Ad Area

कपडा बुनेर आयआर्जन गर्दै महिला


दाङ, ४ असोज । कुनै समय घरमा कामविहीन भएर बस्ने महिलाहरू पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि महिला उद्यममा जोडिन थालेका हुन् ।

उदाहरणका रूपमा रहेको छ, राप्ती गाउँपालिका–१ मा महिलाले सञ्चालन गरेको ढाका कपडा उद्योग । राप्ती गाउँपालिकाले गृहिणी महिलाका लागि सञ्चालन गरेको हातेतानबाट कपडा बुन्ने दुईमहिने तालिम लिएका महिला सहकारी संस्था स्थापना गरेर अहिले उद्यममा जोडिएका छन् । सिपमूलक तालिम लिएपछि राप्ती महिला श्रमिक सहकारी संस्था स्थापना गरेर महिला सामूहिक रूपमा ढाकाको कपडा उद्योग सञ्चालन गर्दै आएको राप्ती महिला श्रमिक सहकारी संस्थाका अध्यक्ष विसपुरा घर्तीले बताइन् ।

सामूहिक रूपमा महिलाहरू उद्योगमा जोडिँदा उद्योग सञ्चालनदेखि उत्पादन गरेका कपडा बजारीकरणमा समेत सहज भएको अध्यक्ष घर्ती बताउँछिन् । तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्दै आयआर्जनमा जोडिने उद्देश्यले महिलाले उद्योग सञ्चालन गरेको अध्यक्ष घर्तीले भनिन् । ‘हातमा सिप भएपछि गाउँका अधिकांश महिला रोजगारमा जोडिएका छौँ, कामले महिलालाई व्यस्त बनाउनु साथै घरखर्च समेत जुटाइहेको छ’, उनले भनिन् । गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगमा २१ जना महिलाले काम गर्दै आएका छन् ।

उद्योगमा काम गर्न थालेपछि घरखर्चका लागि आम्दानीसँगै फुर्सदको समय सदुपयोग भएको राप्ती गाउँपालिका–१ निवासी छमीदेवी पुन मगर बताउँछिन् । हातमा सिप नहुँदा घरमा फुर्सदिलो भएर बस्नु परेको विगत सम्झदै उनले भनिन्, ‘सिप सिकेपछि गाउँमै उद्योग सञ्चालन गरेर काम गर्दै छौँ । यसले हामीलाई व्यस्त मात्र नभएर घरखर्चका लागि आम्दानी समेत भइरहेको छ ।’

हातमा सिप नहुँदा आफ्ना व्यक्तिगत चाहनासँगै परिवारको खर्चका लागि श्रीमानमा भर पर्नु पर्ने महिलाका लागि आम्दानी समेत भइरहेको छ । जसले गर्दा छोराछोरीको पठनपाठनदेखि घरखर्च चलाउन सजिलो भएको उनी बताउँछिन । उनका अनुसार उद्योगले आपूm जस्ता बेरोजगार र विपन्न महिलालाई रोजगारीमा जोडेर आम्दानीसँगै स्वरोजगार बन्ने अवसर सिर्जना गरेको छ ।

महिलालाई सिपमूलक तालिमसँगै उद्योग प्रवर्धनका लागि सहयोग गरेपछि महिलाले नमुना उद्योग सञ्चालन गरिरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट बताउँछन् । महिलालाई सिपमूलक तालिको माध्यमबाट आयआर्जनमा जोड्ने उद्देश्यले पालिकाले तालिम सञ्चलनसँगै उद्योग सञ्चालन गर्न इच्छुक महिलालाई प्रोत्साहनका स्वरुप ८० प्रतिशत उद्योगका लागि आवश्यक सामग्री सहयोग गर्ने गरेको बताए । पालिकाको त्यही सहयोगले महिलाले राम्रो उद्योग चलाएको भन्दै गाउँपलिका अध्यक्ष विष्टले भने, ‘उद्योग सञ्चालनसँगै गाउँमा महिलाका लागि रोजगारीसँगै आम्दानी समेत गरिरहनु भएको छ ।’

Blog Post Ad

उद्योग सञ्चालनका लागि महिलाले कच्चा पदार्थ बुटवलबाट ल्याउने र महिलाका लागि ढाकाका सल, लुङ्गी, धोती, ब्यागदेखि पुरुषका लागि कोट, पाइन्ट, पोटीलगायतका विभिन्न कपडाका आइटम तयार गर्ने गरेको समूहकी सदस्य हितपुरा पुनले बताइन् । उद्योगमा काम गर्ने महिलाले एक मिटर कपडा बुनेको न्यूनतम एक सय ५० देखि ६ सय रुपैयाँ कमाउने गरेका छन् । यसरी उत्पादन भएको कपडा दाङसँगै बुटवल, पोखरा, काठमाडौं, नेपालगञ्जलगायतका विभिन्न ठाउँमा अर्डर अनुसार जाने गरेको सहकारी संस्थाकी अध्यक्ष घर्ती बताउँछिन् ।

Blog Post Ad Blog Post Ad