घोराही मेयर कप फुटबलकाे सेमिफाइनलमा वडा नं. ६ र १३ तथा १४ र १५ खेल्ने
![](https://samanantar.com/wp-content/uploads/2025/01/b77183b4-9dfb-4108-a692-9afefd066ca5-900x450.jpg)
घोराही, १९ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाईनलमा वडा नम्बर ६, १३, १४ र १५ प्रवेश गरेका छन्. ।
घोराही १८ नवलपुर फुटबल मैदानमा भएको शुक्रबार भएको तेस्रो क्वाटर फाईनल खेलमा वडा नम्बर १४ ले वडा नम्बर १६ लाई ६–२ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । वडा नम्बर १६ ले २–० को अग्रता जोगाउन नसक्दा क्वाटरफाईनलबाट बाहिरिएको छ । पहिलो हाफ २–२ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा वडा नम्बर १४ ले ४ गोल गर्दै ६–२ को नतिजा निकालेर सेमिफाईनल प्रवेश गरेको हो ।
वडा नम्बर १४ का लागि जयानन्द नेपालीले २ गोल गर्दा अविनाश नेपाली र सुजन चौधरीले १–१ गोल गरे । वडा नम्बर १६ का लागि रिक्की पुन र कमल डाँगीले १–१ गोल गरे ।
यसैगरी, क्वाटर फाईनलको अन्तिम खेलमा वडा नम्बर १५ ले वडा नम्बर ३ लाई ४–१ गोल अन्तरले हराएको छ । वडा नम्बर १५ का लागि सुशील बानियाले २ गोल गर्दा सविन वली र बादल योगीले १–१ गोल गरे । वडा नम्बर ३ का लागि स्काई घर्तीले १ गोल गरे ।
क्वाटर फाईनलका दुई खेल सकिएसँगै सेमिफाईनल समीकरण पूरा भएको हो । यसअघि वडा नम्बर ६ ले वडा नम्बर २ लाई र वडा नम्बर १३ ले १८ लाई हराउँदै सेमिफाईनल प्रवेश गरेका हुन् ।
वडा नम्बर १४ र १६ बीच भएको क्वाटरफाईनलमा पहिलो हाफ २–२ गोलको बराबरी हुँदा खेल निकै रोचक बनेको थियो । खेलको शुरुवातमा वडा नम्बर १६ ले २–० को अग्रता जोगाउन नसक्दा हार व्यहोर्याे ।
खेलको पाँचौं मिनेटमा वडा नम्बर १६ का रिक्कि पुनले गोल गर्दै अग्रता दिलाए । त्यसको १६ मिनेटमा वडा नम्बर १६ का कमल डाँगीले फेरि अर्काे गोल थपे । २–० ले पछि परेको अवस्थामा रहेको वडा नम्बर १४ ले त्यसपछिको खेल आफ्नो नियन्त्रणमा लिँदै ६–२ को नतिजा निकाल्यो ।
पहिलो हाफको २० मिनेटमा जयानन्द नेपालीले गोल गर्दै वडा नम्बर १४ लाई खेलमा फर्काए । पहिलो हाफको अतिरिक्त समयमा जयान्द नेपालीको असिस्टमा अविनाश नेपालीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । दोस्रो हाफको खेल भने वडा नम्बर १४ ले आफ्नो नियन्त्रणमा राख्यो । कमजोर रक्षा पंक्तिलाईनको फाईदा उठाउँदै वडा नम्बर १४ ले थप ४ गोल गर्याे ।
दोस्रो हाफको २ मिनेटमा डिफेन्स लाईनको तालमेल नमिल्दा सुजन चौधरीले प्रहार गरेको सामान्य बल पनि गोलपोष्टको दायाँ बार च्याप्दै गोल भयो । दोस्रो हाफको १३ मिनेटमा डि बक्स भन्दा बाहिर वडा नम्बर १६ का खेलाडीले फल गरेपछि पाएको फ्रि किकको मौका वडा नम्बर १४ का जयानन्द नेपालीले गोलमा परिणत गरे । ६ जना बार लागेका विपक्षी खेलाडीलाई पाखा लगाउँदै प्रहार गरेको बल माथिको बारमा लागेर जाली चुम्यो ।
त्यसपछिको अतिरिक्त समयमा लगातार दुई गोल भयो । डिफेन्स लाईनमा रहेका खेलाडीले बल क्लियर गर्न नसक्दा दुवै गोल वडा नम्बर १४ का संगम चौधरीले ९ मिनेटको समयमा दुई गोल गरे । ६–२ गोलको जीत निकालेको वडा नम्बर १४ सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम बनेको छ ।
यसैगरी, चौथो क्वाटरफाइनलमा वडा नम्बर १५ ले गत संस्करणमा व्यहोरेको हारको बदला लिँदै वडा नम्बर ३ लाई हराएर सेमिफाईनल प्रवेश गरेको छ । पहिलो हाफको १३ मिनेटमा वडा नम्बर १५ का सुशील बानियाँले डि एरियामा विपक्षी रक्षापंक्तिका खेलाडीलाई क्लियर गर्दै गोल गरे ।
त्यसपछि १८ मिनेटमा वडा नम्बर ३ ले पाएको फ्रि किकलाई सदुपयोग गर्दै गोल गर्याे । २५ यार्डको दुरीबाट गरेको प्रहार गोलकिपरले नियन्त्रणमा लिन नसक्दा रिबाउण्ड भएको बललाई वडा नम्बर ३ का खेलाडी स्काई घर्तीले गोलमा गर्दै १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफको ४३ मिनेटमा वडा नम्बर ३ का खेलाडीले फल गरेपछि गोलपोष्ट भन्दा करिव ३० यार्डको दुरीबाट पाएको फ्रि किकमा वडा नम्बर १५ का सविन वलीले गरेको प्रहार दायाँ बार च्याप्दै जाली चुम्दा नतिजा २–१ को स्थितिमा पुग्यो ।
दोस्रो हाफको १६ मिनेटमा मैदानको मध्य भागबाट आएको एअर बल वडा नम्बर ३ का खेलाडीले हेड मार्फत फर्काउन खोज्दा मिस भएपछि वडा नम्बर १५ का सुशील बानियाले सहजै गोल गरे । ९० मिनेटपछिको अतिरिक्त समयमा विपक्षी खेलाडीले डि एरिया नजिकै आएको बल क्लियर गर्न खोज्दा वडा नम्बर १५ का बादल योगीले बल नियन्त्रणमा लिँदै गोलपोष्टको दायाँ कुनाबाट गोल गरे ।
घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत अब वडा नम्बर ६ र १३ बीच पुस २१ गते बिहान साढे ११ बजे पहिलो सेमिफाईनल खेल हुनेछ भने दोस्रो सेमिफाईनल दिउँसो साढे २ बजे वडा नम्बर १४ र १५ बीच हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।
पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको प्रतियोगितामा ३६ खेल सकिँदा कुल १ सय ६९ गोल भएको छ ।
पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले जितेको थियो ।