घोराहीमा जारी लखन थापा कप फुटबलमा टरीगाउँ र नवलपुर विजयी

घोराही, ४ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगितामा आईतबार भएको खेलमा टरीगाउँ फुटबल क्लब र नवलपुर फुटबल एकेडेमी विजयी भएका छन् ।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी खुल्ला नकआउट प्रतियोगितामा टरीगाउँ फुटबल क्लबले घोराही फुटबल एकेडेमीलाई ५–१ गोलले तथा नवलपुर फुटबल एकेडेमीले बडहरा फुटबल क्लबलाई ३–० गोलले हराएको छ ।
दिउँसो १२ बजे भएको खेलमा टरीगाउँ फुटबल क्लबले घोराही फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले हराएको हो । टरीगाउँका लागि पहिलो हाफमा सागर जिबीले ८ मिनेटमा, सागर जिबीले २३ मिनेटमा र विशाल वलीले ३५ मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाउनुभयो । दोस्रो हाफमा टरीगाउँका भुवन नेपालीले १५ र २२ मिनेटमा थप दुई गोल गर्नुभयो । घोराही एफएका सन्दीप सुनारले दोस्रो हाफको ३६ मिनेटमा सान्त्वना गोल गर्नुभयो ।
यसैगरी, प्रतियोगिता अन्तरगत चौथो खेलमा नवलपुर फुटबल एकेडेमीले बडहरा फुटबल क्लबलाई ३–० गोलले हराएको छ । पहिलो हाफको १० मिनेटमा नवलपुरका विश्वास श्रेष्ठले गोल गर्दै अग्रता दिलाउनुभयो । नवलपुरका लागि मनोज सुनारले दोस्रो हाफको ३० मिनेट र सागर थारुले ३४ मिनेटमा गोल गर्नुभयो । हारसँगै घोराही फुटबल एकेडेमी र बडहरा फुटबल क्लब प्रतियाेगिताबाट बाहिरिएका छन् ।
यसअघि शनिबार भएको खेलमा युनाईटेड लालमटिया एफसीले युएफएलाई १०–१ गोल अन्तरले हराएको थियो । अब प्रतियोगिता अन्तरगत सोमबार दिउँसो १२ बजे सिएसए चौघेरा र टियुवाईसी रामपुर बीच तथा दिउँसो २ बजेपछि खोज रफ्तार र राईजिङ स्टारबीच खेल हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिनुभयो ।
दाङसहित सल्यान, रोल्पाका गरी कुल १८ टीमको सहभागीता रहेको प्रतियोगितामा कुल १५ वटा खेल हुने प्रतियोगिता संयोजक घर्तीले बताउनुभयो । फागुन १० गते फाईनल खेल हुने गरी खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले जनाउनुभयो ।
शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितीय हुने टिमलाई पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार दिइने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकको भनाई छ ।