Ad Area

एक वर्षमा विपदमा परेर ५२ जनाको मृत्यु, जोखिम कायमै


घोराही, १८ साउन । गत चैत्र ३० गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ की ८ वर्षीया सन्ध्या बिक आगलागीमा परेर घाईते हुनुभयो । गत बैशाख ६ गते लमही नगरपालिका वडा नम्बर ९ तरुलियाका ७० वर्षीय वीरबहादुर बोटेको आफ्नै घरको गोठमा आगलागी हुन जाँदा सोही आगलागीमा परेर मृत्यु भयो ।

गत असार १० गते तुलसीपुर उपमहानगरपालिका ४ का १० वर्षका सुवास विकको घरको आँगनमा बसेर मोबाइल चलाई रहेका बेला चट्याङ लागेर मृत्यु भयो । त्यसको ४ दिनपछि राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियाकी ४० वर्षीया भूमिसरा बुढामगरको पनि आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भयो ।

दाङमा आर्थिक वर्ष २०८०–०८१ मा विपदमा परेर ५२ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङको तथ्यांक अनुसार एक वर्षको अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार, आर्थिक वर्ष २०८०–०८१ मा पानीमा डुबेर २५ जना, बाढीका कारण १६ जना, सर्पदशंका ८ जना, करेन्ट लागेर ६ जना , आगलागीमा परेर ५ जना, चट्याङ लागेर ३ जना, हावाहुरीका कारण १ जनाको ज्यान गएको छ ।

यसैगरी, दाङमा बितेको ३ आर्थिक वर्षमा मनसुनजन्य विपदबाट १ हजार ४ सय ३४ घर प्रभावित भएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा २ सय ८८ घर धुरी प्रभावित भएका जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङका शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।

जसमा हावाहुरी, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश जस्ता विपतबाट २ सय ८८ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

पालिकागत रुपमा हेर्दा घोराहीमा ८०, तुलसीपुरमा ६३, लमहीमा १२, राजपुरमा ४८, गढवामा ९, राप्तीमा ३०, बंगलाचुलीमा ११, बबईमा १५, शान्तिनगरमा १० र दंगीशरणमा १० वटा गरी २ सय ८८ वटा विपदका घटना भएका छन् ।

Blog Post Ad

आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा २ हजार ९ सय ५७ घर मनसुनजन्य विपतबाट प्रभावित भए । यसैगरी, बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंशलगायत बहुविपदका ९ सय २१ घटना भएका केन्द्रले जनाएको छ । यो वर्ष बाढीले मात्रै २ हजार ५ सय ७ घर परिवार प्रभावित भएका थिए ।

यसैगरी, आर्थिक वर्ष २०७८–०७९ मा हावाहुरी, भारी वर्षा, चट्याङ, करेन्ट जस्ता विपदबाट १ सय ८९ घरपरिवार प्रभावित भए भने बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंशलगायत बहुविपदका २ सय २८ वटा घटना भएका तथ्यांकमा उल्लेख छ ।

उसो त, यो वर्षको मनसुन यता मात्रै दाङमा पाँच जनालाई बाढीले बगाएको छ । बाढीकै कारण तुलसीपुर उपमहानगरपालिकाको गोठीखोलाका तारा गुरुङ, सोही पालिकाको मटेराकी सम्झना चौधरीको बबई नदीमा डुबेर मृत्यु भयो ।

उता, राजपुर गाउँपालिकाको खरदरियाका राजकुमार यादव, लमही नगरपालिका ८ नयाँबस्तीका मनिराम चौधरी तथा राजपुर गाउँपालिकाको सालभौडीका छेदुराम चौधरीको नदीमा डुबेर मृत्यु भयो ।

दुई जना घाइते हुनुभयो । यो अवधिमा १ सय ७४ वटा घर, ४ गोठ, ६ वटा उद्योग तथा पसलमा क्षति भयो । यो वर्ष बाढीले १ सय ६० वटा मौरीका घार पनि बगाएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।

बाढीमा डुबेर यो अवधिमा ३६ चौपाया र ४ सय ५ कुखुरा मरेको र बाढीले एउटा सवारी साधन पनि बगाएको केन्द्रले जनाएको छ ।

मनसुनजन्य विपदका कारण असार तेश्रो साता घोराही–तुलसीपुर सडक, तुलसीपुर–अमिलिया सडक तथा देउखुरीको रिहार क्षेत्रका भित्री सडक अवरुद्ध बने ।

मनसुन शुरू भएसँगै जिल्लामा मनसुनजन्य विपदका घटनाबाट ११ करोड ४३ लाख ९३ हजार रूपैयाँ बराबरको क्षति भएको अनुमान छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जिल्लामा बाढीबाट मात्रै औसत रुपमा प्रतिवर्ष तीन सय ८६ घर परिवार प्रभावित हुने गरेको जनाएको छ । हावाहुरी, भारी वर्षा, चट्याङ जस्ता विपदबाट पनि वर्षेनी औसत ९७ घर परिवार प्रभावित हुने गरेको जनाएको छ ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार, मनसुनको समय अझै बाँकी रहेकाले पानीजन्य विपदका घटना हुन सक्ने तथा अरु समयमा पनि जोखिम रहेकाले सावधानी अपनाउनु पर्ने हुन्छ ।

Blog Post Ad Blog Post Ad