Ad Area

एकताको सन्देश दिन दुधरास–छिल्लीकोट दौड


दुधरास, २८ पुस । छिल्लीकोटमा चौबिसे राजा मेघनाथ शाहले शासन गरेका थिए । यसैकारण नेपाली सेनाले यसलाई एक महत्वपूर्ण गढीका रूपमा स्वीकार गर्दै आएको छ ।

अघिल्लो वर्ष किल्ला गढी संरक्षण अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा मालिका मन्दिर पुग्न दुवैतर्फ रेलिङ सहितको सिढी र शौचालयसमेत निर्माण गरिदिएको नेपाली सेना १९ नम्बर बाहिनीले यो वर्ष दुधरास–छिल्लीकोट दौड कार्यक्रम आयोजना गरेको छ । तुलसीपुर उपमहानगरपालिकालाई आयोजक बनाएर यो दौड प्रतियोगिताको संयोजन नेपाली सेनाको १९ नं बाहिनी र घोराहीको तारादल गणले गरेका थिए ।

‘रन फर फन’ नाम दिएको दुधरास–छिल्लीकोट दौड प्रतियोगिता पनि राष्ट्रिय एकताका प्रतीक पृथ्वी जयन्ती र एकता दिवसकै अवसर पारेर आयोजना गरिएको नेपाली सेना १९ नं बाहिनीका प्रमुख सहायक रथी पदम बुढाले गोरक्षलाई बताए । ‘यो कुनै विशेष प्रतियोगिता होइन, एकता दिवसको स्मरणसँगै मनोरञ्जन दिनका लागि यो क्षेत्रको ऐतिहासिक पर्यटकीय क्षेत्र छिल्लीकोटसम्मको दौड प्रतियोगिताको आयोजना गरिएको हो’, सहायक रथी बुढाले बताए । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल, अनुशासनका लागि खेल अनि एकताका लागि खेल अपरिहार्य हुने भन्दै प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता सुरु हुनुअघि नेपाली सेनाकै सक्रियतामा तुलसीपुर उपमहानगरपालिका दुधसारमा खेलाडीका लागि स्वागत गेट समेत निर्माण गरिएको थियो । खेल प्रतियोगितामा नेपाली सेनाका जवान मात्र नभएर सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीको समेत सहभागिता रहेको थियो । नेपाली सेना १९ नं बाहिनीको समन्वय तुलसीपुर उपमहानगरपालिका र रणसिंह दल गणको संयुक्त आयोजनामा छिल्लीकोट दौड आयोजना गरिएको हो । प्रतियोगिताको शुभारम्भ गर्न तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल तथा निमित्त प्रहरी प्रमुख ईश्वर थापासहितको सहभागिता रहेको थियो ।

करिब १२ किलोमिटर दुरी रहेको सो दौड क्षेत्रमा मेडिकल टिम, एम्बुलेन्सको व्यवस्थापन गरिएको थियो । प्रतियोगिलाई स्वास्थ्योपचारसँगै पिउने पानीको व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले हरेक तीन किमीको क्षेत्रमा वाटर प्वाइन्टको व्यवस्थापन गरेको थियो । दौड प्रतियोगितामा कम्तिमा दुई सय जति प्रतियोगीको उत्साहजनक सहभागिता रहेको थियो । दौडमा प्रथम रामजी बस्नेत प्रमाणपत्रसहित २० हजार, द्वितीय विशालकुमार महत १५ हजार र तृतीय एकेन्द्र कार्कीलाई १० हजार र खगिसरा रावल सान्त्वना पुरस्कारले सम्मानित भएका थिए । तुलसीपुर १८ दुधरासदेखि छिल्लीकोटसम्म धावन दुरी १२ किलोमिटर रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख खड्काले छिल्लीकोट गढीकारूपमा रहेकाले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् गरिनुपर्ने बताए । उनले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवर्धनका लागि शाहसिक खेल जीपलाइन, होमस्टे सञ्चालनमा आएको र खानेपानी, विद्युत र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दौड प्रतियोगिताले खेलाडीमा उत्साहका साथै छिल्लीकोट प्रसारप्रचारमा टेवा पुगेको बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने अवसर दिलाएको बताए । विसं १५५० देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको इतिहास छ । छिल्लीकोटका अन्तिम राजा वीरभद्र शाह थिए । १५५० देखि १८४३ सम्म दुई सय ९३ वर्ष राज्य गरेको ऐतिहासिक तथ्य छन् । १८४३ कात्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले बिनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरी नेपालमा गाभिएको थियो ।