Ad Area

निशुल्क बुटिक तालिम पाउँदा महिला उत्साहित


घोराही, २२ पुस । दाङ महिला जेसीजले महिलाहरुका लागि सीपमुलक तालिम स्वरुप बुटिकको तालिम दिन थालेको छ । दाङ महिला जेसीजले घरेलु तथा साना उद्योग कार्यालयसँगको सहयोगमा महिलाहरुका लागि सीपमा आधारित आयमुलक बुटिक सम्बन्धी तालिम दिन थालेपछि महिलाहरु निकै उत्साहित भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ की अन्जना मल्लले बुटिक सम्बन्धि तालिम लिएर उद्यमी बन्ने अवसरलाई सही रुपमा उपयाग गर्ने बताउनुभयो । दाङ महिला जेसीजले घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा उहाँ जस्तै महिलाहरुका लागि सोमबारदेखि ४५ दिने बुटिक तालिम निशुल्क रुपमा आयोजना गरेपछि अवसरको फाइदा लिईरहनु भएको छ ।

४५ दिने बुटिक तालिमको दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यमा भएको हो ।

तालिम उदघाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री तथा सांसद खनालले साना तथा लघु उद्यममार्फत स्थानीय स्तरबाट पनि समृद्धि हासिल गर्न सकिन्छ भनेर सरकारले अघि सारेको सीपमा आधारित तालिम लिएकाहरुले व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।

सरकारले जनताको समृद्धिका लागि ल्याएका कार्यक्रम प्रभावकारी बनाउन सबैले भुमिका खेल्न आवश्यक रहेको उहाँको भनाई थियो । हातमा सिप भएर मानिसले कहिले पनि धोका नपाउने भन्दै बुटिकको तालिम लिएर आत्मनिर्भर बन्न उहाँले प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

दाङ महिला जेसीजको लक्ष्य र उद्देश्य अनुसार हरेक महिलाको व्यक्तित्व र नेतृत्व विकासमा सक्षम बन्न सकुन् भनेर सीपमा आधारित तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयास गरिएको छ । अहिले घोराहीका विभिन्न वडाबाट २४ जनाले बुटिक सम्बन्धी तालिम लिएर भोलिका दिनमा यसलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेका छन् ।

महिला जेसीजको कार्यालयमा बजार माग र महिलाहरुको सीपको आवश्यकतालाई ध्यानमा राखेर बुटिक तालिम प्रदान गर्न लागिएको दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत एवम् सूचना अधिकारी गोपाल पौडेलले युवा लक्षित थुप्रै सीपमा आधारित तालिम दिने काम गर्दै आएको बताउनुभयो । उहाँले विगतमा जिल्लाका विभिन्न ठाउँमा संघसंस्थाहरुसँगको समन्वयनमा आयोजित तालिममा सहभागीता जनाएकाहरुको अवस्था बारे जानकारी लिने काम पनि भईरहेको बताउनुभयो ।

आयआर्जनमा आधारित सीप मुलक तालिममा पछिल्लो समय पुरुषभन्दा महिलाको उपस्थिती राम्रो छ । बुटिकको बजार माग पनि राम्रो छ । बुटिक कलालाई राम्रो फिनिसिङ दिन सक्ने हो भने घरमै बसेर पनि महिनामा मनग्गे कमाई गर्न सकिन्छ ।

बुटिक तालिमका प्रशिक्षक सरिता पुन र निलम अधिकारीले बुटिकको बजार माग निकै राम्रो रहेको बताउनुभयो । बुटिक तालिमलाई साँच्चै व्यवहारमा उतार्न सके कोहीले पनि आर्थिक समस्या झेल्न नपर्ने बताउनुभयो ।

सो अवसरमा त्रिभुवन नगरजेसीजका अध्यक्ष टंकबहादुर रावत अनन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नुभएको थियो ।