Ad Area

‘परिवर्तनका लागि नयाँ शक्ति’


घोराही, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशमा परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दाङको प्रथम जिल्ला भेलालाई शनिवार घोराहीमा सम्बोधन गर्दै उनले देश विकासका नारा लगाएर जनतामाथि झुटको खेती गर्नेहरूबाट सावधान रहँदा नयाँ शक्तिमाथि विश्वास गर्न आग्रह गरेका हुन् ।

अहिलेको जनताको माग र आवश्यकता एकातिर राखेर ठुला दलहरू निहितस्वार्थमा केन्द्रित हुँदा देशले निकाश पाउन नसकेको बताए । यसका लागि अब देशको व्यवस्था परिवर्तनमा भूमिका खेलेजस्तै नागरिकले चुनावका माध्यमबाट नेता परिवर्तनमा ध्यान दिनुपर्ने भन्दै सचेतक परियारले भने, ‘यहाँ कोही पनि अल्मलिनु पर्ने, डराउनुपर्ने केही पनि कुरा छैन ।’

उनले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको प्रहारलाई चिरेर अघि बढ्ने सङ्कल्प नेता कार्यकर्तामा हुनुपर्ने बताए । भेलालाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोविता गौतमले कसैले कसैलाई जितेर एक्लै कोही पनि अघि बढ्न नसक्ने हुँदा देश र समाज बदल्न सबै बदलिन जरुरी रहेको बताइन् । एउटा निर्वाचनमा गरिएको गल्ती सच्याउन पाँच वर्ष कुर्नुपर्ने भन्दै अब आउने निर्वाचनमा देश र जनताको हितमा काम गर्ने युवालाई अघि बढाउन विवेकको सही सदुपयोग गरेर मत दिन आग्रह गरेकी थिइन् ।

पछिल्लो राजनीतिक घटना क्रमबारे बोल्दै सांसद गौतमले आफ्नो पार्टी सभापति रवि लामिछानेले कसैको एक रुपैयाँ पनि नखाएको बताइन् । ‘हाम्रो पार्टी सभापति लामिछानेले कसैको एक रुपैयाँ पनि खानुभएको छैन । यो कुरा अदालतले भोलि प्रमाणित गर्नेछ’, उनले भनिन्, ‘उहाँ माथि गरिएको आरोप उहाँलाई राजनीतिमा आउन नदिने षड्यन्त्र हो ।’

प्रथम जिल्ला भेला आयोजक समितिले आयोजना गरेको कार्यक्रममा रास्वपा प्रदेश प्रमुख देवराज पाठक, केन्द्रीय विकास योजना तथा नीति तर्जुमा विभाग राष्ट्रिय सचिव विशाल अधिकारी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी, प्रदेश शिक्षा विभाग प्रमुख सुशील अधिकारीलगायतले बोलेका थिए ।

जिल्ला भेलाले अब नयाँ समिति बनाउँदै पूर्णता दिने बताइएको छ । जिल्लामा २१ सदस्यीय समिति रहने प्रावधान अनुसार शनिवारको भेलाले पाँच पदाधिकारी, चार सदस्य, पालिका सभापति पदेन सदस्य १० जना र दुई जना थप सदस्य चयन गर्नेछ । जिल्ला सभापति अर्जुनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर सचिव खेमराज भण्डारीले गरेका थिए ।