घोराही १४ मा पूर्वाधार विकास र सचेतनामा ध्यान दिन वडाबासीको सुझाव

घोराही १३, मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्ष २०७८–०७९ को पहिलो चौमासिक सार्वजनिक सुुनुवाई गरेको छ । वडा कार्यालयले सोमबार वडा कार्यालयमा पहिलो चौमासिकमा गरेका कामको प्रगति र चालु आर्थिक वर्षका योजना नीति कार्यक्रम र वडाबासीको सुझाव लिनका लागि सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सेवाग्राही र सेवा प्रदायक संस्थाबीचको सम्बन्ध बलियो बनाउन र भएका कामका बारेमा वडाबासीहरुलाई समयमै सुसूचित गराउने उद्देश्यले आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षका लागि ७१ वटा वडा स्तरीय कार्यक्रम मध्ये २४ वटा स्वीकृत भईसकेको, ३ वटा कार्य सम्पन्न भएको तथा २१ वटा प्रकृया वा अधुरो रहेको वडा सचिव तुलसीराम डिसीले जानकारी दिए । उनका अनुसार, नगरी स्तरीय १४ वटा योजना परेकोमा केही प्रकृयामा गईसकेको छ ।
यसैगरी, वडा कार्यालयले ६४ जन्मदर्ता, २८ विवाह दर्ता, २३ मृत्यु दर्ता, ५७ वटा बसाईसराई गरेका, सम्बन्ध विच्छेदका ४, बसाईसराई गरी आउने ४३ का घटनाहरु दर्ता भएको जनाएको छ । यस आर्थिक वर्षका लागि तय भएका कार्यक्रम तथा बजेटको प्रगति र वडाबासीहरुको गुनासा एवं सुझावका बिषयमा नगरपालिकाका विभिन्न शाखा तथा महाशाखाका प्रमुखहरुले तत्कालै समाधानसहितको जवाफ दिएका थिए ।
सो अवसरमा वडाका विभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुले सडक कालोपत्रे दिगो बन्नुपर्ने, नालामा ढक्कन हुनुपर्ने, पार्कीङसहित ट्राफिक व्यवस्थापन उचित हुनुपर्ने, सार्वजनिक जग्गाको उचित संरक्षण हुनुपर्ने, केवुल र विद्युतीय तारहरुलाई व्यवस्थित बनाउनु पर्ने, चोरीका घटना बढेकाले प्रविधिमा आधारित सिसि क्यामेरा जडान गर्न, लागु औषध नियन्त्रणमा प्रहरी र वडा कार्यालयको विशेष पहल हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले वडाबासीले छनोट गरेका योजना पुरा गर्न वडा कार्यालय, सिंगो नगरपालिका तथा शाखा महाशाखा गम्भीर रहेको बताए । स्थानीय तहलाई सुशासनयुक्त बनाउन नगरबासी, टोलबासीहरुको उत्साहपूर्ण सल्लाह सुझावले ठूलो भूमिका खेल्ने हुँदा निरन्तर खबरदारी गर्न अपिल गरे । सिंगो नगरको विकासको आधार नै टोल विकास संस्थाहरु भएको भन्दै गाउँबस्तीका नागरिकहरुको चाहना अनुसार काम भईरहेको र हुने प्रतिवद्धता जनाए ।
कार्यक्रममा उपमहानगरका पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी, वडा प्रहरी कार्यालयका प्रमुख हृदयेश सापकोटा, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीलगायतले सार्वजनिक सुनुवाईका क्रममा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । उनीहरुले सबैको सहकार्यबाट वडा तथा सिंगो नगरलाई सम्वृद्ध बनाउन सकिनेमा जोड दिए ।
कार्यक्रममा वडा अध्यक्ष शक्तिराम डाँगीले वडाबासी स्थानीय सरकारको साझा नागरिक भएकाले कोही कसैलाई काखा र पाखा नगरिएको बताए । वडाबासीको सर्वोपरी हीत हुने काममा दिनरात खट्दा कहिले काँही अपेक्षित नतिजा नागरिकले पाउन बिलम्ब हुने भएपनि आफुहरु वडाबासी हरेक दृष्टिकोणले सेवा सुविधा र पहुँचयुक्त बनून् भन्ने नै वडा कार्यालयको चाहना रहेको बताए । उनले वडाबासी, टोलबासी र शुभेच्छुकहरुबाट प्राप्त सकारात्मक सल्लाह र सुझावलाई आत्मसात गर्दै आगामी दिनमा समृद्ध वडा बनाउने गरी अघि बढ्ने वचन दिए । वडा कार्यालयले यसअघि पनि नियमित रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको छ ।