Ad Area

एक वर्षमा ५ सय १० जनाले गुमाए ज्यान


घोराही, १४ भदौ । गत बैशाख २९ गते शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भयो । हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका २ घर भई घोराही उपमहानगरपालिका १७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीलाई प्रहरीले पक्राउ गर्यो ।

गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ४ श्रीखोलामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भयो । गत वर्षको असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नम्बरको मोटरसाइकलले घोराही उपमहानगरपालिका ७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाङको भालुवाङमा गत वर्षको पुस २७ गते राति नेपालगञ्जबाट काठमाण्डौतर्फ जाने क्रममा एक यात्रुवाहक बस पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भयो । विभिन्न घटना र दुर्घटनामा परेर दाङमा वर्षेनी सयौँले अकालमा ज्यान गुमाउने गरेका छन् । सो घटना र दुर्घटनामा परेर उत्तिकै संख्यामा घाईते, अपांग तथा अशक्त हुने गरेका छन् । करोडौँको भौतिक क्षति हुने गरेको छ ।

दाङमा गत आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न घटना र दुर्घटनामा परी ५ सय १० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको वार्षिक अपराध सम्बन्धि तथ्यांकमा जिल्लाका विभिन्न स्थानमा भएका घटना र दुर्घटनामा परेर ५ सय १० जनाले अकाल ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा ३ सय १६ जना पुरुष र १ सय ४२ जना महिला रहेका छन् । यसैगरी, ३३ जना बालक र १९ जना बालिका रहेका छन् । जिल्लामा कर्तव्य ज्यान, आत्महत्या, पानीमा डुबेर, सर्पले डसेर, सवारी ज्यान, दुर्घटना, भवितव्य ज्यानलगायत रहेका छन् ।

जिल्लामा गत वर्षको साउनमा ३१ जना पुरुष र ८ जना महिला तथा ३ जना बालकको ज्यान गएको छ । यसैगरी, भदौमा २९ जना पुरुष र १३ जना महिलाको ज्यान गएको छ भने १ जना बालक र २ जना बालिकाको ज्यान गएको छ । असोजमा १५ जना पुरुष र १२ जना महिलाको ज्यान जाँदा ३ बालक र १ बालिकाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, कार्तिकमा ३३ जना पुरुषको मृत्यु हुँदा ९ जना महिलाको मृत्यु भएको छ । २ जना बालक र ५ जना बालिकाको मृत्यु भएको छ । मंसिरमा २३ पुरुष र १६ महिलाको मृत्यु भएको छ भने १ बालकले पनि ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, पुसमा ४१ जना पुरुष र १० जना महिलाको ज्यान गएको छ भने १ बालक र ३ बालिकाको मृत्यु भएको छ । माघमा २६ जना पुरुष र १६ जना महिलाको मृत्यु हुँदा ३ बालक र १ बालिकाको मृत्यु भएको छ ।

Blog Post Ad

फागुनमा २८ जना पुरुष र १४ महिलाको ज्यान जाँदा चैत्रमा २४ जना पुरुष र ८ महिलाको मृत्यु भएको छ । सोही महिनामा ३ जना बालक र ४ जना बालिकाको मृत्यु भएको छ । बैशाखमा १६ जना पुरुष र १० जना महिलाको मृत्यु हुँदा ४ बालक र १ बालिकाको मृत्यु भएको छ । जेठमा २८ जना पुरुष र १२ जना महिलाको मृत्यु हुँदा ७ जना बालक र १ बालिकाको मृत्यु भएको छ । यसैगरी, २२ जना पुरुष र १४ जना महिलाको मृत्यु हुँदा ५ बालक र १ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कतिपय घटना भवितव्य र दुर्घटनाका कारण हुँदा ज्यान गुमाएपनि अधिकांश दुर्घटना व्यक्ति स्वयम्को कारण हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले गत आर्थिक वर्षमा ५ सय १० जनाको मृत्यु हुनु निकै धेरै रहेको बताउनुहुन्छ ।

सवारी दुर्घटनाका कारण पनि जिल्लामा मानवीय क्षति बढ्दै गएको प्रहरीको निष्कर्ष छ । बढ्दो सवारी चाप तथा सडकको अवस्थाका कारण सवारी दुर्घटनामा परेर धेरैले ज्यान गुमाउने गरेका प्रहरी नायव उपरीक्षक तिमल्सिनाले बताउनुभयो । महिनै पिच्छे हुने सवारी दुर्घटनामा परेर जिल्लामा मानिसको ज्यान जाने गरेको छ । यसले व्यक्ति मात्रै नभई घरपरिवारमा समेत ठूलो असर पर्ने गरेको प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad