Ad Area

बेझलालको थारु लोक गीत संग्रह लोकार्पण


घोराही, २३ असोज । थारु संस्कृतिका ज्ञाता बेझलाल चौधरीको थारु लोक गीत संग्रह भाग १ लोकार्पण गरिएको छ । लौव अग्रासन राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक केबी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा बुधबार कृति लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले थारु समुदाय कला संस्कृतिको धनी भएको बताउँदै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । थारु संस्कृतिका ज्ञाताका रुपमा रहनुभएका बेझलाल जस्तै थुप्रै अग्रजहरुको ज्ञानलाई दस्तावेज गर्न स्थानीय सरकारको सहयोगी भुमिका खेल्दै आएको बताउनुभयो ।

कार्यक्रममा लोक संस्कृतिविद डा. गोविन्द आचार्यले कला, संस्कृतिमा सम्पन्न र विविधतायुक्त रहेको थारु समुदायको अलिखित संस्कृतिलाई दस्तावेज गर्न सक्नु भोलिका लागि ठूलो उपलब्धि हुने बताउनुभयो । भाषा, सम्वादलाई ध्यान दिएर लिपिमा उतार्दा बस्तुपरक बनाउन उहाँको सुझाव थियो ।

वर्णका पहिचान गरेर मानकका रपमा भाषामा गम्भीरतापूर्वक उतार्न सकेमा यसले भाषालाई जीवित राख्न मद्दत पुग्ने बताउनुभयो । अर्का जर्मन चौधरीले थारु जातिको हरेक गीत गेयात्मक रहेकोे भन्दै मौसम, रीतिरिवाज अनुसार फरक फरक संस्कृतिको धनी थारु समुदायको मौलिक कलासंस्कृति जोगाउन चुनौति थपिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । थारु भाषा खिचडी बन्ने खतरा रहेको भन्दै भाषा, संस्कृति समुदायको सम्पत्तिका रुपमा सबैले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी, सल्लाहकार भुवन चौधरी, वडा नम्बर ७ का वडाअध्यक्ष खोपीराम चौधरी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले सिर्जनशील काम गर्न चाहेमा पत्रिकामार्फत धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण लौव अग्रासनले गरेको बताउनुभयो । उहाँले समुदायको सम्पत्तिका रुपमा रहेको दस्तावेजलाई सबैको पहुँचमा पुर्याउन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक सन्तोष दहितले गर्नुभएको थियो ।

बेझलाल चौधरीले थारु लोकगीत, डस्या टिका सम्ह्रौटी, दाङसे बुह्रान, मागर, बर्किमार, ढुमरु, पच्रा, थारु लोकगीत, लोकगाथालगायत थारु भाषा, कला, संस्कृति सम्बन्धि कृति प्रकाशित गरिसक्नुभएको छ ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad