Ad Area

दाङमा कडा कुपोषण बढ्दो, स्तनपान सुधारोन्मुख


घोराही, १८ साउन । दाङमा बालबालिकामा कडा खालको कुपोषणको दर बर्षेनी बढ्दै गएको पाईएको छ । आर्थिक वर्ष २०७९–०८० मा ६ सय ० बालबालिकामा कुपोषण देखिएकोमा २ सय ६५ जनामा मध्यम र ४ सय १५ जनामा कडा कुपोषण भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २००–०८१ मा ६ सय ८ बालबालिकामा कुपोषण देखा पर्दा १ सय ३८ जनामा मध्यम र ४ सय ७० बालबालिकामा कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङका दश स्थानीय तहमा रहेका कुपोषण बहिरंग उपचार केन्द्रबाट संकलन गरिएको स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार वर्षेनी कडा खालको कुपोषण बद्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनचेतनाका कार्यक्रम भएपनि शिशुहरुको पोषणमा अहिले पनि चुनौति रहेको देखिएको तथ्यांकले देखाएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७६–०७७ मा कुपोषणको दर ४ दशमलव ३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–०७८ मा ४ दशमलव ९ मा पुगेको थियो । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा बढेर ५ दशमलव ६ प्रतिशतमा पुगेको तथ्यांकले देखाएको छ । यो अवस्था कम हुँदै कम्तीमा १ प्रतिशतमुनि हुनुपर्नेमा बढेर ५ दशमलव ९ प्रतिशतमा पुगेको तथ्याकंले देखाएको हो ।

आर्थिक वर्ष २०७६–०७७ मा ३ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–०७८ मा केही सुधार हुँदै २ दशमलव ४ मा झरे पनि आर्थिक वर्ष २०७८–०७९ मा बढेर ५ दशमलव ६ प्रतिशत माथिको अवस्था पुग्दा चुनौती थपिएको हो ।

यसैगरी, आर्थिक वर्ष २०७९–०८० मा अझ बढेर ६ दशमलव ९७ प्रतिशत कडा कुपोषण दर भएको छ । यो अझै चुनौति पूर्ण रहेको देखिन्छ । गत आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा बढेर ७ दशमलव १६ प्रतिशतमा पुगेको छ ।

Blog Post Ad

हरेक वर्ष कुपोषणको दर बढ्दै जाँदा बालबालिकाको पोषण अवस्थामा ब्यापक सुधार गर्नुपर्ने अवस्था देखिएको छ । स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरिक्षक रिता न्यौपानेले अति जोखिम अवस्थाका बालबालिकाको कुपोषण प्रतिशत बढेर जानु जनस्वास्थ्यका दृष्टिकोणले चुनौतिपूर्ण रहेको बताउनुभयो ।

नयाँ तौल लिएका दुई वर्षमुनिका शिशुहरूमध्ये अति जोखिम अवस्थाका बालबालिकाको प्रतिशत पनि खस्किँदै गएको देखिएको छ ।

पहिलो पटक वृद्धि अनुगमनमा आएका मध्ये कुपोषित अर्थात जोखिम र अति जोखिम बालबालिकाको संख्या अनुसार जिल्लाका सबै पालिकासहित छिमेकी जिल्ला सल्यान, रोल्पा, प्यूठानलगायतका बालबालिकाहरु पनि उपचारका लागि दाङ आउने हुँदा उनीहरुको अवस्था पनि उस्तै देखा पर्ने गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पोषणविद रोशनी बन्जाडेले जानकारी दिनुभयो । बालबालिकाको पोषण सुरक्षाका बारेमा अभिभावक सचेत नबन्दा समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

यस्तै, जिल्लामा कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत पनि निराशाजनक देखिएको छ । जस अनुसार, जिल्लामा आर्थिक वर्ष २०७६–०७७ मा ४ दशमलव ३ प्रतिशत रहेकोमा यो बढेर आर्थिक वर्ष २०७७–०७८ मा ४ दशमलव ९ मा पुगेको थियो । आर्थिक वर्ष २०७८–०७९ मा अझ बढेर ५ दशमलव ६ प्रतिशतमा पुगेको तथ्यांकले देखाएको छ । जबकी यो अवस्था कम हुँदै कम्तिमा १ प्रतिशत मुनि हुनुपर्ने वर्षेनी बढेर गएको छ । आर्थिक वर्ष २०७९–०८० मा ६ दशमलव ३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०–०८१ मा बढेर ७ दशमलव १ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय दाङका सूचना अधिकारी गजेन्द्र यादवले बताउनुभयो ।

यसैगरी, नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत पनि खस्किँदो अवस्थामा रहेको छ ।
आर्थिक वर्ष २०७६–०७७ मा ३ दशमलव २ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–०७८ मा केही सुधार हुँदै २ दशमलव ४ मा झरे पनि फेरी आर्थिक वर्ष २०७८–०७९ मा यो अवस्था चुनौतिपूर्ण बनेको थियो । यस आर्थिक वर्षमा अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत बढेर ४ प्रतिशत पुगेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७९–०८० मा ५ दशमलव ३ प्रतिशत पुगेकोमा बढेर ६ दशमलव ७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

स्तनपानको अवस्था सुधारोन्मुख

नयाँ तौल लिएका स्तनपान गर्ने २३ महिनाका शिशुहरुको प्रतिशतमा भने दाङमा सुधार हुँदै गएको पाईएको छ । आर्थिक वर्ष २०७६–०७७ मा ५१ दशमलव ५ प्रतिशत, २०७७–०७८ मा ६३ प्रतिशत, २०७८–०७९ मा ९९ प्रतिशत रहेको पुगेको थियो ।

आर्थिक वर्ष २०७९–०८० मा ९९ दशमलव २ प्रतिशत पुग्दा आर्थिक वर्ष २०८०–०८१ मा अझ सुधार हुँदै ९९ दशमलव ६ प्रतिशत पुगेको छ । यो अवस्थामा सुधार हुनु सकारात्मक पक्ष रहेको वास्थ्य कार्यालय दाङका सूचना अधिकारी यादवले बताउनुभयो ।

जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गराएको बच्चाहरुको प्रतिशतमा पनि क्रमिक सुधार हुँदै गएको पाईएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि २०८०–०८१ सम्ममा क्रमशः २६ दशमलव ४ प्रतिशत, २५ दशमलव २ प्रतिशत, ६५ दशमलव ३ प्रतिशत, ६१ दशमलव ८ प्रतिशत र ७९ दशमलव ९ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

यद्यपि, यसमा अझै धेरै सुधार ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । सुत्केरी अवस्थामा भिटामिन ‘ए’ प्राप्त गरेका महिलाहरुको प्रतिशतमा पनि क्रमिक सुधार हुँदै गएको तथ्यांकले देखाएको छ ।

यसैगरी, जिल्लामा ३ साईकल अर्थात १ सय ८० थान बालभिटा पाउने ६ देखि २३ महिनाको बालबालिकाको प्रतिशत पनि अस्वाभाविक रुपमा घटेको तथ्यांकले देखाएको छ ।

भिटामिन ए, जुकाको औषधीको आम वितरणको कभरेज भने सुधारउन्मुख रहेको पाइएको छ । यसैगरी, वृद्धि अनुगमनको प्रतिशत अनुसार कम तौल पत्ता लागेका बच्चाको कम रहेको, विद्यालय पोषण कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन तथा अभिलेख र जानकारी न्युन रहेको, सूचकहरुको बीचमा तालमेल नमिलेको पाईएको छ ।

देखिएको समस्या निवारणका लागि निर्देशिका अनुसार तथ्यांक र जानकारीका लागि सेवा प्रदायकहरुलाई अभिमुखीकरण गर्ने र उत्साह जगाउने काम काम नियमित रुपमा भईरहेको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख किशोर आचार्य बताउनुहुन्छ ।

उहाँले वृद्धि अनुगमनको अनुगमन तथा सहयोगात्मक सुपरीवेक्षण गरी गुणस्तर सुनिश्चित गर्नुपर्ने अवस्था रहेकोमा यस विषयमा सरोकार निकायसँग समन्वयको काम भईरहेको बताउनुभयो ।

खासगरी, विद्यालय पोषण कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गर्ने, कार्यक्रम कार्यान्वयन, रेकर्डिङ, रिपोर्टिङ गर्न स्वास्थ्यकर्मी, शिक्षकहरुलाई उत्साहित गर्नेलगायत सचेतनाका कार्यक्रम प्राथमिकताका साथ हुने उहाँको भनाई छ । यसका लागि स्थानीय तह, स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, पोषण फोकल पर्सन, स्वास्थ्य कार्यालय, सरोकार संघसंस्था, जिम्मेवार व्यक्ति सबैलाई जागरुक बनाईने उहाँले बताउनुभयो ।

जिल्लामा रहेका करिव ९ सय ३० जना महिला स्वास्थ्य स्वयम्सेविका र सामुदायिक स्वास्थ्य कार्यक्रमबाट संकलन हुने तथ्यांक अनुसार दाङमा जन्मेको १ घण्टाभित्र आमाको दूध खुवाउनेको संख्या विगतको तुलनामा धेरै सुधार भएको देखिएको छ ।

यसैबीच, आजबाट स्तनपान सप्ताह पनि शुरु भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म यो सप्ताह चल्ने गर्छ । यो वर्ष स्तनपानमा समानता, सबैको सहयोग र सहभागीता भन्ने नारासहित स्तनपान सप्ताह मनाइँदैछ ।

Blog Post Ad Blog Post Ad