दोस्रो ललित स्मृति कप पुरुष भलिबल सुरु
लक्ष्मण बस्नेत
दाङ, ११ पुस । दाङको तुलसीपुरमा विहीवारदेखि दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनिको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको नेपाली कांग्रेस तुलसीपुर नगर सभापती एवं त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नगर सभापति हमालले सभ्य समाज निर्माणमा खेलकुदको अहम भूमिका रहने बताए । खेलकुद स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो भएको भन्दै नगर सभापति हमालले सभ्य समाज निर्माण र रुपान्तरणमा खेलकुदले अहम भूमिका निर्वाह गरेको बताए । अनुशासनको उच्च आदर्शलाई आत्मसात गर्दै आफ्नो खेल कौशल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरेका थिए ।
नेपाल शिक्षक संघ तुलसीपुर नगर अध्यक्ष घनश्याम डागीको स्वागत रहेको कार्यक्रममा विशिष्ट अतिथी राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरका संचालक राजु यरीको अध्यक्षता तथा नेपाली कांग्रेस तुलसीपुर नगर सभापती सुरेश हमालको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसी र दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष भरत कवरको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच विहीवार भएको उद्घाटन खेलमा रुकूम पश्चिमले बिजयी सुरुवात गरेको छ । गुरुजजुर नमूना माबि रक्षाचौरलाई २५–१६ र २५–१९ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिमले बिजयी सुरुवात गरेको हो ।प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेलमा अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसीपुर रुकुम भलिबल टिम भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा न्यू स्टार र जनश्रम मावि खाद्रे, तेस्रो खेलमा ग्रेट अरनिको मावि तुलसीपुर र नेपाल राष्ट्रिय युवा संघ तुलसीपुर ३ आमनेसामने हुनेछ्न् ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पूर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्ने टिमलाई क्रमशः नगद ५०,३० र १५ हजार पुस्कारसंगै कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडीलाई ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुमलगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको छ