Ad Area

दाङमा बढ्दै साहसिक पर्यटनमा आकर्षण


दाङ, २३ पुस । दाङमा जीपलाइन र साइक्लिङप्रति आकर्षण बढ्दै गएको छ । साहसिक खेलका रूपमा लिइने जीपलाइन र साइक्लिङप्रति आकर्षण बढ्दा लगानी समेत थपिँदै गएको हो । जिल्लाका निर्माण भएका तीन जीपलाइन र साइक्लिङमा करिव दुई करोड ९२ लाख लगानी भएको छ । दाङमा सुरुमा गत जेठमा गढवा गाउँपालिका–८ कोइलाबासमा वडा कार्यालयले २७ लाखको लगानीमा साइक्लिङ सञ्चालनमा ल्याएको थियो ।

नेपाल–भारत सीमा अन्तर्गत जिल्लाको मुख्य नाकाका रूपमा रहेको कोइलाबासमा भारतीय पर्यटकलाई आकर्षण गर्ने गरी साइक्लिङ सञ्चालनमा ल्याइएको गढवा गाउँपालिका–८ का अध्यक्ष अब्दुल खालिक सिद्दिकीले बताएका छन् । उनका अनुसार स्काइ साइक्लिङ ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको छ । प्रचारप्रसार बढ्दै जाँदा नेपाल तथा भारतबाट साइक्लिङप्रति रहर गर्ने पर्यटक बढ्दै गएको बताए । उनका अनुसार महिनामा १५÷३० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ । साइक्लिङका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सार्वजनिक बिदाका दिन भिड लग्ने गरेको बताए ।

कोइलाबाससँगै जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा जीपलाइन सञ्चालनमा आएको छ । छिल्लीकोटको विकास र विस्तारसँगै जिल्लामा पर्यटकलाई नयाँपन दिन करिब एक करोड ६५ लाखको लागतमा जीपलाइन सञ्चालनमा ल्याइएको छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिका सञ्चालक शिव श्रेष्ठले बताए । जीपलाइन एक हजार एक सय मिटर लामो दुरीमा छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३२ डिग्री एलिभेसनमा रहेको छ । सञ्चालक श्रेष्ठका अनुसार आपूmसँगै दुईजना युवा मिलेर जीपलाइन सञ्चालनमा ल्याएका हुन् । जीपलाइन सुरु भएसँगै साहसिक पर्यटनमा रम्न चाहने आन्तरिक पर्यटकको छिल्लीकोटमा वृद्धि हुने विश्वास गरिएको छ ।

जीपलाइनको साहसिक यात्रामा रमाउन चाहने पर्यटकका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने विद्यार्थी र कर्मचारीलाई भने परिचयपत्रका आधारमा तोकिएको टिकेट शुल्कमा १० प्रतिशत छुट दिने भएको छ । प्रत्येक टिकट बिक्रीबाट स्थानीय भुल्के सामुदायिक वन उपभोक्ता समितिलाई पाँच प्रतिशत र कालिका मालिका मन्दिर व्यवस्थापन समितिलाई पाँच प्रतिशत रकम दिने सम्झौता भएको सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार २० वर्षका लागि जीपलाइन सञ्चालन गर्ने गरी भुल्के सामुदायिक वनसँग सम्झौता भएको अर्का सञ्चालक श्रीधर न्यौपानेले बताए ।

यसैगरी घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन र साइक्लिङ सञ्चालनमा आउने तयारीमा रहेको छ । घोराही–१८ रझेना निवासी सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोटमा जीपलाइन तथा साइक्लिङ परीक्षणका क्रममा रहेको बताए । घोराही बजारदेखि नजिकै रहेको घोरादौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक गौतमले बताए ।

जीपलाइन सञ्चालनको काम अन्तिम चरणमा पुगेको भन्दै सञ्चालक गौतमले भने, ‘जीपलाइन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ, अबको केही समयपछि पूर्णरूपमा सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’ साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने अनुमान गरिएको छ । स्काई साइक्लिङ एक सय ५५ मिटर लामो रहनेछ । घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनका लागि हालसम्म एक करोड बढी लगानी भएको सञ्चालक गौतमले बताए । जीपलाइनका लागि एक हजार आठ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।