सखरखण्ड खेतीबाट आम्दानी
दाङ, २५ पुस । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त छन् । लमही नगरपालिका–७ गिधनिया स्थित राप्ती नदीले बगर बनाइदिएको करिब डेढबिघा जमिनमा सखरखण्ड खेती गरेका यादव माघेसङ्क्रान्तिमा बिक्री गर्नका लागि खन्न थालेको बताउँछन् ।
माघेसङ्क्रान्तिमा सखरखण्डको महत्वसँगै मूल्य समेत महँगो हुने भएकाले कामदार लगाएर सखरखण्ड खनिरहेको यादवले बताए । सिजनमा व्यवसायीले मागेको समयमा आफ्नो उत्पादन दिनसके रोपेको ठाउँबाटै बिक्री हुने गरेको भन्दै यादवले भने, ‘सखरखण्डको समय भनेको यही हो, अहिले बिक्री गरेर राम्रो आम्दानी हुन्छ ।’ डेढदेखि दुई बिघा जमिनमा सय क्विन्टल सखरखण्ड उत्पादन गर्ने लक्ष्य लिएका यादवले सिजनमा बिक्री गरेर दुई लाख ५० हजारसम्म आम्दानी गर्ने सोच रहेको बताउँछन् ।
प्रतिकिलो ४५÷५० रुपैयाँका दरले खेतबारीबाटै सखरखण्ड बिक्री भइरहेको भन्दै किसान यादवले सिजनमा चार लाख बढीको बिक्री गर्ने र सबै खर्च कटाएर दुई लाख ५० हजारसम्म बचत गर्ने आशा रहेको बताए । बोटमा किरा लागेर गतवर्ष उत्पादन घट्दा डेढलाख रुपैयाँ आम्दानी गरेको भन्दै यादवले अहिले राम्रो फल लागेकाले आम्दानी बढ्ने भन्दै भने, ‘गएको वर्ष बोटमा किरा लाग्दा राम्रो उत्पादन हुन सकेन । अहिले राम्रो फल लागेको छ, उत्पादन बढ्ने आशा छ ।’ परिवारको मुख्य आम्दानीको स्रोत भएको भन्दै यादवले समयमै उत्पादन तयार गर्नसके सखरखण्ड घोराही, तुलसीपुरका व्यवसायी खेतवारीमै आएर लाग्ने गरेको बताए ।
यादव जस्तै लमही नगरपालिका–७ गिधनिया निवासी गीता चौधरीले दुई बिगाह जग्गामा व्यावसायिक सखरखण्ड खेती गरेकी छिन् । अन्य कृषिवालीको तुलनामा कम मिहिनेतमै बढी आम्दानी हुने र बिक्रीका लागि समस्या नहुने भएकाले अन्य खेती छोडेर सखरखण्डको खेतीमा लागेको भन्दै चौधरीले करिब दुई लाख मूल्य बराबरको बिक्री भइरहेको बताइन् । चौधरीले दाङका घोराही र तुलसीपुरसँगै नेपालगन्जको व्यवसायीलाई सखरखण्ड बिक्री गरेको बताइन् । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा घोराही, तुलसीपुरका व्यवसायीसँगै जिल्ला बाहिरका व्यवसायी खरिदका लागि गाउँमै आउने भएकाले बिक्रीमा समस्या नभएको बताउँछन् । अहिलेसम्म सखरखण्डको बिक्री समस्या नभएको भन्दै चौधरीले भनिन्, ‘दाङमा धेरै खेती नहुने भएकाले होला बिक्रीमा समस्या हुँदैन तर थोरै खेतीबाट धेरै आम्दानी भइरहेको छ ।’
तीन जनाको सानो परिवारका कारण आपूmले खेतबारी जोत्नेदेखि उत्पादन लिनेसम्म कामदार लगाएर सखरखण्ड खेती गर्ने सबै कटाएर एकदेखि डेढलाख रुपैयाँसम्म बचत गर्ने गरेको बताइन् । चौधरीका अनुसार करिब ७० देखि ८०÷९० क्विन्टल बिक्री गर्ने गरेको बताइन् । चौधरीका अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकाका करिब ४०÷५० घरपरिवारले सखरखण्ड गर्ने गरेको बताइन् । उनका अनुसार किसानले सिजनमा कम्तिमा एक लाखदेखि चारपाँच लाखसम्म आम्दानी लिने गरेका छन् ।
छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएकाले देउखुरी क्षेत्रका किसान सखरखण्ड खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । खास गरी माघेसङ्क्रान्तिमा तराईसँगै पहाडी जिल्लामा अन्त्य माग हुने भएकाले जिल्लाको उत्पादन बाहिरी जिल्लाजाने गरेको छ । किसानका अनुसार किसानले साउनदेखि भदौ महिनाको पहिलो सातासम्म रोप्ने र पुसमा आम्दानी लिने गर्दछन् ।