Ad Area

अम्बिकेश्वरीमा बडादशैंभर पूजापाठ थप व्यवस्थित गरिने


घोराही, १५ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर १८ अम्बापुरमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अम्बिकेश्वर मन्दिरमा यो वर्ष बडादशैैमा गरिने पूजापाठ थप व्यवस्थित गरिने भएको छ ।

अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति अन्तरगत प्रचारप्रसार उपसमितिले मंगलबार नवरात्रको समयमा गर्न थालिएको काम र मन्दिरको वर्तमान अवस्था बारे जानकारी गराउन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्दिरको महत्वलाई अझ माथि उठाउन सबैको साथ सहयोग र सुझावलाई शिरोधार्य गरेर नवीन प्रयासबाट काम गर्न थालिएको जानकारी गराईएको छ ।

प्रचारप्रसार उपसमिति संयोजक निरजा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले दैनिक बिहानको समयमा ३ जना ब्राह्मणबाट भईरहेको चण्डीपाठको कामलाई निरन्तरता दिँदै यो वर्षको नवरात्रभर सन्ध्याकालीन महाआरती ३ जना ब्राह्मणबाट ३ सेट श्रृंगारिक महाआरती हुने, मन्दिरको दैनिक गतिविधि सबैले थाहा पाउने गरी सार्वजनिक गरिने बताउनुभयो ।

यसैगरी, हिजोका दिनमा पञ्चबलीको प्रसाद मन्दिर आफैले राख्ने गरेकोमा पण्डितहरुको सल्लाह र भक्तजनको सुझावका आधारमा अब पञ्चबलीको प्रसाद भक्तजनलाई पुर्याउने गरी नियमित प्रसाद वितरणमा पुजारीको हातबाट सबैलाई उपलब्ध गराउने योजना बनेको उहाँले बताउनुभयो ।

पूजा सामग्री बिक्रिमा अस्वस्थ प्रतिष्पर्धा भईरहेको गुनासो सम्बोधन गर्न मुल्य निर्धारण गरेर न्यूनतम मुल्यमा पूजा सामग्री बिक्रि गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । अम्बिकेश्वरी मन्दिरमा पूजा कसरी गर्ने भन्ने बारेमा किताब पुस्तिका तयार पारेर शास्त्रीय मान्यतामा रही काम गर्ने गरी पूजारी, ब्राह्मणलाई प्रशिक्षित गरिने, नवरात्रभर ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थाका लागि सरोकार निकायसँग समन्वय सहकार्य हुने जानकारी गराउँदै अध्यक्ष अधिकारीले पूजाआजाका लागि आउने भक्तजनका सवारी साधन मोटरसाईकल, अटोरिक्सा, कार जीपको उचित पार्किङको निशुल्क व्यवस्था गरिएको बताउनुभयो । मन्दिरमा आउने कुनै पनि भक्तजनले १ घण्टाभन्दा धेरै समय लाईन लाग्ने अवस्था नहुने गरी पूजा व्यवस्थापनको काम गर्ने योजना बनाएको पनि उहाँको भनाई थियो ।

अम्बिकेश्वरीलाई देवी दुर्गाको अवतार मानिन्छ त्यसैले पनि यो मन्दिर शक्तिपीठका रूपमा पनि प्रसिद्ध रहेको छ । विशेष गरी नवरात्रि पर्वको समयमा अम्बिकेश्वरी मन्दिरमा ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्दछ । शक्तिपीठ मन्दिर भएकाले यो स्थान देवीको शक्तिको स्थानको रूपमा मानिन्छ । मान्यता अनुसार, देवीले विभिन्न रूपहरूमा प्रकट भएर भक्तजनहरूको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । नवरात्रि, दशैं, तीज, र अन्य प्रमुख हिन्दू पर्वहरूमा विशेष पूजा, हवन, र भजन–कीर्तनको आयोजना गरिने हुँदा यसको आफ्नै महत्व रहेको छ ।

Blog Post Ad

निकै पुरानो इतिहास बोकेको अम्बिकेश्वरी मन्दिरको स्थापना कहिले भयो भन्ने स्पष्ट विवरण नभएपनि १८६३ मा मन्दिरमा चढाएको घण्टले पनि सयौँ वर्ष पुरानो मन्दिर हो भन्ने आधार देखिएको छ । कार्यक्रमको सहजीकरण सचिव दामोदर भुसालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad