Ad Area

‘संविधान संशोधन गर्ने भए सङ्घीयता खारेज गर्नु पर्छ’


दाङ, ११ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको संविधान संशोधन गर्ने भए सङ्घीयता खारेज प्राथमिकतामा राख्न माग गरेका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँको २३औँ राष्ट्रिय सम्मेलनलाई विहीवार दाङको घोराहीमा सम्बोधन गर्दै नेता केसीले संविधान जारी भएको एक दशकमा सङ्घीयताका कारण देश अत्यन्तै दयनीयमा पुगेको भन्दै मुलुकलाई नै तहसनहस पार्ने घातक प्रणाली तत्काल देशबाट हटाउन माग गरेका हुन् ।

नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीबाट आएको गणतन्त्र राजनीतिक दलहरूको अकर्मण्यताका कारण खतरामा परेको बताए । नेता केसीले गणतन्त्रलाई संस्थागत गर्न इमानदार प्रयास गर्नुको साटो राजनीतिक दलबाट भइरहेको गलत क्रियाकलापले जनतामा निराशा थपिँदै गएको बताएका थिए । नागरिकमा बढ्दो निराशा हटाउँदै सुशासन र समृद्ध मुलुक निर्माणका लागि सङ्घीयता, राष्ट्रघात र भ्रष्टाचारको अन्त्यको विकल्प नभएको भनाइ थियो ।

‘देशमा जनताले चाहँदै नचाहेको, सोँच्दै नसोचेको सङ्घीयता ल्याएर अघि जनतालाई यसको भारी बोकाउने काम भएको छ । सङ्घीयताले देश उँभो लाग्दैन । सङ्घीयताले नेताको पेट भरिएला तर जनताको पेट भरिने कुने आधार छैन’, अध्यक्ष केसीले भने, ‘देश दिन प्रतिदिन खोक्रो हुँदै गएको छ । दिनदिनै सार्वजनिक ऋणको बोझ जनताको काँधमा थपिएको छ । नेता मोटाउने, जनता चुस्ने बेकामको सङ्घीयता तत्काल खारेज गर्नु पर्छ ।’

सङ्घीयताले नेता पोस्ने काम मात्रै गरेको भन्दै जनताको जनजीविकामाथि उकास्न नसकेको बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँका केन्द्रीय अध्यक्ष देवेन्द्र कुवरको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीयताका कारण देश दिन प्रतिदिन कमजोर बन्दै गएको हुँदा संविधान संशोधन गर्ने भए पहिलो विषय नै सङ्घीयता खारेजी हुनु पर्ने उनको धारणा थियो । अब सङ्घीयता खारेजी, भ्रष्टाचार विरुद्धको देशव्यापी अभियान अघि बढाउन पनि उनले आग्रह गरे । नेपालमा युवा जनशक्ति पाउनै गाह्रो अवस्था भइसकेको भन्दै देशमा युवा रोक्ने काममा अब ढिलाइ गर्न नहुने बताएका थिए । नेपालको राजनीतिक आन्दोलनको जग बलियो बनाउन विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण रहेको बताए । मुलुकमा व्यवस्था परिवर्तनदेखि शासन व्यवस्थामाथि खबरदारी गर्ने काममा विद्यार्थी संगठनको योगदानलाई भुल्न नमिल्ने बताएका थिए ।

जनमोर्चा जिल्ला अध्यक्ष सेवक भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पार्टी, संगठनलगायत विद्यार्थी नेताले धारणा राखेका थिए । कार्यक्रममा जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, केन्द्रीय सल्लाहकार आनन्द शर्मा, नेकपा मसालका प्रदेश प्रवक्ता तिलक डिसी, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य केयर सिंह, अखिल नेपाल किसान महासंघका महासचिव तुलसी सापकोटा, महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, जातीय समता समाजका अध्यक्ष राजेश विक, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यलगायत बोलेका थिए ।

शनिवारसम्म चल्ने तीनदिने राष्ट्रिय सम्मेलनमा भाग लिन देश भरबाट तीन सय बढी विद्यार्थी नेता दाङ आएका छन् । सम्मेलनले विद्यार्थी आन्दोलनको अवस्था र अबको कार्य नीतिसहित वर्तमान राजनीतिक विषयमा सम्बोधन गर्दै दाङ घोषणापत्र जारी गर्नेछ । कार्यक्रमको सहजीकरण अखिल छैठौँका महासचिव सुवास जिसीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad