Ad Area

दाङमा खसी–बोकाको मूल्य निर्धारण, खाद्यले १७ गतेदेखि खरिद गर्ने


दाङ, १४ असोज । दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आइतवार बसेको समितिको बैठकले खसी–बोकाको मूल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारका अनुसार खसीको मूल्य वृद्धि गरिएको छ भने बोकाको मूल्य घटाइएको छ । यस वर्ष जिउँदो खसीको मूल्यमा प्रतिकेजी पाँच सय ६० रुपैयाँ र बोकाको मूल्य जिउँदो प्रतिकेजी पाँच सय ४० निर्धारण गरिएको छ ।

सम्रगमा गत वर्षको तुलनामा जिल्लामा खसीको मूल्यमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि भएको छ भने बोकाको मूल्यमा दुई रुपैयाँले घटेको छ । अघिल्लो वर्ष जिल्लामा केजी अनुसार मूल्य निर्धाण गरिएको थियो । यस वर्ष खसी २० देखि ४० केजीसम्म र बोका १८ देखि ३० केजीसम्मका मात्र खरिद गरिने प्रमुख सुनार बताउँछन् । सेतो रँङको खसी भने खाद्यले खरिद गर्ने छैन ।

अघिल्लो वर्ष जिउँदो खसी २५ केजीभन्दा माथिको प्रतिकेजी पाँच सय ६२ रुपैयाँ प्रतिकेजी तोकिएको थियो । यसैगरी २० देखि २५ केजीसम्मको खसीको मूल्य प्रतिकेजी पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो । १८ केजीभन्दा माथिको बोकाको मूल्य प्रतिकेजी पाँच सय ४२ रुपैया निर्धारण गरेर खरिद गरिएको थियो ।

मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने प्रमुख सुनारले बताए । खाद्यले असोज १७ गतेदेखि जिल्लामा खसी–बोका खरिद सुरु गर्ने जनाएको छ । खाद्यका अनुसार मूल्य निर्धारण हुन नसक्दा खसी–बोका खरिदमा ढिलाइ भएको छ । किसान तथा व्यवसायीको सल्लाह अनुसार समितिले मूल्य निर्धारण गरेको हो ।

खाद्यले यस वर्ष जिल्लामा चार सय खसी–बोका खरिद गर्न भनेको छ । गत वर्षभन्दा यस वर्ष तीन सय ५६ वटा कम खसी–बोका खरिद गरिने खाद्यलय जनाएको छ । गत वर्ष जिल्लाबाट सात सय ५६ वटा खसी–बोका खरिद गरिएको थियो । केन्द्रले चार सय खसी–बोका खरिदका लागि परिपत्र गरेको कार्यालयले जनाएको छ । कार्यालयल प्रमुख विकले भने, ‘हामीलाई केन्द्रले दिएको कोटा अनुसार खरिद गर्ने हो । अहिले अघिल्लो वर्षको तुलनामा कम खसी–बोका खरिद गर्न परिपत्र गरेको छ ।’ गत वर्ष खरिद गरिएका खसी–बोका बिक्री गर्न समस्या भएकाले यो वर्ष कोटा घटाएको कार्यालय प्रमुखले बताए ।

Blog Post Ad

खाद्यले खसी–बोका खरिद गर्ने भनेपछि किसानहरू खसी–बोका बिक्रीका लागि सम्पर्कमा आउन थालेको जानकारी दिएको छ । विगतका वर्षमा कार्यालयले किसानको घरमै गएर खसी–बोका खरिद गर्ने गरेको भए पनि अहिले कार्यालयबाटै खरिद गर्ने भएको प्रमुख विकले जानकारी दिए । खसी–बोका बिक्रीका लागि टाढा जान नपर्ने भएकाले आफूहरूलाई सहज भएको उनीहरूको भनाइ रहेको छ । यस प्रकारको कार्यले कृषकलाई प्रोत्साहन गरेको छ ।

सरकारले चाडपर्वको समयमा व्यवसायीबाट मूल्य वृद्धि रोक्न खसी–बोका खरिद गरेर छुट दिएर बिक्री गर्ने गर्दै आएको छ । यसले मासुको मूल्य वृद्धि रोक्न सकिने बताउँदै आएको छ । दसैँ–तिहारमा खसी–बोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी–बोका खरिद गरेर बिक्री गर्ने गरेको छ । चार्डपर्वमा मासु बढी खपत हुने भएकाले मूल्य वृद्धि रोक्नका लागि सरकारले खसी–बोका खरिद गरेर बिक्री गर्ने गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad