Ad Area

ठेकेदारका कारण घोराहीको प्रशासनिक भवन अलपत्र


घोराही, १५ साउन । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए घोराही उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनबाट अहिले सेवा सञ्चालन भईरहेको हुन्थ्यो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम नगरेपछि अहिले प्रशासनिक भवनले आकार लिने त परैको कुरा भुइँमै बसेको छ ।

पटक पटकको ताकेतापछि जसोतसो डिपिसीको काम सकिएको भएपनि अरु केही काम भएको छैन । बर्खा लागेपछि निर्माणाधीन क्षेत्र पोखरी जस्तै बनेको छ । छडमा खिया लागेको छ । सटरीङका लागि बनाईएका केही भाग हावामा झुण्डिएको छ ।

नयाँ प्रशासनिक भवन घोराही उपमहानगरपालिकाको प्राङ्गणभित्रै बनाउन लागिएको हो । उपमहानगरले भूमिगत पार्किङ र लिफ्टसहित सुविधासम्पन्न नयाँ प्रशासनिक भवन बनाउन थाले पनि यो भवनको काम हुन नसक्दा पालिकालाई समेत समस्या भएको छ ।

२ वर्षभित्र काम सक्ने गरी श्री गौरी÷पार्वती÷भुसाल÷बस्नेत जेभीसँग २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । सम्झौताअनुसार काम अगाडि बढेको भए २०८० वैशाख ३१ भित्रै काम सकिएर अहिले नयाँ भवनबाट सेवा प्रवाह हुने थियो । तर, सम्झौता सकिएको एक १५ महिना बढी भइसक्दा पनि करिब २५ प्रतिशतमात्रै भौतिक प्रगति भएको उपमहानगरको पूर्वाधार महाशाखाले जनाएको छ ।

सम्झौताअनुसार काम नभएपछि गत वर्ष दोस्रोपटक चैत मसान्तसम्म म्याद थपिएको थियो । काम गर्छु भनेर दोस्रो पटक थपिएको म्याद पनि सकिएको पनि अहिले पाँच महिना भईसक्यो । ‘म्याद सकिएको लामो समय भईसकेको अवस्थामा असार १५ सम्म काम गरेर एक तला ढलान गर्छु भने पनि अहिले सबै काम अलपत्र अवस्थामा छाडेको छ’, उपमहानगरको पूर्वाधार महाशाखा प्रमुख ईन्जिनियर युवराज पौडेलले भन्नुभयो ‘तल्लो बेसमेन्टबाहेकको अरु काम भएको छैन ।’

ठेकेदार कम्पनीले सुरुआतमा सम्झौताअनुसार नियमित काम गरे पनि एक वर्षपछि सम्पर्कविहीन भएको थियो । यो बीचमा धेरै पटक पत्राचार गरेको उहाँले बताउनुभयो । ‘अब काम गर्ने कि नगर्ने, गर्ने भए कहिलेसम्म गर्ने भनेर सूचना निकालेका थियोँ । त्यसबाहेक बैंकबाट ग्यारेन्ट तान्न पनि प्रक्रिया अघि बढाएको हो । ठेकेदार कम्पनीले काम गरेर सक्छु भनेर अहिले फेरी ढाँट्ने काम गरेको छ’ पूर्वाधार महाशाखा प्रमुख पौडेलले भन्नुभयो ।

Blog Post Ad

२०८० वैशाख ३१ गते निर्माण सम्पन्न हुनुगर्ने गरी २०७८ वैशाख ६ गते ठेक्का सम्झौता भएको प्रशासनिक भवनको काम नहुँँदा घोराही उपमहानगरपालिका आफै आजित बनेको छ । उपमहानगरले अन्डरग्राउण्ड पार्किङबाहेक पाँच तलाको भवन बनाउने गरी सम्झौता गरेको छ । २० करोड ५ लाख ९२ हजार ८ सय ५२ रुपैयाँमा प्रशासनिक भवन बनाउने गरी गौरी–पार्वती÷भुसाल÷बस्नेत जेभीले घोराही उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरेको छ ।

बिल भुक्तानीवापत २०७८ जेठ १२ गते १ करोड १२ लाख रुपैयाँ लगिसकेको छ । आर्थिक वर्ष २०७९–०८० को अन्तिमतिर असारमा पुनः विल अनुसार भुक्तानी मागेको १ करोड २२ लाख रुपैयाँको भने भुक्तानी रोकिदिएको उपमहानगरपालिकाको पूर्वाधार महाशाखाले जनाएको छ । ‘पहिले काम गरेर देखाउनुस् अनि रकम भुक्तानी हुन्छ भनेको थिएँ, असार १५ सम्म पहिलो तलाको काम गर्छु भनेर वचन दिएको हो तर काम नै भएको छैन । म्याद थपेको समय पनि बैशाखमै सकिएको छ’ उहाँले भन्नुभयो ।

पूर्वाधार महाशाखाका इन्जिनियर सन्दीप घिमिरेले हुनुपर्ने जति र सन्तोषजनक काम नभएकोले बिल भुक्तानी रोकिएको बताउनुभयो ।

निर्माण कम्पनीको तर्फबाट प्रोप्राइटरलाई बोलाएर नगरप्रमुख नरुलाल चौधरीले पनि निर्माण व्यवसायीलाई काम गर्ने अन्तिम मौका दिए पनि काम गर्ने वचन दिएर नगरेको बताउनुभयो । २०८० फागुन ३ गते सहमति भएपछि साइटमा केही कामदारले काम गर्दै आएका थिए ।

उसो त, २०७८ को दशैंपछि निर्माण कार्यत्र क्षेत्र नै अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्क विहीन भएपछि घोराही उपमहानगरपालिकाले पत्र काटेर काममा फर्कन भनेको थियो । २०७८ पुस २ गतेको चलानी नम्बर २९४५ पत्र काटेर कार्यप्रगति सन्तोषजनक नदेखिएको र यस्तै गतिले तोकिएको समयमा योजना सम्पन्न हुन नसक्ने भएकोले जनशक्ति पर्याप्त गराई निर्माण अगाडि बढाउन कार्य तालिका प्रस्तुत गरी अविलम्ब काम गर्न प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले पत्र पठाउनु भएको थियो ।

तर, पत्रको कुनै प्रतिक्रिया र साइटमा काम गर्ने व्यक्ति नआए पछि फेरि गौरीका आकाश भुसाल, पार्वतीका विशाल थापा र बस्नेत जेभीका प्रोप्राइटर ऋतु बस्नेतका नाममा पत्र काटिएको थियो । २०७८ माघ ६ गते गौरी पार्वती निर्माण सेवाको नाममा पत्र काटेर मुख्य साझेदारका रुपमा कार्गप्रगतिबारे जानकारी गराई बोधार्थ भूसाल र बस्नेत जेभीलाई पनि दिइएको देखिन्छ ।

सो पत्रको पनि प्रतिक्रिया नआएपछि २०७८ माघ १८ गते पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी पेश्कीको खर्च विवरण र संशोधित कार्ययोजना माग गरेपछि साइटमा काम शुरु भएको थियो ।

भौतिक प्रगति १६ प्रतिशत पुग्ने गरी उक्त समयमा काम भएको थियो तर काम गर्दागर्दै ठेकेदारले फेरि काम अलपत्र पारेर सम्पर्क विहिन भएका थिए । २०७९ भदौ ५ गते पत्र पठाएर काममा आउन भनियो । असोज ११ गतेको पत्रमा ¥याफ्ट फाउण्डेशनको काम तीन भागमध्ये एक भागको काम अधुरो भएको जनाउँदै धेरै दिनपछि काम शुरु गर्दा ¥याफ्ट फाउण्डेशन कमजोर हुने आशयको पत्र पठाइएको थियो ।

त्यसपछि पनि सम्पर्कमा नआएको निर्माण कम्पनी र ती कम्पनीका प्रोप्राइटरलाई असोज २३ मा पत्र काटेर तीन दिन भित्र काममा आउन भनिए पनि नआएपछि असोज २६, फागुन २२ मा पनि पत्र पठाइएको थियो ।
थपेको म्याद सकिएको पाँच महिनापछि २०८० मंसिर ८ गते सार्वजनिक सूचना निकालेर सात दिनभित्र स्वयम् साइटमा उपस्थित नभए कानुन अनुसार गर्ने भनेपछि अहिले केही कामदार साइटमा लगाएको थियो ।

यसअघि निर्माण व्यवसायीले समयमै काम नगर्दा छडमा खिया लागेपछि ढलान गरिएको जगसमेत जेसीबी लगाएर फोडेर पुनः बनाउन लगाईएको थियो । डिजाइन परिवर्तनपश्चात लाग्ने खर्च करिब २० लाख निर्माण व्यवसायीले नै ब्यहोर्ने सहमति समेत भएको थियो ।

अहिले निर्माण स्थलमा कोही देखिदैनन् । खाल्डोमा पानी जमेर पोखरी बनेको छ । केही सल्लाका काठ थुपारिएको छ । काम अलपत्रको अवस्थामा छाडेर निर्माण कम्पनी सम्पर्क विहिन भएपछि बैशाखयता सकिएको म्याद अनुसार आवश्यक कारवाही गर्ने तयारी पालिकाले गरेको छ ।

Blog Post Ad Blog Post Ad