Ad Area

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित गर्ने तयारी


घोराही, ३१ असार । लुम्बिनी प्रदेशलाई अबको दुई सातामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी भएको छ ।
प्रदेश अन्तरगतका सबै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भईसकेको हुँदा अब चाँडै प्रदेशलाई पूर्ण खोप घोषणा गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले देउखुरीको सिसहनियाँमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले
गत वर्ष कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन नसके पनि यो पटक सबैले साथ सहयोग र सहकार्यमा प्रदेश पूर्ण खोप सुनिश्चित हुन लागेको बताउनुभयो ।
खोप अभियान सफल बनाउन निकै चुना‌ैतिपूर्ण रहेको हुँदा सचेतना अभियान अझ व्यापक बनाउनुपर्ने बताउनुभयो ।

‘निश्चित समुदायमा धार्मिक आस्था, घुमफिर गर्ने परिवार, सीमा क्षेत्रका नागरिक, कामदारका बालबालिकाहरु खोपको सहज पहुँचमा आउन अझै चुनौतिपूर्ण छ’, उहाँले भन्नुभयो ‘भ्याक्सिनको महत्त्व बुझ्न नसक्दा पनि समस्या छ । अर्कोतिर समाजको कारणले पनि चुना‌ैति छ ।’

यो वर्ष प्रदेश अन्तरगतका जिल्लामा असार ६ गते रोल्पामा, १३ गते प्युठानमा, असार २५ गते पाल्पा र नवलपरासी पश्चिमममा, असार २६ गते गुल्मीमा, असार २७ गते रुकुम पूर्वमा, असार २८ गते दाङमा, असार २९ गते बर्दिया, बाँके, अर्घाखाँचीमा, असार ३० गते रुपन्देही र कपिलवस्तुमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

अब प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रमाणीकरण गर्न राष्ट्रिय खोप समन्वय समितिमा सिफारिस भईसकेको मन्त्री पुनले बताउनुभयो । अब सो समितिबाट पूर्ण खोप सुनिश्चितताका लागि भेरिफिकेशन टिम परिचालन गरि अनुसुची ४,५,६,७,१० र १४ अनुसार सम्पूर्ण प्रकृया पूरा भएको पाईएमा पूर्णखोप प्रदेश घोषणाका लागि अनुमति पाउने छ । यो प्रकृया भए अबको दुई सातामा लुम्बिनी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत मानबहादुर वलीका अनुसार, प्रदेशका १२ जिल्लाका २९ सय ७५ खोप क्लिनिकबाट ३१ सय ५९ सेसनमा खोप अभियान संचालन भएको थियो ।

Blog Post Ad

१६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पूर्ण खोपको अवस्था हेर्दा प्रदेशभर अझै १३० जना शून्य डोज खोप देखिएको छ । ड्रपआउट २३ सय ४३ जना रहेका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा बाहेक सबै जिल्लामा शून्य डोज खोप लगाएका बालबालिका रहेका तथ्यांक अधिकृत वलीले जानकारी दिनुभयो ।

नेपालमा हाल १३ वटा रोग विरुद्धको खोपहरु प्रदान गरिदै आएको छ । पूर्ण खोप भन्नाले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार बिसिजी १ मात्रा, रोटा २ मात्रा, पोलियो ३ मात्रा, एफआईपीभी २ मात्रा, पिसिभि ३ मात्रा, डिपिटी ३ मात्रा, जेई १ मात्रा, दादुरा रुबेला २ मात्रा र टाईफाईडको १ मात्रा खोप लगाउनुपर्ने स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले बताउनुभयो ।

नेपालमा २०६९ सालबाट पूर्णखोप अभियान कार्यक्रमको शुरुवात गरिएको थियो। अछाम जिल्लाको तात्कालिन भागेश्वर गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरी सुरुवात भएको थियो । पूर्णखोप अभियानको शुरुवात लुम्बिनी प्रदेशमा पाल्पा र नवलपरासीबाट शुरु भएको थियो ।

लुम्बिनी प्रदेशले २०७० सालमा पाल्पा, नवलपरासी र क्रमशः अर्घाखाँची, गुल्मी, लगायतका सबै जिल्लाहरु घोषणा भई स्थानीयहरुले पूर्णखोप अभियानको अपनत्व लिई दिगोपना दिइरहेका लुम्बिनी प्रदेश मिति २०७९ भाद्र ३१ गते नेपालकै दोश्रो पूर्णखोप प्रदेश घोषणा भएको थियो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा. बासुदेव उपाध्याय, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले खोप अभियानको अवस्था र रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो ।

Blog Post Ad Blog Post Ad