घोराहीमा दोस्रो अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता शुरु
घोराही, १३ मंसिर । घोराहीमा दोस्रो अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता-२०८१ बिहीबारदेखि शुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको प्राविधिक सहयोेगमा घोराही १८ सालघारीमा अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता शुरु भएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य र नगर प्रवक्ता एवम् सामाजिक विकास समिति संयोजक राममणि पाण्डे, सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यको विशिष्ट आतिथ्यमा प्रतियोगिता शुरु भएको हो ।
उदघाटन समारोहमा प्रमुख अतिथि डिसीले खेलकुद विकासका लागि घोराहीले पूर्वाधार निर्माणमा जोड दिन लागेको बताउनुभयो । स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै खेलकुदका गतिविधि चलायमान बनाउन पूर्वाधार विकासमा ध्यान दिने बताउनुभयो ।
सामाजिक विकास महाशाखा प्रमुख पौडेलले जिल्लाका १० पालिका मध्ये घोराहीले व्यवस्थित रुपमा खेल गतिविधि गरिरहेको भन्दै यस प्रकारका गतिविधिले शिक्षामा योगदान गर्ने काम गरेको बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले खेलकुद स्वस्थ नागरिक उत्पादन गर्ने आधार रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १८ का वडाअध्यक्ष भरतमणि अर्याल, खेल तथा शिक्षाविद् नारायणसिंह गुरुङ, बास्केटबल संघ दाङका अध्यक्ष विपिन केसीलगायतले खेलकुद हरेक व्यक्तिका लागि आवश्यक रहेको बताउनुभयो ।
मंसिर १५ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको छ । प्रतियोगिता लिग चरणमा संचालन भईरहेको खेल संयोजक विमल थापाले जानकारी दिनुभयो । उदघाटन समारोहको सहजीकरण नगर खेलकुद विकास समिति सदस्य श्रवणकुमार खनालले गर्नुभएको थियो ।