यक्रमलाई पनि थप व्यवस्थित गर्ने नीति अख्तियार गरेको छ । सुरक्षित आवासका लागि भवनसंहिताको पालनामा कडाइ र अनुगमन गर्ने, पालिकाका हरेक वडालाई विद्युतीकरण पूर्ण गरी उज्यालो नगर घोषणा गर्ने नीति लिएको छ ।

नगरको पूर्वाधार विकासका ५ लाख भन्दा माथिका योजनालाई ठेक्कामार्फत गर्ने, आयोजनाहरुको गुणस्तर परीक्षण गर्न घोराहीको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधारको तयारीको शुरुवात गर्ने नीति लिएको छ ।
सरयु नदीको सांस्कृतिक महत्व झल्किने गरी पूर्वाधार निर्माण गर्न वृहत सरयु करिडोर आयोजना सम्भाव्यता अध्ययन गर्ने, प्रस्तावित चक्रपथ कार्यान्वयनमा सघाउ पुुग्ने गरी पहुँच मार्ग, सहायक मार्ग, वैकल्पिक मार्ग, गाउँ टोल भित्रका साना सडकहरु निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिने भएको छ ।
सबै वडा कार्यालयहरुमा बाह्रै महिना संचालन हुने गरी सडक स्तरोन्नति तथा कालोपत्र गरिने भएको छ । घर नक्सा पास प्रकृयालाई थप सरलीकरण गर्दै न्युनतम राजश्वमा घरनक्सा पास गर्ने व्यवस्था मिलाईने भएको छ । खरको छानो मुक्त अभियानलाई निरन्तरता दिँदै वडा हुँदै नगरलाई नै खरको छानो मुक्त नगर घोषणा गर्ने नीति पालिकाले लिएको छ ।

उपमहानगरले वातावरणको संरक्षण गर्न ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने, कोशेली घरलगायत उत्पादनमा आधारित क्षेत्र र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, करदाता शिक्षा कार्यक्रम चलाउने र उत्कृष्ट करदातालाई सम्मान गर्ने, हरित नगरको अभियानलाई सार्थक बनाउन बजार क्षेत्रका सडक किनारमा रोड साईड प्लान्टेशन कार्यक्रम संचालन गर्नेलगायत नीति उपमहानगरले लिएको छ । नगर सभाको अर्को बैठक आगामी ४ गते बिहान ७ बजेका लागि आह्वान गरिएको छ । नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि नगर सभा सदस्यहरुले आ–आफ्नो राय, सुझाव दिनुहुनेछ । त्यसपछि आगामी आर्थिक वर्षको बजेट पालिकाले ल्याउनेछ ।

Blog Post Ad Blog Post Ad