सफल गृहस्थ जीवन

श्रीराम दहित
कर्म गर्नु पूर्व हरेक व्यक्तिले त्यस कर्मको परिणामको अपेक्षा गरेको हुन्छ । सबैको अपेक्षा हुन्छ, सफलता वा सुपरिणाम प्राप्ति गर्नु हो ।
मानवीय स्वभाव लगानीभन्दा आम्दानी धेरैको चाहना गर्नु हो । कर्मफलको सिद्धान्त हरेक प्राणीमा लागु हुने अकाट्य दैविक विधान हो । सफलता प्राप्ति हुनुमा निश्चित नियम व्रत पालना गर्ने नारी शक्तिलाई रहेको शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
शास्त्रमा भनिएको छ– “गृहं मित्याहु गृहिणी गृहं मुच्यते“ । घरलाई घर होइन तर गृहिणीलाई घर भनिन्छ । लोक भनाइ छ–“बिना गृहिणीको गृह हा,े भुतको डेरा“ । यो भनाइमा मात्र सिमित रहँदैन यदि कुनै दिन नारी बिनाको घर रहेमा समशान झैँ आभास हुन्छ । हाम्रा लोक मान्यताहरु हाम्रा दैनिक जीवनमा देखिने व्यावहारिक पक्ष हुन् ।
गृहलाई गृहस्थ जस्तै बनाउन गृहिणी अत्यावश्यक पात्र हुन् । ती महत्त्वपूर्ण पात्र नारीको मुख्य शक्तिको आधार प्रेम हो। जहाँ प्रेम छ, त्यहाँ स्वर्ग छ । त्यहाँ सुख छ । जुन घरमा प्रेम हुँदैन त्यहाँ खुसी सुख बस्न सक्दैन ।
जबसम्म मानवले स्वयंलाई मात्र विशेष ठान्छ, तबसम्म खुसी सुखको परिकल्पना गर्न सकिदैन । गृहलाई गृहस्थ बनाउन विवाह संस्कार गरिन्छ, जुन संस्कार कुसंस्कारमा सिमित रहेमा गृह गृहस्थमा परिणत हुन सक्दैन । जसका लागि विवाहित जोडीको हृदय एक हुन जरुरी छ । जब दुई मुटु जोडिएर एक हुन्छ, एकअर्कामा समर्पित हुन्छन् । तब त्यो गृह गृहिणी सहितको गृहस्थ बन्नेछ । कुनै पनि मानवले जानाजान मलाई दुख चाहियो भन्दैन । सुख चाहना गर्छ तर विवेक शुन्यका कारण दुखी हुने कर्म गरि रहेको हुन्छ ।
जीवन भनेको दुख कटाउँदै सुख प्राप्ति तिर लम्की रहने निरन्तर यात्रा हो । जबसम्म स्वयंको सुखलाई मात्र जीवन हो भन्ने बुझिन्छ तबसम्म सुख स्थायी रहँदैन । सुख स्थायी राख्न गृहिणी अर्धाङ्गिनीको पतिदेव खुसी पनि जीवनको रूपमा लिनु नै वास्तविक सुख भनिन्छ ।त्यसैले जीवन सदुपयोग गर्न अरुको सुखका लागि स्वयंका लागि त्याग गर्दै परमार्थमा लाग्नुपर्छ । गृहस्थ जीवनमा पत्नी र पतिमा जसरी सुख– दुख बाँडिन्छ । त्यसै अनुरुप सन्तान, परिवार, छिमेकी, समाज तथा समग्र विश्वप्रति प्रेम सद्भाव झाँगिदै जान्छ र सफल मानव जीवन हुन्छ ।
यसै समग्र खुसीको जननी गृहस्थ जीवनलाई श्रेय दिइन्छ । लोक भनाइ छ–“गृहस्थ एक तपोवन हो, जहाँ सेवा, सहिष्णु, संयम तथा धैर्यताको साधना गर्नुपर्ने हुन्छ ।’ गृहस्थ यस्तो पाठशाला हो, जहाँ मानवलाई जिउने सुन्दर आधारको सिकाइ सीप प्रदान गरिन्छ । जहाँबाट मानवले असल संस्कार समाजनिष्ठ , त्याग र समर्पणको अभ्यास व्यावहारिक रूपमा गर्दछ । एक नवविवाहित नारीलाई समग्र परिवारको सुखका लागि त्यस घरको ताला– साँचो सुम्पी दिन्छन् । जसको उद्देश्य हुन्छ, त्यस घरलाई वास्तविक रूपमा घर देवालय जस्तै बनोस् । नवप्रवेशी गृहिणीले त्यस घरको समग्र खुसीका निम्ति स्वयं भोकै बसि अन्य सदस्यलाई तृप्त पारी उनीहरुको सुखमा आफू रमाउने । एकआपसको समर्पण अथवा आत्मसमर्पणलाई गृहस्थ जीवनको शुत्रको रूपमा लिइन्छ ।
गृहस्थ जीवनमा अधिकारका कुरा थोरै त्याग, कर्तव्य र दायित्व धेरै हुन्छ र त यो स्थायी खुसीको रूपमा स्थापित हुन्छ । जहाँ अधिकार धेरै त्याग, कर्तव्य र दायित्व थोरै हुन्छ । त्यहाँ गृहस्थ जीवन असफल रहन्छ । सम्पूर्ण असन्तुष्टिको कारण कर्तव्यबोध नभई अधिकारकर्मी बन्नु हो । अधिकार कसैलाई माग्नुपर्ने होइन कर्तव्य पालन गर्दै जाँदा अधिकारीबाट सम्मानसहितको अधिकार प्रदान गरुन् । खोजी गर्ने अधिकारले अमानवीय स्वभाव बढाउने गर्दछ ।
गृहस्थ जीवनमा एकाअर्कालाई उपभोग्य वस्तुको रूपमा हेरि साधन झैँ प्रयोग गरिन्छ, त्यहाँ द्वन्द सिर्जना हुन्छ द्वन्दले अनावश्यक रूपमा अधिकार निम्त्याउने गर्दछ । भावना बदल्दा जीवन बदलिन्छ ।
तृप्ती र शान्ति सद्भावले पैदा गर्दछ । नारीहरुको असिमित शक्ति भोग मै सिमित राख्दा हजारौं नारी– पुरुष विवाह संस्कारमा जोडिएकै क्षणमा सम्बन्ध बिच्छेद गरि परिवार समाजलाई कलंकीत तुल्याइ दुखित जीवन जिउन बाध्य छन् । सनातन संस्कृतिमा कर्तव्यको अर्को रुप अथवा नाम “धर्म“ हो । जीवन जिउने सरल तरिका प्राप्ति गर्नुछ भने धर्म गरौं अथवा कर्तव्य पालन गरौं ।
वैवाहिक जीवनमा जहाँ नारी–पुरुषले आआफ्नो कर्तव्य निर्वाह गरेका छन् । त्यहाँ असिमित स्वर्गीय आनन्द खुसी अलौकिक शान्ति प्राप्त हुन्छ । दुवैको भावना, हृदय समर्पणबाट अंकुरण भएको बिजले शान्ति,तृप्ती र समग्र खुसीसहितको सफल गृहस्थ जीवनको सिर्जना हुन्छ यसैगरी निरन्तर स्थायी रूपमा नदि झैँ प्रवाहित हुनु सफल गृहस्थ जीवन हो।