Ad Area

एचआईभी संक्रमितले भने : हामी सम्मानपूर्वक बाँच्न चाहन्छौं


घोराही १५, मंसीर । आज बुधबार ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ ।

सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआईभी एड्स सङ्क्रमणदर घट्दै गएको पाइएको छ । १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको पाइएको हो । त्यस्तै एड्सका कारण हुने मृत्यु ५५ प्रतिशतले घटेको छ । अहिले नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन् । सन् २०२० मा नयाँ सङ्क्रमित ७ सय ५४ जना रहेका छन् ।

असुरक्षित यौनसम्पर्क नै एचआईभी एड्सको मुख्य कारण रहेको केन्द्रका निर्देशक डा. सुधा देवकोटाले बताईन् । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि मुख्य कारण मानिएको छ । नियमित रुपमा एन्टिरेट्रो भाइरल औषधि सेवन गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ । दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दाङमा तीन सय ६१ जना संक्रमित

३४ औं विश्व एड्स दिवस मनाइँदै गर्दा राज्यकै निकायबाट हुने एचआईभी संक्रमितहरुमाथि अहिले पनि थुप्रै विभेद र दुर्व्यवहार हुने गरेका छन् । तर, उनीहरु त्यस खालका विभेदलाई पचाउँदै सामान्य अवस्था सरह जीवन बाँचिरहेका छन् । खुल्दा विभिन्न खालका विभेद र दुर्व्यवहार पाईने अवस्था छ भने नखुल्दा रोगले घरभित्रै मार्ने अवस्था रहेको दाङका एचआईभी संक्रमितहरुको साझा समस्या रहेको छ ।

एक एचआईभी संक्रमितले भने, ‘हामी समाजमै सम्मानपूर्वक बाँच्न चाहन्छौं । तर, सहज रुपमा बाँच्न पाउने अवस्था नै भएन ।’ रोग लाग्दा स्वास्थ्य समस्या गम्भीर समस्या एकातिर रहेको बताउने उनीहरुले परिवार पाल्न र दैनिक जीवन गुजार्न अर्को समस्या रहेको बताउँछन् ।
एचआईभी संक्रमितहरुका लागि आत्मसम्मान नै प्राथमिकताको विषय बनेको छ । दाङको तथ्यांक हेर्ने हो भने अहिले तीन सय ६१ संक्रमितहरु रहेको देखिन्छ ।

सरकारी तथ्यांकले दाङमा तीन सय ३३ जनाले अहिले एआरभी लिइरहेको देखाएको छ । जसमा एआरटी सेन्टर तुलसीपुरमा ५६ महिला, ५७ पुरुष र चार बालिका तथा एक बालकले एआरभी लिइरहेको तथ्यांक छ । त्यस्तै एआरटी सेन्टर घोराहीको सम्पर्कमा दुई सय १५ जना छन् । एक सय ११ पुरुष र एक सय । चार महिलाले एआरभी लिइरहेको एआरटी काउन्सिलर तारा बिसीले जानकारी दिए ।

Blog Post Ad

समाजमै खुल्न नसके पनि यो संख्या स्वास्थ्य संस्थासम्म पुग्नेहरुको भएको उनको भनाई छ । यीमध्ये केही त समाजमै खुलेर आएका पनि छन् तर उनीहरुलाई न समाजले न त सरकारले नै स्वीकार्न सकेको अवस्था छ । अहिले पनि एचआईभी संक्रमित भन्ने वित्तिकै गलत अर्थ लगाउने र दुर्व्यवहार गर्ने परिपाटीले संक्रमितहरु थप पीडित भइरहेको अनुभव सुनाउँछन् ‘रोग लाग्दैमा मरि हाल्ने हुँदैन, छेउमा कोही बस्दैमा वा संगै काम गर्दैमा एचआईभी सर्ने पनि होईन तर संक्रमितहरुमाथि हुने विभेद र दुर्व्यवहार घट्न सकेको छैन’–दाङ प्लसका अध्यक्ष तिलक खड्काले भने– ‘संक्रमितहरुमाथि गरिने गलत व्यवहारमा सुधार आउन जरुरी छ ।’

अधिकांश एचआईभी संक्रमितहरु अहिले घर परिवारमै बस्दै आएका छन् । गोप्यरुपमा नियमित औषधि लिएर दैनिक जीवन चलाइरहेका उनीहरुमध्ये धेरैलाई केही उद्यम वा आयआर्जनका काम गर्न मन भएपनि अवसर पाउनबाट वञ्चित हुनुपरेको छ । स्थानीय सरकारले बजेट दिएर स्वरोजगारका अवसर दिएमा आफुहरु पनि उद्यमी बनेर आयआर्जनमा आवद्ध हुने उनीहरुको धोको छ । तर दाङका दशवटै पालिकाहरु एचआईभी संक्रमितलाई स्वरोजगार दिने जस्ता कुरामा बोलेको पाइएको छैन दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपालीले भने– ‘स्थानीय सरकारले एचआईभी संक्रमितलाई अहिलेसम्म चिन्दैन अनि कसरी उनीहरु सहज रुपमा खुल्न सक्छन् ।’

संक्रमितलाई उत्साहित गर्ने, सीप रोजगार दिने हो भने आत्मसम्मानको महसुस हुने र बाहिर खुल्ने अवस्था आउने उनको धारणा छ । दाङमा अहिलेसम्म २० महिला, ३८ पुरुष र एक तेस्रोलिंगीसहित कम्तिमा ५९ जनाको एड्सकै कारण मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ ।

Blog Post Ad Blog Post Ad