Ad Area

स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक


घोराही, ३१ असार। स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना नबन्दासम्म स्वस्थ नागरिक र समृद्ध राष्ट्र निर्माण हुन नसक्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले बताउनुभयो ।

प्रदेश अन्तरगत स्वास्थ्य क्षेत्रमा वर्षभर भएका काम र उपलब्धि बारे जानकारी गराउन सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पुनले स्वास्थ्य, शिक्षा र कृषि
एक अर्काका परिपूरक रहेकाले यसको एकीकृत कार्ययोजना बन्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेशमा स्वास्थ्यका सुचक सन्तोषजनक नरहेको हुँदा समग्र सुधारका लागि स्वास्थ्य सम्बन्धि शिक्षा र कृषि उत्पादनको उपभोगलाई सही रुपमा लैजान ध्यान दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले प्रदेश अन्तरगतका १२ जिल्लामा वर्ष भर भएका काम र उपलब्धि सार्वजनिक गर्नुभयो ।
प्रदेश सरकारले अघि सारेको जनउत्तरदायी स्वास्थ्य प्रणाली र ईमान्दारिताः गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने नारा साकार पार्न स्वास्थ्य मन्त्रालय र अन्तरगतका निकायहरुबाट प्रदेशका १२ वटै जिल्लामा आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालयहरु र अस्पतालहरुबाट प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । उहाँले प्रदेशका १२ जिल्लाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भई प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका राष्ट्रिय खोप समन्वय समितिमा प्रमाणीकरणका लागि पत्राचार भएको जानकारी गराउनु भयो ।
पाठेघर खस्ने रोगको पहिचान भई शल्यक्रिया गर्न नपाएका रोल्पा, प्यूठान र रुकुमपूर्व लगायत जिल्लाका महिलाहरुको लागि रोल्पा अस्पतालमा नेपालगंज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालको सहकार्यमा रोल्पा अस्पतालमा शिविर ञ्चालन गरी १३७ जना महिलाहरुको पाठेघरको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको बताउनुभयो ।
प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि १०९ वटै स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग समन्वय एवम् सहकार्य अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

रुपन्देहीको सेमरिमाई र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खुसहाल परिवार कार्यक्रम अन्तरगत स्थानीय मुस्लिम अगुवा, मौलबी तथा जनप्रतिनिधिहरुसँग मातृमृत्यु तथा परिवार योजना सम्बन्धमा अन्तरक्रिया तथा छलफल सम्पन्न गरिएको पनि उपलब्धिमा समावेश गर्नुभएको छ।

२० जना प्रदेशबासीको निःशुल्क कर्निया ट्रान्सप्लाण्ट गरिएको, पृथ्वीचन्द्र अस्पताल, नवलपरासीमा आगलागीबाट नष्ट भएको प्रयोगशाला आवश्यक औजार उपकरण खरिद गरी तत्काल सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।
यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान, घोराहीलाई अत्याधुनिक थुलियम लेसर मेशिन र हाई ईन्ड युएसजि मेसिन हस्तान्तरण गरिएको बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट आमनागरिकलाई बजार भन्दा अति न्युन मुल्यमा प्रयोगशाला परिक्षण सेवा शुभारम्भ गरिएको, राप्ती गाउँपालिकाको भालुबाङमा भालुबाङ अस्पतालको ३६ जनाको अस्थायी दरबन्दी संरचना स्विकृत गरिएको उहाँले बताउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा १० बेड, बर्दिया अस्पताल, गुलरिया अस्पतालमा ६ बेड, कपिलवस्तु अस्पताल, तौलिहवा अस्पतालमा ५ बेड, गुल्मी अस्पताल, तम्घासमा ५ बेड, प्युठान अस्पताल, प्युठानमा ३ बेड र पृथ्वीचन्द्र अस्पताल, नवलपरासीमा ५ बेड हेमोडाइलाइसिस सेवा स्थापना तथा विस्तार गरिएको बताउनुभयो ।

Blog Post Ad

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा एनआईसियु र बर्दिया अस्पताल गुलरिया, कपिलवस्तु, अस्पताल तौलिहवा र भिम अस्पताल भैरहवामा एसएनसियु सेवा विस्तार तथा शुद्धिकरण गरिएको बताउनुभयो ।

बितेको एक वर्षमा पाल्पा, तानसेनमा आँखा उपचार सेवा विस्तार गरिएको, क्यान्सर रोग लागेका १ हजार २२४, मुटुको भल्भ फेर्ने १६ जना र मृगौला प्रत्यारोपण गरेका ३८ जनालाई उपचार अनुदान सहायता प्रदान गरिएको बताउनुभयो ।

प्रदेशका सरकारी अस्पतालहरुबाट प्रदेशबासी बिरामीहरुलाई निशुल्क रगत उपलब्ध गराइएको, स्थानीय स्वास्थ्य संस्थाहरुलाई १३ वटा ग्रामीण पोर्टेबल अल्ट्रासाउण्ड मेसिन वितरण गरी १८ जना नर्सिङ कर्मचारीहरुलाई ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी तालिम प्रदान गरि वितरण गरिएको उहाँले बताउनुभयो ।
यस्तै, प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको अस्पतालमा डेण्टल सेवा, फिजियोथेरापी सेवा र अस्पतालकोलआफ्नै फार्मेसी सेवा बिस्तार भएको स्वास्थ्य मन्त्री पुनले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवाको लागि आवश्यक मेसिन खरिद साथै ईण्डो युरोलोजीलसर्जरी सेट र इएनटि अडियोमिटर, ट्रेडमिल टेष्ट खरिद गरी सेवा बिस्तार गरिएको, ८० वर्ष पुगेका ४६ हजार ७४ जेष्ठ नागरिक र अति अशक्त क र ख वर्गहरुलाई घरमै सेवा प्रदान, ४० वर्ष माथिका १९ हजार ३३२ जनाको नसर्ने रोग सुगर, प्रेसर र मृगौला रोगको स्क्रिनिङ गरि रोग पहिचान साथै प्रदेशका २७२ वटा विद्यालयका ४२ हजार २७५ जना किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ गरी ११ हजार १९ जना अर्थात २६ प्रतिशत किशोरीहरुमा रक्त अल्पताको अवस्था पहिचान गरी आइरन चक्की वितरण गरिएको छ।
प्रदेशको १२ वटै जिल्लाको ५ वर्ष मुनिका १लाख ४ हजार ७२३ जना बालबालिकाहरुको उचाई, तौल र पाखुराको नापको आधारमा पोषण अवस्था यकिन गरी कुपोषित बच्चाहरुको खोजपडताल गरि ३ हजार ८४८ जना कुपोषित बच्चा पहिचान तथा व्यवस्थापन गरिएको छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालयबाट शल्य चिकित्सा बिस्तार तथा ९ वटा आयुर्वेद संस्थाहरुबाट पञ्चकर्म सेवा प्रदान गरिएको, २२१ जना ६० वर्ष उमेर पूरा गरेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स-सम्मान विदाई गरिएको पनि मन्त्री पुनले बताउनुभयो ।
सिकेलसेल, थालसेमिया तथा हेमोफिलियाका बिरामीहरुको ३७२ परिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको पनि उहाँले बताउनुभयो। पृथ्वीचन्द्र अस्पताल, नवलपरासी र भिम अस्पताल, भैरहवाको भवन निर्माण सम्पन्न भएको र केही स्थानमा अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मन्त्री पुनले स्वास्थ्य मन्त्रालयले आगामी वर्षहरुमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु पनि तय गर्नुभएको छ ।
उहाँले स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनको लागि एकीकृत सुचना प्रणालीको प्रयोग हुनुपर्ने, नवशिशु मृत्युदर, मातृ मृत्युदर तथा कुपोषण न्युनिकरण तथा पूर्ण खोप सुनिश्चितता हुनुपर्ने, सिकलसेल, थालसेमिया र हेमोफिलियाको लागि बृहत विशेष कार्यक्रम सञ्चालन हुनुपर्ने, जनसंख्याको आधारमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नती तथा जनशक्ति व्यवस्थापन र परिचालन गर्नुपर्ने, महिलाहरुको पाठेघर खस्ने आङ खस्ने समस्याको पहिचान, उपचार तथा पाठेघरको क्यान्सर न्युनिकरणमा ध्यान दिनुपर्ने तथा हिमाली तथा पहाडी जिल्लाहरुमा विशेषज्ञ चिकित्सक परिचालन तथा प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad