दाङमा खाद्यद्वारा ५५ लाख मूल्यको धान खरिद
दाङ, ५ माघ । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख बढी मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ देखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चार सय ६४ रुपैयाँ मूल्य बराबरको एक हजार छ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।
जिल्लामा आठ हजार क्विन्टल धान किसानसँग खरिद गर्ने लक्ष्य लिएको खाद्यले २० प्रतिशत अर्थात् एक हजार छ सय ३२ क्विन्टल १५ केजी मात्र धान खरिद गर्न सफल भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिएका छन् । कार्यालय प्रमुख सुनारका अनुसार खाद्यले जिल्लामा किसानसँग प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसाका दरले धान खरिद गरेको थियो । केन्द्रबाट ढिला गरी धान खरिदका लागि परिपत्र आउँदा लक्ष्यको निकै कम मात्र धान खरिद भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख सुनारले भने, ‘नियमित रूपमा प्रत्येक वर्ष खाद्यले धान खरिद गर्दै आएको भए समस्या आउने थिएन । धेरै वर्षपछि अहिले धान खरिद गर्दा किसानले विश्वास गर्नुभएन ।’
स्थानीय गल्ला व्यापारीभन्दा बढी मूल्य दिएर खाद्यले यो वर्ष किसानसँग धान खरिद गरेकाले आगामी वर्ष धान खरिदमा समस्या नआउने कार्यालय प्रमुख सुनार बताउँछन् । ‘खाद्यले धान खरिद गर्दैन होला भनेर किसानले पहिले नै धान बिक्री गरिसकेका थिए । हामीलाई पछि मात्र धान खरिदका लागि परिपत्र आयो’, कार्यालय प्रमुख सुनारले भने, ‘पछि धान खरिदका लागि किसानकोमा जाँदा किसानले धान बिक्री गरिसकेका रहेछन् ।’ कार्यालयका अनुसार यो वर्ष देउखुरीको गढवा र राजपुर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिकाबाट मात्र धान खरिद भएको बताए ।
अन्य स्थानीय तहबाट धान खरिदका लागि पटक–पटक आग्रह गरे पनि धान पाउन नसकेको कार्यालय प्रमुख सुनारले बताए । कार्यालयका अनुसार गढवा र राजपुर गाउँपालिकाबाट एक हजार छ सय २५ क्विन्टन र बाँकी धान तुलसीपुर उपमहानगरपालिकाबाट खरिद गरिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले तोकेको मूल्यमा प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसाका दरले किसानबाट धान खरिद गरेको थियो । खाद्यले धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण दुई प्रतिशतभन्दा कम, टुक्रेको (बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको मात्र खरिद गरेको थियो ।