आधा घटयो कृषक प्रोत्साहन बजेट

दाङ, १४ भदौ । जिल्लामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा कृषकले पाउने प्रतिफलमा आधारित प्रोत्साहन रकमको बजेट घटेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको अनुदान गत आर्थिक वर्षको तुलनामा यस वर्ष बजेट घटेर आएको छ । प्रतिफलमा आधारित प्रोत्साहन रकमको बजेट चालु आर्थिक वर्षमा ५० लाख रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका निमित्त प्रमुख डा. प्रतिमा विष्टले जानकारी दिइन् । अघिल्लो आर्थिक वर्षमा झन्डै एक करोड बजेट रहेको थियो ।
कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रममा नै बजेट घटेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या हुने कार्यालयले जनाएको छ । ‘उत्पादन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको तर बजेट घट्दै गएले यसको कार्यान्वयन गर्न समेत चुनौती बढेको छ’, कार्यालय प्रमुख विष्टले भनिन्, ‘कृषकलाई फाइदा पुग्ने कार्यक्रममै बजेट घट्दा यसले कृषकलाई समस्या हुने गरेको छ ।’ अघिल्लो आर्थिक वर्षमा कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा
विज्ञ केन्द्रले कृषकलाई ९६ लाख २० हजार रुपैयाँ प्रदान गरेको थियो ।
दुग्ध, खसी÷बोका, बङ्गुर, माछा तथा अण्डा उत्पादन गर्ने कृषकलाई प्रतिफलमा आधारित प्रोत्साहन रकम प्रदान गरिएको कार्यालयले जनाएको छ । कृषकलाई सहकारमार्फत् उक्त रकम प्रदान गरिएको हो । उनका अनुसान दुग्ध प्रतिलिटर दुई रुपैयाँ, खसी÷बोका प्रतिकिलो २५ रुपैयाँ, बङ्गुर प्रतिकिलो १५ रुपैयाँ र अण्डा हजारको दुई सय ५० रुपैयाँ प्रदान गरिँदै आएको छ ।
गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको बजेट समेत घटेर आएको छ । चालु आर्थिक वर्षमा पाँच करोड ५९ लाख २३ हजार बजेट रहेको प्रमुख विष्टले बताइन् । जसमा चालुतर्फ पाँच करोड ३६ लाख २३ हजार र पुँजीगततर्फ २३ लाख बजेट रहेको छ । चालु आर्थिक वर्षमा अनुदान बजेट तीन करोड एक लाख २५ हजार बजेट रहेको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयको बजेट सात करोड एक लाख ३४ हजार बजेट रहेको थियो । जसमा अनुदान बजेट तीन करोड ५३ लाख रहेको थियो ।
चालु आर्थिक वर्षमा मत्स्य विकास तथा प्रवर्धन कार्यक्रममा अन्तर्गत नयाँ पोखरी निर्माण ५ हेक्टरका लागि २५ लाख, मत्स्य शिविर सञ्चालनका लागि दुई लाख, माछा पोखरीका लागि बोरिङ जडानमा सहयोग पाँचवटाका लागि पाँच लाख, पुरानो पोखरी मर्मतसंभार (सिल्पोलिन सहित) तीन हेक्टरका लागि १५ लाख, मत्स्य बजारीकरणको लागि होल्डिङ तथा कन्डिसङ ट्रयाक निर्माण पाँचवटाका लागि पाँच लाख, प्राकृतिक जलाशयमा मत्स्य प्रवर्धनका लागि पाँच लाख, मत्स्य प्रविधि प्रदर्शनका लागि दुई लाख बजेट रहेको छ ।
पशुपन्छी उत्पादन बजारीकरण, नियमन, प्रविधि प्रसार कार्यक्रम अन्तर्गत प्रतिफलमा आधारित पोत्साहन अनुदानका लागि ५० लाख, पोषण सुधारका लागि ग्रामीण कुखुरा पालन कार्यक्रमका लागि १० लाख, जिल्ला स्तरीय अगुवा कृषकलाई तालिमका लागि तीन लाख, घुम्ती स्थलगत तालिमका लागि एक लाख ६० हजार, भ्याक्सिनेटर अभिमुखीकरणका लागि ५० हजार, लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमका लागि २० लाख, विपद्बाट क्षति पुगेका कृषक, उद्यमी, फर्म, समूह, सहकारीलाई पुनःस्थापनाका लागि वस्तुगत सहयोग कार्यक्रमका लागि दुई लाख, विगतमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम हस्तान्तरण तथा फलोअप कार्यक्रमका लागि एक लाख दुई हजार, कृषक प्राविधिक भेटघाट कार्यक्रमका लागि एक लाख दुई हजार, बङ्गुर प्रवर्धन कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको लागि २० लाख, आवश्यकतामा आधारित कृषि, पशुपन्छी विकास कार्यक्रमका लागि छ लाख, पशुपन्छी तथा मत्स्य स्वास्थ्य आकस्मिक सेवाको लागि एक लाख रुपैयाँ बजेट रहेको छ ।
यसैगरी बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम (भैँसी र बाख्राको लागि ५० लाख, डोर टु डोर पशु बाँझोपन निवारण सेवाका लागि छ लाख, प्रयोगशाला सेवा सञ्चालन तथा रोग निदानका लागि एक लाख, पशुपन्छी उपचार सेवाको लागि सात लाख, पशु स्वास्थ्य शिविरका लागि चार लाख पाँच हजार, भ्याक्सिनेटर परिचालनका लागि १० लाख, खोपका लागि लजिस्टिक खरिदका लागि चार लाख, अत्यावश्यक खोप खरिदका लागि एक लाख, भ्याक्सिन बैंक व्यवस्थापन तथा सञ्चालनका लागि ७५ हजार, कृत्रिम गर्भाधानको लागि तरल नाइट्रोजन, सिमन खरिद भण्डारण तथा ढुवानी, वितरणको लागि दुई लाख चार हजार, कृत्रिम गर्भाधानसम्बन्धी उपकरण तथा लजिस्टिक खरिद तथा वितरणका लागि दुई लाख आठ हजार, स्थानीय तहसँगको सहकार्यमा डोर टु डोर पशु बाँझोपन निवारणका लागि एक लाख, बङ्गुरमा कृत्रिम गर्भाधानका सेवा केन्द्र सञ्चालनका लागि तीन लाख २५ हजार, बाख्रा प्रवर्धन कार्यक्रम (तुलसीपुर, शान्तिनगर र दंगीशरण गाउँपालिका)को लागि ५० लाख बजेट रहेको छ ।
यसैगरी प्रदेश विकास कार्यक्रम अन्तर्गत कृषि तथा पशुपन्छी फर्म बाख्रा पालन प्रवर्धन कार्यक्रम राजपुर–७ गोठुवाको लागि १० लाख, कृषि तथा पशुपन्छी फर्ममा कागती र लोकल केरा खेती प्रवर्धन तथा कार्य संरक्षण राजपुर–७ का लागि १० लाख, राजपुर गाउँपालिका वडा नं ४, ५, ६, ७ मा भैँसीको गोठ सुधारका लागि १५ लाख बजेट रहेको प्रमुख विष्टले जानकारी दिइन् ।