Ad Area

‘प्रचण्ड’ सबैभन्दा अवसरवादी व्यक्ति– महामन्त्री सिंह


घोराही, १२ असोज । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिक वृत्तमा सबैभन्दा अवसरवादी व्यक्ति रहेको आरोप लगाउनुभएको छ ।

प्रगतिशील पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महान्त्री सिंहले दाहालसँग राजनीतिक सिद्धान्तमा दूरदृष्टि नरहेको भन्दै जहाँ अवसर पायो त्यही सम्झौता गर्ने बानीका कारण अस्थिर चरित्रले पार्टी पनि क्षयीकरण हुँदै गएको बताउनुभयो ।
पदका लागि दाहालले जे पनि गर्न सक्ने विगतको कामले पुष्टि गरेको भन्दै पछिल्लो समय एकाएक सरकारबाट बाहिरिनुको कारण पनि राजनीतिक विचलन रहेको तर्क गर्नुभयो ।
‘नेपालको राजनीतिमा सबैभन्दा अवसरवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनले राजनीतिक सिद्धान्तमा दूरदृष्टि छैन । कहाँ कति बेला क्रमभंग गर्छन् त्यो थाहा हुदैन । पदका लागि उनी जे पनि गर्न सक्छन् । यो उनको विगतको कामले देखाईसकेको छ’ महामन्त्री सिंहले भन्नुभयो ‘पदका लागि उनी जे पनि मोलमोलाई गर्न सक्छन् भन्ने कुरा विगतका सम्झौता साक्षी छन् । धेरै के भन्नु पर्यो र । अवसरवादी धेरै बन्न खोज्दा उनी अहिले सरकारबाट नराम्ररी बाहिरिनु परेको छ । त्यही झोँकमा कहिले कसलाई भेट्ने, कहिले कसलाई भेट्ने अनि जथाभावी बोल्ने काम गरिरहेका छन् ।’

माओवादी अध्यक्ष दाहालले आफु नेतृत्वको सरकारले भ्रष्टाचारको कुरा उठाउँदा सरकारबाटै बाहिरिनु परेको टिप्पणी गर्दै हिँडेपनि राजनीतिक अस्थिरताका कारण दुई ठूला दलले सरकारबाट हटाउनु परेको जिकिर गर्नुभयो ।

‘भ्रष्टाचारको कुरा उठाउँदा उनी हटेका होईनन् । उनको अस्थिरताका आफै सरकारबाट हट्नु परेको हो । उनले जे सुकै भनेपनि कारण उनी आफै हुन्’ उहाँले भन्नुभयो ‘उनकै राजनीतिक दृष्टिकोण स्पष्ट नहुँदा पार्टी एकातिर क्षयीकरण भईरहेको छ । अर्कोतिर गणतन्त्र पनि कमजोर बन्ने अवस्था भएको छ ।’

यस्तै उहाँले अहिलेको अवस्थामा जनतामा बढ्दो निरासा चिर्न संघीयताका विरुद्ध र गणतन्त्रका पक्षमा आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो । अहिले संघीयताका कारण देशको आर्थिक भार निकै थपिँदा देशनै आर्थिक संकटको अवस्थामा पुग्ने स्थिती भएको बताउनुभयो ।
अब संविधान संशोधनको विषय संघीयताको खारेजीसँगै बलियो गणतन्त्र निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘जनतामा बढ्दो निराशा हटाउन पहिलो शर्त संघीयता हटाउनुपर्छ । जनताको शासन हो भने गणतन्त्र मजबुत बनाउन ध्यान दिनुपर्छ । शीर्ष नेता भनिएकाहरुको बोली र व्यवहारको ठेगान हुनुपर्छ । इमानसहितको राजनीतिमा लाग्नुपर्छ । जनतासँग हिजोका दिनमा गरेका वाचा पूरा गर्न लाग्नुपर्छ । नभए नेपाल विदेशी शक्तिको प्रयोगशाला बन्ने खतरा बढेको छ’ उहाँले भन्नुभयो ‘यसका लागि जनमोर्चासहित हामी आवद्ध दलहरुले इमान छाडेका छैनौँ । ठूला भनिएका दलहरु आफ्नो राजनीतिक अडानमा उभिन नसक्दा देशलाई नै अप्ठ्यारो अवस्थामा पुर्याएका छन् । यसले नेपाल र नेपालीहरुको भविष्य पनि के हुने भन्ने अवस्था नआउला भन्न सकिन्न । प्रतिक्रियावादी शक्तिबाट देशलाई बचाउनुपर्नेछ ।’

प्रतिगमनको खतरा रहेको भन्दै राष्ट्रियता बचाउन गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले प्रतिगमनका विरुद्ध, संघीयताको विरुद्ध तथा राष्ट्रियताका पक्षमा अब संघर्षमा उत्रिनु पर्ने भएको भन्दै जनमोर्चाले काठमाडौँ केन्द्रित सडक सघर्ष गर्न लागेको जानकारी दिनुभयो ।
प्रतिगमनका विरुद्ध, राष्ट्रियताका पक्षमा हामी अब संघर्षमा उत्रिनु पर्ने भएको छ । देश डुबाउने गलत नीतिका विरुद्ध आन्दोलन हुनु निरन्तर प्रकृया हो । गलत नीतिका विरुद्ध आन्दोलन निरन्तर प्रकृया रहेको भन्दै संघर्षको बेथितिको विरुद्ध, भ्रष्टाचारको विरुद्ध र अन्यायको विरुद्धमा जनमत निर्माण गर्न गणतन्त्रवादी शक्तिहरु एक ठाउँमा जुट्न आग्रह पनि गर्नुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad