सातौँ घोराही मेयर कप फुटबलमा वडा नम्बर ३, १५ र १६ विजयी
घोराही, ७ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत आईतबार पनि ३ खेल सम्पन्न भएका छन् । लिग चरणका खेल अन्तरगत आईतबार भएको खेलमा वडा नम्बर १६, वडा नम्बर ३ र १५ विजयी भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा वडा १६ र ६ बिच भएको बिहान ११ बजेको पहिलो खेलमा वडा नम्बर १६ ले १–० ले वडा नम्बर ६ लाई हराएको छ । वडा नम्बर १६ का लागि जलन चौधरीले गरेको १ गोल निर्णायक बन्यो ।
यसैगरी, दिउँसो १ बजे भएको दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १९ लाई ७–३ गोल अन्तरले हराएको छ । वडा नम्बर ३ का लागि निशान घर्तीले ह्याट्रिक गोल गर्दा आकाश रोका, अभिषेक नेपाली, एलिस नेपालीले १–१ गोल गर्दा वडा नम्बर १९ का मनोज सुनारले आत्मघाती गोल गरे । वडा नम्बर १९ को तर्फबाट गंगाराम रायमाझी, छबिलाल खड्का र मनोज सुनारले १–१ गोल गरे ।
यसैगरी, प्रतियोगिता अन्तरगत तेस्रो खेलमा वडा नम्बर १५ ले वडा नम्बर ८ लाई १०–० गोलको फराकिलो जीत निकालेको छ । वडा नम्बर १५ का सुशील बानियाले ह्याट्रिकसहित ५ गोल गर्दा बिक्की घर्ती, देव वली, शेखर बिक, बादल योगी, जीवन बुढाथोकीले समान १–१ गोल गरे । जीतसँगै वडा नम्बर १६, ३ र १५ ले समान ३–३ अंक जोडेका छन् ।
घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार पनि लिग चरणका ३ खेल हुनेछन् ।
जस अनुसार वडा नम्बर ४ र १३ बिच बिहान ११ बजे, वडा नम्बर ७ र १ बिच दिउँसो १ बजे र वडा नम्बर ५ र १४ बिच अपरान्ह ३ बजे खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।
सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइलन खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।