Ad Area

विश्वविद्यालयका उपकुलपतिको राजिनामा स्वीकृत


घोराही, ३ भदौ । नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले दिएको राजीनामा स्वीकृत भएको छ । विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७ गते विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका थिए । उपकुलपति लामिछानेले दिएको राजीनामा भदौ १ गते प्रधानमन्त्री ओलीले स्वीकृत गरेका हुन् ।

यसअघि नेपाल संस्कृत विश्वविद्यालयमा देखिएका विविध समस्याका सम्बन्धमा कुलपति एवम् प्रधानमन्त्री ओली र उपकुलपति लामिछानेबिच संवाद समेत भएको थियो । २६ साउनमा भएको संवादको भोलिपल्ट उपकुलपति लामिछानेले राजीनमा बुझाएका थिए । साउन २६ गतेको भेटमा विश्वविद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएपछि व्यक्तिगत स्वार्थलाई ध्यानमा राख्दै राजीनामा दिएको उपकुलपति लामिछानेले जानकारी दिए ।

भर्खरै अप्रेसन गरेकाले काठमाडौंमा नियमित डाक्टरसँग स्वास्थ्य जाँच गर्नु पर्ने र उपकुलपतिको जिम्मेवारी सम्हालिरहँदा दाङमा बस्नु पर्ने भएकाले राजीनामा दिएको भन्दै उपकुलपति लामिछानेले भने, ‘व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनु पर्ने अहिलेको आवश्यकतालाई महसुस गरेर राजीनामा दिएको हुँ, अन्य केही त्यस्तो कारण होइन ।’

उपकुलपति लामिछानेले नेपाल संस्कृत विश्वविद्यालयको जिम्मेवारीमा रहँदा विश्वविद्यालयको हितका लागि आपूmले पहिलो पटक सम्पत्ति खोजी गर्न उच्च स्तरीय समिति, १२ वर्षदेखि हुन नसकेको दीक्षान्त समारोहलगायतका धेरै उपलब्धिहरू गर्न सफल भएको बताए । त्यसो त उपकुलपति लामिछाने र कुलसचिव माधव अधिकारीबिच केही समयदेखि विवाद चल्दै आएको थियो ।

कुलसचिव अधिकारीले विश्वविद्यालयमा मनोमानी गरेको भन्दै उपकुलपति लामिछानेले उनलाई पदबाट हटाएका थिए । उपकुलपति लामिछानेले कुलसचिव अधिकारीलाई जिम्मेवारीमा रहँदा कार्यकारीले गरेका निर्णयहरू कार्यान्वयन नगर्ने, विश्वविद्यालयको नीति नियमको उल्लघङ्घन गर्ने आफू नै प्रमुख भएको दम्भ देखाउने, उपकुलपतिलाई पूर्व जानकारी गराउनु पर्ने सूचना जानकारी नै नगराउने, विश्वविद्यालयका सूचना बिनाजानकारी बाहिर लैजानेलगायत आर्थिक गतिविधि समेत शङ्कास्पद देखिएपछि असार २७ गते जिम्मेवारी खोसेका थिए ।

विश्वविद्यालयमा कार्यरत कर्मचारी बढुवा तथा नियुक्त गर्ने विषयमा पनि उपकुलपति लामिछाने र कुलसचिव अधिकारीबिच द्वन्द्व बढको थियो । जिम्मेवारी खोसेको करिब १९ दिनपछि उपकुलपति लामिछानेले साउन १६ गते कुल सचिवको निलम्बन फुकुवा गरेका थिए तर कुलसचिव अधिकारी निलम्बनको औचित्य पुष्टि नभएको भन्दै विश्वविद्यालयको जिम्मेवारीमा फर्किएका थिएनन् ।

Blog Post Ad

केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत तेस्रो प्रोफेस्नलका विद्यार्थीले यथाशीघ्र रिजल्ट प्रकाशन गर्न माग गरेर परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेर कर्मचारीलाई थुनेका थिए । रजिस्ट्रार लामो समयदेखि विश्वविद्यालयको जिम्मेवारीमा नफर्किँदा नतिजा प्रकाशन हुन सकेको थिएन ।

Blog Post Ad Blog Post Ad