Ad Area

व्यवहारिक शिक्षा प्रणाली आवश्यकता : मन्त्री न्यौपाने


घोराही, १७ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देश विकास र समृद्धिका लागि समय सुहाउँदो व्यवहारिक शिक्षा प्रणाली आवश्यक रहेको बताए । घोराही उपमहानगरपालिका–१४ स्थीत गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलको २७ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले अध्ययन गरिसकेपछि विद्यार्थीलाई बेरोजगार बस्न नपर्ने शिक्षाको आवश्यकता रहेको बताएका हुन ।

अहिलेको शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको भन्दै मन्त्री न्यौपानेले भने,‘पुरानो शिक्षा प्रणालीबाट देश विकास र समृद्धि हुन सक्दैन । समय सुहाउँदो,अध्ययन गरेपछि आफ्नै देशमा स्वरोजगार बन्ने शिक्षा प्रणाली आवश्यक छ ।’ देश संघीय संरचनामा गएसँगै कक्षा दश कक्षासम्मको शिक्षालाई हेर्ने अधिकार स्थानीय तहलाई प्राप्त भएको भन्दै मन्त्री न्यौपानेले शिक्षाको सुधारका लागि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले पहल थाल्नुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन)का केन्द्रीय सदस्य यादव गिरीले शिक्षा क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदानलाई राज्यले मुल्याङ्कन गर्न नसकेको बताए । शिक्षामा निजी क्षेत्रको योगदानका कारण शैक्षिक गुणस्तरमा सुधार भएपनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार हुन नसकेको बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दाङमा गुणस्तरीय शिक्षाको विकासमा गोरखा बोर्डिङ स्कुलको महत्वपूर्ण योगदान गरेको बताएका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका लक्ष्मण लुइटेल, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, विद्यालयका सिइओ नवल जिएमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बार्षिकोत्सवका अवसरमा विद्यालयका प्रिन्सीपल मानसिंह घर्तीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय प्रिन्सीपल मानसिंह घर्तीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक शोभाकर पन्थीले गरेका थिए । बार्षिकोत्सवका अवसरमा उत्कृष्ठ हुने शिक्षक, विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, नाटक प्रस्तुतसँगै विज्ञान तथा चित्रकला प्रदर्शनी गरेका थिए ।