Ad Area

घोराही मेयर कप फुटबलमा साविक विजेता र उपविजेता लिग चरणबाटै बाहिरिने अवस्थामा


घोराही, १३ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगितामा नवौँ दिनको खेल सम्पन्न हुँदा साविक विजेता वडा नम्बर १७ र उपविजेता वडा नम्बर १० लिग चरणबाटै बाहिरिने अवस्थामा पुगेका छन् ।

समुह सी मा रहेको वडा नम्बर १० ले शनिबार भएको खेलमा वडा नम्बर १४ सँग २–१ गोलको हार व्यहोरेपछि लिग चरणबाटै बाहिरिने  अवस्थामा पुगेको हो । गत संस्करणको उपविजेता वडा नम्बर १० ले १४ लाई क्वाटर फाईनलमा हराएर सेमिफाईनल प्रवेश गरेको थियो । वडा नम्बर १४ ले यो पटक हारको बदला पनि लिएको छ । अब आईतबार समुह सी मा रहेको वडा नम्बर २ र ५ बीचको खेलबाट वडा नम्बर १० को भाग्य टुंगो लाग्नेछ । वडा नम्बर २ र ५ बराबरी खेलेमा मात्र वडा नम्बर १० अन्तिम आठमा पुग्ने हुन्छ ।

यसैगरी, साविक विजेता समुह डी मा रहेको वडा नम्बर १७ ले उदघाटन खेलमा वडा नम्बर १३ सँग ३–२ को हार तथा वडा नम्बर १५ सँगको १–१ को बराबरी खेलेपछि अंक तालिकामा पछि पर्दै एक खेल अगावै लिग चरणबाट बाहिरिने अवस्थामा पुगेको हो । वडा नम्बर १७ को अहिलेसम्म ४ अंक मात्रै छ । यो समुहबाट पाँच वटै टीमले १–१ खेल खेल्न बाँकी छ । जसमा वडा नम्बर ४ र ८ कमजोर टीम हुन् । अब वडा नम्बर १७ ले ८ लाई भारी गोल अन्तरले जितेपनि उसको कुल अंक ७ हुनेछ ।

उता, वडा नम्बर १५ को हाल ७ अंक छ भने उसले वडा नम्बर ४ सँग खेल्न बाँकी रहेकाले थप ३ अंक जोड्ने बलियो सम्भावना छ । यसैगरी, वडा नम्बर १३ को अहिलेसम्म ६ अंक छ । अब वडा नम्बर १३ पनि पनि ८ वडासँग खेल्न बाँकी छ । वडा नम्बर १३ बलियो टीम मानिएकाले सहज जीत निकाल्दै ९ अंक जोड्ने सम्भावना छ । जसले गर्दा यो समुहबाट वडा नम्बर १३ र १५ अन्तिम आठमा पुग्ने देखिएको हो ।

प्रतियोगिता अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा शनिबार भएको लिग चरणको बिहान भएको २२ औँ खेलमा वडा नम्बर ६ ले वडा नम्बर ७ लाई ४–१ गोलले पराजित गरेको छ । वडा नम्बर ६ का लागि कपिल बुढा, आशिष सोनाम, बिराज परियार र सुरेन्द्र भण्डारीले १–१ गोल गरे । दोस्रो हाफको ईन्जुरी समयमा वडा नम्बर ७ का करन बोहराले पेनाल्टीमार्फत १ गोल गरे ।
यसैगरी, लिग चरणको २३ औँ खेलमा वडा नम्बर १६ ले वडा नम्बर ११ लाई ५–० गोलले हराएको छ । वडा नम्बर १६ का लागि कमल डाँगीले २ गोल गर्दा जलन चौधरी, रक्की पुनले १–१ गोल गरे । खेलको पहिलो मिनेटमा वडा नम्बर ११ का कप्तान सुन्दर बिकले पेनाल्टी एरियाको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

लिगको २५ औँ खेलमा वडा नम्बर १४ ले वडा नम्बर १० सँगको खेलमा २–१ को जित निकालेको छ । पहिलो हाफ १–१ को बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा वडा नम्बर १४ ले थप एक गोल गर्दै जित निकालेको हो ।

वडा नम्बर १४ का अविनाश चौधरीले गोल गर्दै अग्रता दिलाए पनि त्यसपछि वडा नम्बर १० का सुजन बिकले गोल गरेर बराबरीमा पुर्याएका थिए । बराबरीको अवस्थामा रहेको बेला खेलको ईन्जुरी समयमा वडा नम्बर १४ का संगम चौधरीले गोल गर्दै टीमलाई २–१ को जित दिलाए । जितसँगै समूह सी बाट वडा नम्बर १४ समूह विजेता हुँदै क्वाटर फाईनल प्रवेश गरेको छ ।

यसैगरी, प्रतियोगितामा समुह बी बाट समुह विजेता बन्दै वडा नम्बर १८ र उपविजेता बन्दै वडा नम्बर ३ अन्तिम आठमा प्रवेश गरिसकेका छन् । यसैगरी, वडा नम्बर समुह सी बाट वडा नम्बर १४ समुह विजेता बन्दै क्वाटर फाईनल प्रवेश गरेको छ भने यो समुहबाट उपविजेता हुने टीमको टुंगो लाग्न बाँकी छ । यो समुहबाट वडा नम्बर २ , ५ र १० मध्ये एउटा टीम अन्तिम आठमा जानेछ ।

यसैगरी, समुह ए बाट वडा नम्बर १, ६ र १६ मध्ये दुई टिम अन्तिम आठमा पुग्ने देखिएको छ । समुह डी बाट वडा नम्बर १५ लिग चरणको एक खेल अगावै समुह विजेता र वडा नम्बर १३ समुह उपविजेता बनेर अन्तिम आठमा पुगेका छन् ।

चार समुहमा विभाजन गरी खेलाईएको लिग कम नकआउट प्रतियोगितामा नवौँ दिनसम्मको लिग चरणका २५ वटा खेल सकिँदा कुल १ सय १८ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत आईतबार पनि लिग चरणका ३ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आईतबार बिहान वडा नम्बर १५ र ४ बिच बिहान ११ बजे, वडा नम्बर ५ र २ बिच दिउँसो १ बजे र वडा नम्बर ८ र १३ बिच अपरान्ह ३ बजे खेल हुने छ ।

प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।