लखन कप फुटबलमा माडीचौर रोल्पा विजयी

घोराही, २ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगिता–२०८१ मा माडीचौर फुटबल क्लब रोल्पाले विजयी शुरुवात गरेको छ ।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शुक्रबारदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा शुरु भएको खुल्ला नकआउट प्रतियोगितामा सल्यान फुटबल क्लवलाई ६–२ गोल अन्तरले हराउँदै माडीचाैर राेल्पाले विजयी शुरुवात गरेको हो । प्रतियोगितामा माडीचौर एफसीका प्रतिक घर्ती मगर प्लेयर अफ द म्याच हुनुभयो । प्रतियोगिताको उदघाटन नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष गंगा थापा मगरले गर्नुभयो ।
अब प्रतियोगिता अन्तरगत शनिबार युनाईटेड एफसी लालमटिया र युएफसी बीच दिउँसो खेल हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिनुभयो । दाङसहित सल्यान, रोल्पाका गरी कुल १८ टीमको सहभागीता रहेको प्रतियोगितामा कुल १५ वटा खेल हुने प्रतियोगिता संयोजक घर्तीले बताउनुभयो । फागुन १० गते फाईनल खेल हुने गरी खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताउनुभयो ।
शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितीय हुने टिमलाई पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार दिइने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।