Ad Area

वार्षिकोत्सवका अवसरमा सुनिता ट्रष्टद्वारा विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री


घोराही १३, मंसीर । घोराहीस्थित सुनिता ट्रष्ट फाउन्डेसनले आफ्नो दोश्रो वार्षिक स्थापना दिवसका अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार तथा सहयोगापेक्षी विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । ग्रामीण महिला उत्थान केन्द्रकी संस्थापक सदस्यसमेत रहेकी सुनिता चौधरीको विसं. २०७० मंसिर १९ गते असामयिक निधन भएपछि उहाँकै नाममा २०७६ मंसिर १३ गते स्थापित संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

सोमबार वार्षिक उत्सव मनाउने क्रममा सुनिताले देखेको सपना र उनको कर्मको अभिलाषा अनुसार दूरदराजका विपन्न, जेहेन्दार तथा सहयोग आवश्यक परेका बालबालिकाहरुलाई लक्षित गरी शिक्षा क्षेत्रमा केही भएपनि योगदान दिने उद्देश्यले वार्षिकोत्सवको अवसरमा पारेर ४२ जना बालबालिकाहरुलाई सो शैक्षिक सहयोग गरिएको संस्थाकी अध्यक्ष आशमानी चौधरीले जानकारी दिईन् ।

श्री मावि डाँडागाउँ गोग्लीमा अध्ययनरत १९ जना, आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत ९ जना र सरस्वती मावि काठेकोलमा अध्ययनरत १४ जना गरी ४२ जनालाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति स्वरुप शैक्षिक सामग्री बालबालिका र उनीहरुका अभिभावकहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । उनीहरुले कापीकलम, स्टेशनरी, झोलासहित तल्लो कक्षामा अध्ययन गर्नेले २ हजार र माथिल्लो कक्षामा अध्ययन गर्नेले २ हजार ५ सय बराबरको सहयोग पाएका सो संस्थाकी पार्वती बस्नेतले जानकारी दिईन् ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षाप्रेमी तथा समाजसेवी गोविन्दप्रसाद न्यौपानेले बालबालिकाहरुको पठनपाठनमा सहयोग पु¥याउन गरिएको प्रयासले उनीहरुको भोलिको भविष्य सुन्दर बन्न टेवा पुग्ने बताए । बालक अवस्थामा असल शिक्षा दिन सकेको अवस्थामा उनीहरु भोलिको असल नागरिक बन्न मद्दत पुग्ने हुँदा सामाजिक रुपमा सबैको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सिक्ने उमेरका हरेक बालबालिकाहरुलाई हामीले असल शिक्षा र बानी सिकाउनुपर्छ, ५ वर्षभित्र व्यवहारिक कुरा सिक्ने समय हो, साना बालबालिकालाई असल शिक्षा, नैतिक ज्ञान दिनुपर्छ, उनीहरु भनेको काँचो माटो हो, जस्तो आकार दियो त्यस्तै बन्छन् । हामीले राम्रो आकार दिने काममा योगदान दिनुपर्छ ।’

Blog Post Ad

उनले कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरुलाई लक्षित गर्र्दै सबै शिक्षालय विद्या दिने ठाउँ भएकाले त्यहाँको शिक्षा आर्जनमा बालबालिका र अभिभावक पनि चनाखो बन्नुपर्ने बताए । ‘शिक्षा दिने ठाउँ र काम लगभग सबै ठाउँ उहीँ हो। स्थान फरक भएपनि शिक्षा आर्जनको अवस्था उस्तै हुन्छ,’ उनले थपे, ‘विद्यालय सागर हो, विद्या आर्जन गर्न आउनेले लोटा लिएर आए भने एक लोटा जान्छ, गाग्री लिएर आए एक गाग्री जाने हो। विद्यार्थीको मेहनत, अनुशासनले उसको जीवन बदल्ने कुरामा निर्भर गर्छ। मेहनत गर्नेले जीवनका उपलब्धी पाउँछ ।’

यस्तै, ग्रामीण महिला तथा उत्थान केन्द्रका संस्थापक सल्लाहकार एवं फाउन्डेसनका सल्लाहकार सौगतबिर चौधरीले आत्म निर्भर र सशक्त समाज निर्माणको कल्पनाका साथ स्थापित संस्थाले अहिले धेरैको जीवन बदल्न भूमिका खेल्दै आएको बताए । ट्रष्टमार्फत शिक्षामा गरिएको सानो लगानी र हौसलाले भोलिको सुन्दर भविष्य बन्ने विश्वास उनको थियो । पढ्ने, शिक्षामा चासो भएका, गरिव जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्ने काममा ट्रष्ट लागेको बताउँदै आगामी दिनमा पनि यस प्रकारको सहयोग निरन्तर रहने बताए ।

आजीवन सदस्य त्रिभुवननगर जेसीज अध्यक्ष मुकेश शर्मा, रजनी श्रेष्ठ, कुल्पु चौधरी, पत्रकार बसुन्धरा गौतमलगायतले संस्थाको काम र योजनालाई साकार पार्न सबैको भूमिका हुनुपर्ने बताए । सरकारले निशुल्क शिक्षा नीति बनाए पनि सबैको पहुँच नपुगेको हुँदा सामाजिक संस्थाहरुको योगदान निकै महत्वपूर्ण बन्ने बताए । शिक्षाका सहज पहुँच नपुगेका, विपन्न, असहाय, गरिव बालबालिकालाई फाउन्डेसनले ठूलो गुन लगाउने काम गरेको भन्दै उनीहरुले धन्यवाद दिए ।

सो अवसरमा अध्यक्ष आशमानी चौधरीले संस्थाले प्रवाह गर्ने गरेका सेवा र योजनाका बारेमा पनि सहभागीहरुलाई अवगत गराएका थिए । संचालक समिति सदस्य मिरा चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य बसन्ती पुनले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad