Ad Area

लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसको सहकार्य : महासचिव पोखरेल


 

घोराही, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसकाबीच सहकार्य भएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रको स्थायित्व, विकास र समृद्धिका लागि एमाले र कांग्रेस मिल्नुपरेको बताउनुभएको हो । राजनीतिक अस्थीरताका कारण लोकतन्त्र खतरामा, जनतामा चरम निराशासँगै आर्थिक मन्दी बढेकाले त्यसलाई हटाउनका लागि देशका प्रमुख दलहरु मिल्नु परेको भन्दै महासचिव पोखरेलले भन्नुभयो,‘राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो, जनतामा चरम निराशा पैदा गर्ने काम गरेपछि त्यसको अन्त्यका लागि एमाले–कांग्रेस जुट्नु परेको हो ।’

त्यससँगै कांग्रेस र एमालले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न आवश्यक गर्न महसुस गरेको र त्यसका लागि एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको महासचिव पोखरेलले बताउनुभएको थियो । महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभएको हो ।

साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीति दल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलले बताउनुभएको थियो ।
उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बीचमा सहकार्य भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो, ‘संवैधानिक संरचनालाई बलियो बनाउनेगरी दलहरूको बीचमा सहकार्य भएको हो। पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौं ।’

त्यसैगरी महासचिव शंकर पोखरेलले वामपन्थीहरूका बीचमा एकताको कथा असफल भइसकेको भन्दै अव फेरी पुरानै बाटोबाट अघि बढ्न नसकिने बताउनुभएको छ । कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने भन्दै महासचिव पोखरेलले बरु कम्युनिस्ट बिचारको एकता आवश्यक रहेको बताउनुभयो ।

Blog Post Ad

ममहासचिव पोखरेलले भन्नुभयो,‘नेताको टाउको जोडेर गरिने एकता दीगो हुँदैन,त्यो हामीले व्यहोरिसक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरुरी छ ।’ उहाँले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक रहेको भन्दै नेपालमा धेरै पार्टीको आवश्यकता नरहेको बताउनुभएको हो ।

Blog Post Ad Blog Post Ad