Ad Area

राम्रो विचारलाई सम्मान गर्न सिकौंं


भुवन केसी
हामी आफैले आफैलाई म ठूलो हुँ भनेर ठूलो हुँदैन । हुनत यहाँ हरेके मान्छेका आ–आफ्ना छुटाछुटै धारण विचार र दृष्टिकोणहरु छन् । हामी मान्छेहरु भिन्न भिन्न स्वभावका कारण नै सृष्टिका अन्य प्राणी भन्दा पृथक भएका हौँ । वोट विरुवा तथा पशुपंक्षीहरु प्रकृतीको नियम अनुसार चल्छन भने मान्छेले प्रकृतीको नियम समेत उलंघन गरेर चल्ने गरेका कारण आफैलाई नियमन गर्न, विभिन्न कानूनहरु बनाएको छ । मान्छेले स्वभाव अनुसार व्यवहार गर्ने गर्दछ । मान्छेले स्वभाव अनुसारको कर्म गरिरहेका छन् । कहिले काही सीमा नाघेर गरिने कर्मलाई कानूनले नियमन गर्दछ । कोही आफैले आफैलाई म ठूलो हुँ भनेर ठूलो हुँदैन ।

आज हामी यस्तो संसारमा छौं जहाँका धेरै मान्छेहरुमा स्वार्थ, अहमता र घमण्ड छ। होला केही थोरै मान्छेमा वासेवाको भावना त्यो फरक पाटो हो । तर मैले त्यस्ता बिरलै मान्छे भेटेको छु । जसमा निस्वार्थ सेवाको भावना छ । मलाई लाग्छ यहाँ जेजे नाटक भएका छन्, यी सब आफ्नो स्वार्थ पुरा गर्नेलाई मात्रै केही गरिरहेका जस्ता देखिन्छ ।नत्र एकपटक छातीमा हात राखेर म अथार्त हामीभित्र कोही कसैप्रति केही स्वार्थ छैन भन्ने आट कोहिसँग हामीले यस्तो सोच राख्छौं कि अर्को कुनै फरक इच्छा, चाहना, बानी, व्यवहार र फरक स्वाभाव भएको मान्छे पनि आफू जस्तै र आफुले सोचेको जस्तो भइदिओस् । उसको आफ्नो इच्छा, चाहनालाई सजिलैसँग बेवास्ता गरिदिन्छौ । उसलाई आफू अनुकूल र आफ्नो जस्तै बनाउन खोज्छौ । आफ्नो विचार धारणलाई उच्च ठान्छौ र अरुको विचार धारणलाई सामान गर्न जान्दैनौ, सक्दैनौं र गर्दैनौँ । आफ्नो समस्यालाई मात्रै समस्या मान्छौ अरुलाई केही समस्या छैनन् र पर्दैन जस्तो व्यवहार देखाउछौँ ।

आफ्नो चाहाना अनुसारको व्यवहार गरिदेओस् आफुले भनेको जस्तो काम गरिदेओस् र मेरो विचार धारणालाई सम्मान गरिदिओस् भन्ने चाहाना राख्छौं तर अरुको विचार धारण र दृष्टिकोणलाई पनि सम्मान गरौँ । अरुका गुनासो र समस्यालाई पनि सम्बोधन गरौं भन्ने कुरा कहिल्यै पनि बुझ्दैनौँ । यो जगतमा आफ्नाहरू निकै कम हुन्छन् यो हामी धेरैलाई थाहा भएकै कुरा हो । केही समय केही मानिसहरु आफ्ना जस्ता देखिनु यो संयोग मात्र हो । जस्तो लाग्छ मलाई, कोही सधै आफ्ना जस्ता हुन्छन् भने त्यो त झन् राम्रो पक्ष हो । आफ्नाहरू त ती हुन, जो हाम्रो हरेक परिस्थितिलाई बुझिदिन्छ्न । हामीसँग झगडा गर्छन्, रिसाउँछन् र कहिले काहीँ बोल्न नै छोड्छन् तर पनि कसैसँग हाम्रो नराम्रो कुरा गर्दैनन् । र कसैले गरिहाले भने पनि खुलेर प्रतिवाद गर्छन् ।

फलतः मान्छेको स्वभावलाई जन्मे हुर्केको गाउँपरिवेश, गाउँपरिवेशको संस्कार, संस्कृति, रहनसहन, चाल, चलचलन बोली व्यवहार आदी कुराहरूले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यही फरक फरक संस्कार संस्कृति भएकै कारण होला नेपाललाई विभिन्न जातजाति भाषाभाषिको देश पनि भन्ने गरिन्छ । पूर्वमेचि होस् वा पश्चिम महाकाली । देशका जुनसुकै कुनामा बस्ने मान्छे हुन्, सबैको आ–आफ्नै पहिचान छ । त्यसैले त हामी सबैको सोचाइ र बुझाई पनि आ–आफ्नै छ ।

कोही कसैको सरकारी जागिरे भएर देशको सेवा गर्ने होला । कोहीको नेता भएर समाज सेवा गर्ने होला । कसको गरिब दुखीलाई सरसहयोग गरी प्रतिष्ठा कमाउने होला, कोही कसैको अरुको रिस, डाहा गर्ने, कुभलो चाहाने, अरुको मजाक उडाउने होला । मान्छेहरुको स्वभाव कस्तो होला भनेर थाहा पाउन उसले गर्ने कार्य, देखाउने क्रिया अर्थात व्यवहारमा भर पर्दछ । मान्छेहरुका स्वभाव कस्ता हुन्छन् भनेर चिन्न वा थाहा पाउनको लागि उसको व्यवहार र कामको अध्ययन गर्न जरुरी हुन्छ । बिना संगत मान्छेको व्यवहार बुझ्न कठिन हुन्छ । किनभने संगत गरेका धेरैको व्यवहार त परिवर्तन हुन्छ । अहिले मान्छेका काम ,कार्य र गतिविधि हेर्दा, देख्दा र सुन्दा यस्तो लाग्छ कि मान्छेमा स्वार्थ नै स्वार्थको महासागर छ ।

मान्छेमा अहमता र घमण्ड बाहेक अरु केही छैन । जसरी हुन्छ आफुलाई सही र अरुलाई गलत बनाउनु छ। आफुलाई माथि र अरुलाई तल पार्ने प्रविधिको हाबी भएको देखिन्छ । मान्छेहरुले यो सोचिरहेका छन् कि जसरी हुन्छ पैसा कमाउने उनीहरुलाई यो थाहा छैन कि पैसा अनि बैँस जिन्दगी भर रहँदैन, खासमा भन्ने हो भने पैसा अनि बैँस भन्ने कुरा सधै रहँदैन यी अस्थायी चिज मात्रै हुन् । खास सत्य त जन्म अनि मृत्यु मात्रै हो ।

त्यसैले बाचुन्जेल अहम घमण्ड होइन नम्र भएर बाचाँै अनि हासौँ र रमाउ । यती बिघ्न डाहा, रिस पनि नगरौ कि कसैसँग पछि गएर बोल्नको लागि कुनै बहाना खोज्न नपरोस् । भनिन्छ नि घोच्ने काँडाहरुभन्दा खतरनाक हुन्छन बोलीने बचन, त्यसैले बोल्नुभन्दा अगाडि सोच्न जरुरी छ । एउटा भनाई छ नि देखिने घाउभन्दा नदेखिने घाउको पीडा धेरै हुन्छ । कहिले काही मनमा पीडा हुँदा नि हास्नु पर्ने हुन्छ किनभने आजका मान्छे अरुको पीडामा पनि हास्न बाध्य बनाएका हुन्छन् ।

अरुको दुःखलाई मजाक सम्झेर हाँसिरहेका हुन्छन् । बोलीमा मिठास हुन्छ भित्रको कुरा कसलाई के थाहा हुन्छ जब मन कालो भएपछि । त्यसैले भनिन्छ एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा उत्कृष्ट हुन्छ । त्यसैले गहिरिएर सोचौं जिन्दगीमा हमेशा यस्तो मान्छे छानौ जसको मन अनुहारभन्दा बढी राम्रो होस् । अरुको कुरामा विश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गरौँ ।
त्यसैले यी नकारात्मक सोच भएका मानिसबाट टाढै बसौं । सबै प्रति मायाँ र सम्मान ब्यवहार देखाऔं । अरुले मानिस जस्तो गर्छन् त्यस्तै रुपमा स्वीकार गरौं । अरुलाई प्रोत्साहित र उत्साहित बनाऔं । अरुको निम्ति केही न केही सानै भए पनि सहयोग गरिदिनुस् । सधै इमान्दार बनौँ ।

आफ्नो अपूर्णाता मै पूर्णाता खोजौं । मानिसलाई क्षमा दिन सिकौं । आफुसँग सम्बन्धित सबैसँग सम्पर्कमा रहौं । आफ्नो बाचा निभाऔं, अनि सत्य बोकौं । अरुबाट तपाईं जे चाहनुहुन्छ त्यो अरुलाई पनि दिनुस् । काम अनुसारको कुरा गरांै, कुरा अनुसारको काम गरौं । अरुलाई आफ्नै मौलिक निर्णय लिन सहयोग गरौं, आफ्नो निर्णय नलादांै । थोरै बोलांै, धेरै सुनौं ।मुर्खहसँग कहिल्यै तर्क नगरौं । आफ्नो बाचा अनि सम्बन्धलाई इमानदारीपूर्वक निभाऔं को साँचो कुन क्षणिक मित्र हो त्यो छुट्टयाऔं र सोही अनुसार व्यवहार गरौं । कसैलाई पनि तुच्छ गाली गलौज वा अपमान नगरौं, सकेसम्म सफलताको लागि एकलै लडौं । अन्तिम एउटा भनाइ छ नि ताली बजाउने भिडमा औला उठाउने पनि हुन्छन् त्यसैले जे सही लाग्छ त्यो गर्नुपर्छ । त्यसैले यी मेरा मनमा उब्जिएका व्यक्ति विचार मात्रै हुन मैले कसैप्रति लक्षित गरेर लेखेको होइन कोही कसैसँग मिल्न गएमा क्षमाप्रार्थी छु । धन्यवाद ।