Ad Area

ग्रामीण अर्थतन्त्र सबल बनाउन शुभलक्ष्मी सहकारीको भुमिका महत्वपूर्ण


घोराही, १२ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शरदकुमार आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा शनिबार साधारणसभा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले शुभलक्ष्मी सहकारीले बजार क्षेत्रभन्दा बाहिर ग्रामीण अर्थतन्त्र चलायमान बनाउन योगदान दिईरहेको भन्दै संस्थाको सबै सूचक सकारात्मक देखिनु ठूलो उपलब्धी रहेको बताउनुभयो । आर्थिक विकाससँगै मानवीय र सामाजिक विकासमा ध्यान दिएर शुभलक्ष्मीले जस्तै अरु सहकारी संस्थाले पनि उद्देश्य अनुसार चलाउन सके अहिले देखा परिरहेका समस्या हटेर जाने बताउनुभयो ।

यसका लागि सहकारीको सिद्धान्त अक्षरस पालना गरेर काम भए कुनै पनि सहकारीमा समस्या नहुने बताउनुभयो । उहाँले सहकारीमा कुनै पनि विषय सही रुपमा चल्न छाडेमा समस्या उत्पन्न हुने हुँदा हरेक शेयर सदस्यले सहकारीको महत्व र दायित्व बुझेर काम गर्नुपर्ने बताउनुभयो ।

सदस्यका रुपमा बसेर केही नगर्ने, सहकारी कुन अवस्थामा छ भन्ने हेक्का नराख्दा अहिले धेरै सहकारी संस्थाहरु समस्या परिरहेको गुनासो आउने भएकाले सहकारीको मूल्य मान्यता पालना गर्न सक्नुपर्ने बताउनुभयो ।

‘सदस्यका रुपमा बसेर केही नगर्ने, सहकारी कुन अवस्थामा छ भन्ने हेक्का नराख्दा पनि अहिले धेरै सहकारी समस्या परिरहेका छन्’ उहाँले भन्नुभयो ‘सहकारीको मूल्य मान्यता पालना गर्न सक्नुपर्छ । नियमित वचत गर्ने बानीको विकास गर्न जरुरी छ । आफ्नै गाउँठाउँमा रहेको सहकारीले आईपर्ने साना तिना समस्या सहजै समाधान गर्ने हुँदा परिवारका सबै सदस्यलाई बचत गर्ने बानी बसाल्नुपर्छ ।’

Blog Post Ad

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुराम आचार्यले सफल सहकारीको रुपमा अग्रसर हुनु वडाका लागि पनि गौरवको विषय भएको बताउनुभयो । शुभलक्ष्मी सहकारीमार्फत शेयर सदस्यहरुको जीवन स्तर सुधारमा अबको योजना हुनुपर्ने बताउनुभयो ।

नेफ्स्कुन कार्यालय घोराहीका प्रमुख विष्णुदत्त जोशीले सहकारीको दोहोरो सदस्यता त्यागेर एक ठाउँमा मन, वचन र कर्मले सहकारीमा काम गर्न अपिल गर्नुभयो । नियमित वचतलाई प्राथमिकता दिन पनि उहाँको आग्रह थियो ।

घोराही उपमहानगरपालिका सहकारी प्रवद्र्धन शाखा प्रमुख प्रेम केसीले सुचक सुधारका लागि सबै शेयर सदस्यहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । बजार क्षेत्र भन्दा बाहिर संस्था स्थापना गरेर गाउँ अर्थतन्त्र चलायमान बनाउन सहकारी ठूलो भुमिका खेलेको बताउनुभयो । खराब ऋण कम हुनु सहकारीको सफलताको कारक रहेको भन्दै असल बचतकर्ताको पहिचान गरि ग्रिनकार्डको व्यवस्थासहित सेवामा छुट गर्न सके सहकारी संस्थामा अझ आकर्षण बढ्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार श्रीधर शर्मा पौडेलले सहकारीलाई निरन्तरता भन्दा क्रमभंग गरेर बैंकिङ प्रणालीका रुपमा नहेरेर आधुनिक प्रविधिको प्रयोग, शिक्षा, तालिम र मानवीय स्रोतको नवीनत प्रयोगमा लागेर अब व्यवसाय वा उत्पादनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

दीगो शुभलक्ष्मी, सुरक्षित र विश्वसनीय शुभलक्ष्मी बनाउन उक्त संस्थाले २०८५ सालसम्मको लक्ष्य निर्धारण गरेर कार्ययोजना पनि ल्याएको छ । जसमा शेयर सदस्य संख्या २ हजार पुर्याउने, कुल सम्पत्ति ३० करोड पुर्याउने, शेयरपूँजी ५ करोड, वचत २४ करोड, लगानी २६ करोड, जगेडा कोष १ करोड पचास लाख पुर्याउने लक्ष्य तय गरेको छ ।

व्यावसायिक र आत्मनिर्भर सदस्य वृद्धि गर्ने, गुणस्तरीय, सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने, आधुनिक र दीगो, व्यवस्थित सहकारी निर्माण गर्ने, सहकारी शिक्षा र तालिम प्रदान गर्ने, सहकारीको वृद्धि सूचकलाई गतिशील राख्ने उद्देश्य राखेको संस्थाका अध्यक्ष आचार्यले बताउनुभयो ।

शुभलक्ष्मी सहकारीमा हाल १४ सय ८९ जना शेयर सदस्य रहेका छन् । १८ करोड ५३ लाख ४४ हजार ९६ रुपैयाँको कूल पूँजी रहेको सहकारीमा कर्जा जोखिम कोषको पूर्ण व्यवस्था गरेर ८ दशमलव ५ प्रतिशत अर्थात २१ लाख ३४ हजार ९ सय २३ रुपैयाँ, संरक्षित पूँजीकोष ११ लाख ९४ हजार २८ रुपैयाँ गरि ३३ लाख २८ हजार ९ सय ५१ रुपैयाँ वितरण गरेको छ ।

यसैबीच, सहकारीले उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट बाल बचतकर्ता घोराही १७ कर्जाहीका इभान्सी पोख्रेल, उत्कृष्ट बचतकर्ता घोराही ६ गुरुवागाउँका झगबहादुर वली, दैनिक बचतकर्ता घोराही ६ चैनपुरका हेमराज वली र उत्कृष्ट ऋणी सदस्य घोराही ६ गुरुवागाउँका रम्वी कवरलाई सम्मान गरिएको छ ।

सहकारी संस्थामा आवद्ध दुई जना ज्येष्ठ शेयर सदस्यहरु घोराही ६ गुरगैँ निवासी ८० वर्षीया यशोदा अधिकारी र सोही ठाउँ निवासी ७८ वर्षीय हिमबहादुर क्षेत्रीलाई नगद, प्रमाण पत्र र दोसल्लासहित सम्मान गरिएको छ । यसैगरी, उत्कृष्ट आर्थिक कारोबार गरेकाहरु मध्यबाट १० जनालाई संरक्षित पूँजी कोषको रकमसहित सम्मान गरिएको थियोे ।

कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद अधिकारीले सांगठनिक र कोषाध्यक्ष शरदकुमार अधिकारीले आर्थिक, लेखा सुपरिवेक्षण समिति संयोजक ध्रुवराज अधिकारीले लेखा सुपरिवेक्षण प्रतिवेदन, शिक्षा उपसमिति संयोजक कृष्णकुमार न्यौपानेले शिक्षा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड घोराहीका अध्यक्ष विमल अधिकारी, जिल्ला सहकारी संघ लिमिटेडका सरस्वती गौतमलगायत बोल्नुभएको थियो ।

संस्थाकी उपाध्यक्ष कुन्ताकुमारी सिजवालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णुप्रसाद अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad