Ad Area

साहित्यकार अधिकारीको तेस्रो कृति ‘शुभाषित’ विमोचन


घोराही, १७ असोज । साहित्यकार एकराज शर्मा अधिकारीको तेस्रो कृति शुभाषित संग्रह विमोचन भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा बिहीबार आयोजित संस्कृत र नेपाली भागषामा लिखित कृति विमोचन परिषदको दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा लोकसंस्कृति विद डा. गोविन्द आचार्यको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डा. आचार्यले संस्कृत भाषा र यसको महत्व बचाउन र बिस्तार गर्न सबै लाग्नुपर्ने बताउनुभयो । संस्कृत भाषाले वातावरण, ज्ञान, मानवता, समाज सबै उजागर गर्ने हुँदा संस्कृत शिक्षाबाट लिएको ज्ञान अरुलाई पनि बाँड्ने काममा अब सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

हजारौँ वर्षदेखि खारिएर परिस्कृत भई आएको संस्कृत भाषा सबैभन्दा वैज्ञानिक र समाज सापेक्ष रहेको बताउनुभयो । लामो समय शिक्षण पेशामा बिताउनुभएका सर्जक अधिकारीले जस्तै अरु संस्कृत भाषाका जानकारहरुले यसको महत्व उजागर गर्न आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा परिषदका सल्लाहकार पुरुषोत्तम खनालले ८१ वर्षको उमेर कृतिका सर्जक अधिकारीले देखाउनु भएको उर्जालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

उक्त कृतिको पुष्पप्रकाश ज्ञवालीले समिक्षा गर्नुभएको थियो । उहाँले शुभाषित कृति मातापिताको संस्मरण र सम्मानसहित समाज, जीवन जगतको अथार्थता बोलेको पठनीय संग्रह रहेको चर्चा गर्नुभयो । ग्रन्थले मानवता, समाज, शिक्षा र दर्शनलाई रचनात्मक रुपमा उतारेको हुँदा उक्त कृति स्तुत्य, सम्माननीय र प्रार्थनीय रहेको बताउनुभयो ।

८३ पृष्ठ रहेको कृतिमा विभिन्न ८ खण्ड रहेका छन् । संस्कृत लिपीलाई नेपाली लिपी भाषानुवाद गरिएको कृतिमा प्रथम खण्डमा विद्या सम्बन्धि श्लोकहरु, दोस्रो खण्डमा संस्कारसम्बन्धि श्लोकहरु, तेस्रो खण्डमा धनसम्बन्धि श्लोकहरु, चौथो खण्डमा धर्मस्मबन्धि श्लोकहरु, पाँचौं खण्डमा स्वास्थ्यसम्बन्धि श्लोकहरु, छैठौं खण्डमा ज्ञानसम्बन्धि श्लोकहरु, सातौँ खण्डमा महाभारतका केही महत्त्वपूर्ण सूक्तिहरु र आठौँ खण्डमा दैनिक प्रयोगमा आउने स्तोत्रहरु रहेका छन् ।

उपाध्यक्ष सुरेशकुमार शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीहरुलाई साहित्यकार अधिकारीका छाेरा श्रीधर अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो । यसअघि साहित्यकार अधिकारीले पाण्डवेश्वर महात्मा २०७२, जीवन दर्पण २०८० प्रकाशित गरिसक्नुभएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad