Ad Area

नव निर्वाचित दाङ कांग्रेस जिल्ला कार्यसमितिलाई सपथ ग्रहण


घोराही १३, मंसीर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति दाङलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

महाधिवेशन अन्तर्गत जिल्ला नेतृत्वका लागि भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सोमबार सपथ ग्रहण गराईएको हो । जिल्ला निर्वाचन समितिका संयोजक प्रल्हाद कार्कीको अध्यक्षता तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । निर्वाचित पदाधिकारीहरुलाई जिल्ला निर्वाचन समितिका संयोजक कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

कार्यक्रममा कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले सबैको सकारात्मक सुझावलाई दाङ कांग्रेसको सम्पतिका रुपमा लिएर पार्टी निर्माणमा लाग्ने प्रतिवद्धता जनाए । महत्वपूर्ण जिम्मेवारी आफू सामु आएको भन्दै जिल्लामा बलियो कांग्रेस निर्माणमा समय दिने बताए । दाङ कांग्रेसलाई नवीन कांग्रेसका रुपमा लिएर अघि बढने उनको धारणा थियो ।

संगठनको आधार वडादेखि जिल्ला कार्यसमिति भएको बताउँदै उनले यसमा ६ हजार सक्रिय नेता कार्यकर्ता आवद्ध भएको हुँदा सबै मिलेर वडा तहबाटै कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए । कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्काले नयाँ कार्यसमितिले नयाँ उर्जा र जोशका साथ काम गर्नुपर्ने बताए । अहिले निर्वाचित सभापति कांग्रेस दाङमा दुई कार्यकालको अनुभव लिएको र युवा नेतृत्व भएकाले पार्टीले जिल्लामा नयाँ गति लिने बताए । उनले बिपिको नितिलाई आत्मसात गरेर अघि बढनुपर्नेमा जोड दिए । अबको मिसन कांग्रेसको सरकार बनाउनका लागि जनताप्रति सहनशील, चरित्रवान, नैतिकवान र इमानदार बनेर लाग्नुपर्ने बताए ।

कांग्रेस नेतृ तथा राष्टिय सभा सदस्य अनिता देवकोटाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले अब त्यसबाट आएको परिणामलाई सबैले सहज रुपमा स्वीकार गर्दै एक कांग्रेस बनाउने गरी अघि बढ्न अपिल गरिन् । निर्वाचनबाट जित्नेहरु अघि बढने र अरुले उनीहरुलाई सहयोग गर्नुपर्ने बताईन् । पूर्व जिल्ला सभापति बिरकेशरी गौतमले नीति, नारा र नेतृत्वका आधार अघि बढ्न नयाँ नेतृत्वलाई अपिल गरे । पार्टीको नीतिभन्दा बहिर कोहि जान नहुने बताउँदै उनले निष्ठाको राजनीतिलाई प्राथमिकता दिन सुझाव दिए ।

लुम्बिनी प्रदेशका उर्जा, सिंचाई तथ जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले निर्वाचनका क्रममा भएका तितामिठा कुरालाई भुलेर अब कांग्रेसलाई बलियो र संगठित बनाउन लाग्नुपर्ने बताए । सभापति पदका प्रत्यासी भुपबहादुर डाँगी स्वार्थरहित कांग्रेस निर्माण गर्नेगरी अघि बढनुपर्ने बताउँदै यसमा सबैको साथमा साथ हातमा हात हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र न २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अमरबहादुर खड्का, नेपाल ट्रेड युनियन कांग्रेस उपमहासचिव गणेश केसी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । जिल्ला निर्वाचन समितिका सहसंयोजक कुमारराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रकाश डाँगीले गरेका थिए ।