Ad Area

साताैँ मेयर कप फुटबल लिग समिकरण पूरा, क्वाटर फाईनल खेल्ने ८ टीमको टुंगो


घोराही, १६ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार लिग चरणका सबै खेल सकिएसँगै लिग समिकरण पूरा भएको छ ।

घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार लिग चरणका अन्तिम दुई खेल सकिएसँगै क्वाटर फाईनल खेल्ने आठ टीमको टुंगो लागेको आयोजकले जनाएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत वडा नम्बर २, ३, ६, १३, १४, १५, १६ र १८ अन्तिम आठमा प्रवेश गरेका छन् । यसअघि ७ टीमको टुंगो लागेपनि वडा नम्बर १ र १६ को समान ७ अंक भएपछि नेट अंकका आधारमा समुह उपविजेता हुँदै वडा नम्बर १६ अन्तिम आठमा प्रवेश गरेको हो ।

मंगलबार लिग चरणको अन्तिम खेलमा वडा नम्बर १ र ११ बीचको नतिजा अनुसार क्वाटरफाईनल खेल्ने अन्तिम टीमको टुंगो लगाउनुपर्ने अवस्थामा वडा नम्बर १ ले उक्त खेलमा ३ अंक पाउँदै लिग चरणमा कुल ७ अंक जोडेपनि वडा नम्बर १६ सँगको समान अंकमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

वडा नम्बर ११ लिग चरणको अन्तिम खेलमा सहभागी नभएपछि वडा नम्बर १ ले ३ अंक पाउँदै कुल ७ अंक जोडेपनि समान अंक रहेको वडा नम्बर १६ को नेट अंक राम्रो रहेकाले क्वाटर फाईनलमा पुगेको हो ।

लिग चरणको अन्तिम खेलमा सहभागी नभएको वडा नम्बर ११ लाई नियम अनुसार कारवाही हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

यसअघि लिग चरणको ३१ औँ खेलमा समुह डी मा रहेका साविक विजेतासमेत रहेको वडा नम्बर १७ र ८ बीच भएको खेलमा वडा नम्बर १७ ले ५–० गोलको जीत निकालेको छ । लिग चरणबाट बाहिरिसकेका दुवै टीमले मंगलबारको खेल प्रतिष्ठाका लागि रह्यो । वडा नम्बर १७ का लागि हेमन्त बिकले २ गोल गर्दा चित्रबहादुर जिएम, अस्विन बिक र सौरभ चौधरीले १–१ गोल गरे ।

पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको प्रतियोगितामा समुह ए बाट वडा नम्बर १, ७ र ११, समुह बी बाट वडा नम्बर १२, १९, समुह सी बाट वडा नम्बर ५, १० तथा समुह डी बाट वडा नम्बर ४, ८, र १७ लिग चरणबाट बाहिरिएका छन् । जारी प्रतियोगितामा लिग चरणका ३२ खेल सकिँदा कुल १ सय ५२ गोल भएको छ । लिग चरणको समिकरण पूरा हुँदा वडा नम्बर ४ र १९ जीत विहीन बने ।

अब आठ टीम बीचको क्वाटर फाईनल खेल पुस १८ र १९ गते हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार पहिलो क्वाटर फाईनल बिहान साढे ११ बजे समुह ए को विजेता वडा नम्बर ६ र समुह सी को उपविजेता वडा नम्बर २ बीच सेमिफाईनल प्रवेशका लागि खेल हुनेछ । सोही दिन दिउँसो साढे २ बजेपछि दोस्रो क्वाटर फाईनल समुह बी को विजेता वडा नम्बर १८ र समुह डी को उपविजेता वडा नम्बर १३ बीच अन्तिम चारका लागि प्रतिष्पर्धा हुनेछ ।

यसैगरी, तेस्रो क्वाटर फाईनलमा समुह सी को विजेता वडा नम्बर १४ र समुह ए को उपविजेता वडा नम्बर १६ बीच बिहान साढे ११ बजे खेल हुनेछ । सोही दिन क्वाटर फाईनलको चौथो खेल समुह डी को विजेता वडा नम्बर १५ र समुह बी को उपविजेता वडा नम्बर ३ बीच अन्तिम चारमा प्रवेशका लागि साढे २ बजे खेल हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।