Ad Area

घोराहीमा उपमेयर कप छात्रा भलिबल प्रतियोगिता शुरू


घोराही, २० मंसिर ।घोराही उपमहानगरपालिकाले अन्तरविद्यालय स्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिता शुरू गरेको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्य एवम् प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र सामाजिक विकास समिति संयोजक राममणि पाण्डेको विशिष्ट आतिथ्यमा बिहीबार जिल्ला समन्वय समितिको शहीद मञ्चमा शुरू भएको हो ।

प्रतियोगितामा सामुदायिक विद्यालयका ८ र निजी विद्यालयका २ गरी कुल १० वटा माध्यमिक विद्यालयका छात्राहरूको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख डिसीले खेल क्षेत्रमा महिलाहरूको रुचि र सहभागिता बढाउन स्थानीय सरकारले विद्यालय तहबाटै प्रतिस्पर्धात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताउनुभयो । विद्यालयहरूले पनि खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उहाँको आग्रह छ ।

नगरले खेलकुद शिक्षकहरूको व्यवस्थापन गरेर विद्यालय तहबाटै खेलकुदलाई अनिवार्य विषय बनाउने सोँचलाई कार्यान्वयन गरेको जानकारी दिनुभयो । खेल क्षेत्रबाटै शारीरिक स्वास्थ्य, आत्मविश्वास र आत्मीयताको विकास हुनेमा उहाँले जोड दिनुभयो ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिले विभिन्न प्रकारका खेल आयोजना गर्दै आएको छ ।