Ad Area

प्रधानमन्त्री कप प्रदेश स्तरीय महिला छनोट प्रतियोगिता पुस २५ देखि लमहीमा हुने


घोराही, २३ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा यही पुस २५ गतेदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा टी–२० छनोट प्रतियोगिता हुन लागेको हो ।

दुई समुहमा विभाजन गरी खेलाईने प्रतियोगिताको उद्घाटन खेलमा पुस २५ गते बिहान दाङ र पाल्पाबीच प्रतिष्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवम् छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उक्त दिन दिउँसो नवलपरासी र बर्दिया बीच खेल हुनेछ । पुस २६ गते बाँके र पाल्पा बीच खेल हुँदा दिउँसो नवलपरासी र रुपन्देही बीच खेल हुने आयोजकले जनाएको छ । यसैगरी, पुस २७ गते दाङ र बाँके बीच बिहान खेल हुँदा दिउँसो रुपन्देही र बर्दिया बीच खेल हुने सचिव रोका मगरले बताउनुभयो ।

उहाँका अनुसार, पुस २८ गते समुह ए को विजेता र समुह बी को उपविजेता बीच बिहान पहिलो सेमिफाईनलको खेल हुनेछ भने दिउँसो समुह बी को विजेता र समुह ए को उपविजेता बीच दोस्रो सेमिफाईनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाईनल खेल पुस २९ गते हुने सचिव रोका मगरले जानकारी दिनुभयो ।

महिला क्रिकेट छनोट प्रतियोगितामा समुह ए मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समुह बी मा दाङ, बाँके र पाल्पा रहेका छन् । प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रंगशालामा तयारी तीव्र पारिएको छ । क्रिकेट मैदानको पीच मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ ।

क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट संघले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गर्ने बताईएको छ । छनोट प्रतियोगिताका लागि दाङ क्रिकेट संघले केही दिन अघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टीम घोषणा गरेको छ । लमहीमा हुने छनोट प्रतियोगिताबाट लुम्बिनी प्रदेशको टीम घोषणा हुनेछ ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।