Ad Area

आज जनै पूर्णिमा तथा रक्षाबन्धन


घोराही, ३ भदौ । नेपालीको चार्डपर्वहरू सुरु भएका छन् । चार्डपर्व सुरुसँगै बजारमा पनि चहलपहल बढेको छ । आइतवार बजारमा रक्षाबन्धन किन्ने दिदीबहिनीहरूको भिडभाड थियो । आज नेपालीको माहन चाड जनैपूर्णिमा एवम् रक्षाबन्धन पर्व परेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा आज मनाइँदै छ । जनैपूर्णिमा हिन्दु धर्मावलम्बीले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैँ सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । त्यस्तै आजैका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ । यसै दिन दिदीबहिनीले आफ्ना दाजुभाइका दाहिने हातका नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लगाइदिने चलन चल्दै आएको छ । रक्षाबन्धन बाँधिएको धागो निकालेर गाईतिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरिदिने चलन पनि छ ।

हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहितकहाँ गई या मठमन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् । नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठुलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।
जुनसुकै बेला रक्षाबन्धन गर्न सकिने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमवार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्न सक्ने भनेको छ । शासन सत्तामा रहेकालाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ । समितिले विज्ञप्ति जारी गर्दै भदौ ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १ः३१ बजेसम्म भद्रा परेको जनाएको छ । यो वर्ष भद्रा परेकाले बिहान रक्षाबन्धन गर्न नहुने चर्चाबिच समितिले विज्ञप्ति जारी गरेर प्रष्टीकरण दिएको हो ।

भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । शासनसत्तामा रहेकाको लागि १ः३१ बजेपछिको समय दिएको उनले बताए । सर्वसाधारणलाई भने असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने उनले जानकारी दिए । श्रावण शुक्ल पूर्णिमामा गुरु पुरोहितको हातबाट रक्षाबन्धन गर्ने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ । द्विजातिले यसै दिन नयाँ यज्ञोपवीत अर्थात् जनै फेर्छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad