Ad Area

स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सुनिता भन्छिन्, सरकार ! हामीलाई खेल्ने वातावरण मिलाई देऊ


घोराही, १९, मंसीर । भारतको दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ का बिजेता खेलाडी र उनका अभिभावकले राज्यले देशका लागि खेल्ने खेलाडीलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउँदै पदक जित्न सफल खेलाडीहरुलाई राज्यले संरक्षण गर्नुपर्नेमा वास्तासमेत नगरेको भन्दै दुखेसो पोखेका हुन् । दिल्लीमा भएको प्रतियोगितामा सहभागीहरुले ५ स्वर्णसहित ९ वटा पदक जितेर फर्किएका छन् । नेपाल–भारत मैत्री समाज दिल्लीको आयोजनामा मंसिरको ११ र १२ गते दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ मा घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडीले उत्कृष्ठ खेल प्रदर्शन गर्दै पाँच स्वर्ण, एक रजत र तीन काश्यसहित ९ पदक जित्न सफल भए । तर, आफ्नै लगानी र मेहनतमा यति ठूलो उपलब्धी लिएर फर्किएकाहरुलाई स्थानीय सरकार र राज्यले बेवास्ता गरेको दुखेसो उनीहरुको छ ।

अल्फा तेक्वान्दो डोजाङ, घोराहीको आयोजनामा भएको सम्मान कार्यक्रममा ‘सरकार देशका हरेक नागरिकको अभिभावक हो तर यहाँ देशको ईज्जत बढाउनेहरु नै अभिभावकको आँखा पर्न सकेनन्, हिजो गरेका वाचा र आश्वासन भुलेर खेलाडीलाई उपेक्षा गरियो, यसले खेलाडीको मनोबल कसरी माथि उठ्छ,’ स्वर्ण पदक विजेता खेलाडी सुनिता बिष्टले भनिन्, ‘हामीलाई अरु केही चाहिएको हैन, प्रशिक्षणका लागि राम्रो प्रबन्ध, खेलको वातावरण मिलाई दिनुस् मात्रै भनेका हौँ तर हामीले भन्ने, स्थानीय सरकारले सुन्ने बाहेक केही भएन ।’

देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी खेलाडीहरुले व्यक्तिगत लगानीमा विदेशमा गएर रगत पसिना बगाएर मेडल ल्याउँदा पनि किन ति सौतेलो व्यवहार हुन्छ ? उहाँको प्रश्न थियो । देशको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न खेलकुलका माध्यमबाट खाई नखाई दिनरमात नभनी सहभागी भएकाहरुको कम्तिमा आत्म सम्मानको वातावरण स्थानीय सरकारले मिलाउन सक्नुपर्ने उनको अपिल थियो । सुनिता खेलाडी मात्रै होईन सानै उमेरमै प्रशिक्षकको जिम्मेवारीमा पनि छिन् । कोचको अभावमा उनलाई आफु खेलाडी भएर खेल्नु परेको छ भने नयाँ प्रशिक्षार्थीका लागि प्रशिक्षक भएर प्रतिनिधित्व पनि गर्नुछ ।

सुनिताले छोटो समयको तयारीका बाबजुद पनि सबै खेलाडीको कडा मेहनत, लगनशीलता, अनुशासनले पदक जित्न सम्भव बताईन् । अभिभावकहरुको उत्साहपूर्ण हौसला, अग्रज कोचको नियमित उत्प्रेरणा र अटल विश्वासले लक्ष्य प्राप्ति गर्न सफल भएको उनको भनाई छ । उनले आगामी दिनमा सबैको हौसला र लगानी आवश्यक भएकाले सकारात्मक ढंगले तेक्वान्दोको विकासमा गम्भीर बनि दिन आग्रह गरिन् ।

उप्किएको प्लाई उडको भुई भाग देखाउँदै उनले भनिन्, ‘हामीले यहीँ कडा मेहनत गरेर यो उपलब्धी प्राप्त गरेका हौँ, हामीसँग खेल्नका लागि राम्रो पूर्वाधार छैन, खेल्दाखेर जति बेला पनि चोट पटक लाग्न सक्छ, यस्तो अवस्थाका बावजुद पनि हामीले हार मानेका छैनौँ, किनकी हामी लामो दौडका यात्री हौँ।’  खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रका लागि पनि हुने हुँदा खेलाडीको हौसलामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो । दोहोरो भूमिका पनि आफुले सक्दो व्यवस्थापन गरी छोटो समयमा गरेको तयारीबाट यति ठूलो उपलब्धी हासिल गर्न सफल भएको भन्दै सिंगो टीमलाई खेल अनुशासन प्रस्तुत गरी सफलता दिलाएकोमा धन्यवाद दिईन् ।

रजत पदक विजेता विरेन्द्र डाँगीले खेलकुदका माध्यमबाट आफुले किताबी शिक्षासँगै धेरै कुराको ज्ञान आर्जन गर्दै एक स्वस्थ नागरिक बन्न र अनुशासन सिक्न पाएको अनुभव सुनाए । खेलकुदमा लागेको छोटो समयमा आफुले धेरै कुरा सिक्न पाएको भन्दै यसले असल नागरिक बनाउन हौसला दिने बताए ।

खेलाडीका अभिभावक जगत विष्टले बालबालिकाहरुलाई उनीहरुको रुची अनुसारको क्षेत्रमा लाग्न अभिभावकहरुको हौसला अपरिहार्य रहेको बताउँछन् । बिष्ट स्वर्णधारी सुनिताका बुवा हुन् । बालबालिकाहरुको सर्वाङगीण विकासका लागि घरबाटै अनुशासन सिकाउँदै उनीहरुको भविष्यबारे सम्वेदनशील बन्न सक्नुपर्ने उनको आग्रह छ । तर, उनले खेलाडीहरुको विषयमा स्थानीय सरकारले चासो नलिएको भन्दै दुखेसो पोखे । पहुँच भएका, हुनेखाने वर्गका लागि आलीसान पूर्वाधार बनाउन लगानी गर्ने सरकारले देशका लागि मेडल ल्याउन विदेशमा गएर रगत पसिना बगाउने आफ्ना खेलाडीका पक्षमा सोँच्नुपर्ने धारणा उनको छ ।

खाई नखाई, सिमित पूर्वाधारमा आफ्नै बलबूतामा देशका लागि योगदान दिने खेलाडीहरु राष्ट्रका सम्पत्ति भएकाले आगामी दिनमा यस विषयमा स्थानीय सरकार, सम्वद्ध निकायले ध्यान दिनुपर्ने उनी सुझाउँछन् । प्रतियोगितामा सहभागी भई मेडल जित्नेहरु सानो उमेरका भएपनि देशका लागि ठूला प्रतिभा भएकाले सबैको शीर उँचो बनाएको भन्दै आफ्ना सन्ततिले सही मार्ग रोजेको भन्दै गर्व महसुस गरेको बिष्टले बताए । सुरुवाती चरणमा छोरीले गलब बाटो समायो की भन्ने लागेको अनुभव सुनाउँदै उनले खेल प्रति आफ्नो सोँच गलत सावित भएको भन्दै क्षमा याचना गरे । उनले हरेक सन्तानलाई स्वस्थ नागरिक बनाउन बालबालिकाहरुको रुची अनुसार जुन सुकै खेलमा आवद्ध गराउन अपिल गरे ।

स्वर्ण पदक जित्न सफल आयुश न्यौपानेकी आमा माया न्यौपानेले पनि खेलकुलका माध्यमबाटसँगै स्थानीय तह, जिल्ला, प्रदेश र देशको अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउनेदेखि इज्जत बढाउने काम गरेपनि खेलकुद क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गर्छिन् । देशको इज्जत बढाउन खेल्ने खेलाडीहरुलाई खेल्ने ठाउँ र पूर्वाधार अभावमा समेत देशको सान बढाउने काम गरेको भन्दै अब राज्यले उनीहरुमाथि कुनै कन्जुस्याई नगरी लगानी गर्न अपिल गरिन् । यस्तै, काश्य पदक विजेता टाइसन विष्टका बुवा भेषराज विष्टले प्रतियोगितामा सहभागी भई सबैको इज्जत बढाउँदै शीर उँचो बनाएको भन्दै बधाई दिए । खेलकुदको माध्यमबाट सानो उमेरमै छोराले गरेका प्रगतिले आफु र आफ्नो परिवारको नाम उँचो बनाएको भन्दै अझ प्रगतिको कामना गरे ।

दिल्लीमा सम्पन्न दुई दिने प्रतियोगितामा सहभागी खेलाडी आफ्नै लगानीमा खेल्न पुगेका थिए । यसमा अभिभावक, खेल क्षेत्रका अग्रजहरुको साथ रह्यो । दाङबाट १७ वर्षमाथि महिला ४६ केजी तौल समुहको खेलमा खेलाडी सुनिता बिष्ट, ५९ केजी तौल समूहमा खेलाडी ममता रिजाल, १४ वर्षमुनि ४६ केजी तौल समूहमा सरिता केसी, २९ केजी तौल समूहको खेलमा निशा पुन मगर र पुम्से अण्डर १२ तौल समूहमा आयुश न्यौपानेले स्वर्ण पदक जित्न सफल भए ।

त्यसैगरी बिरेन्द्र डाँगीले ५४ केजीभन्दा कम तौल समूहको खेलमा रजत, निश्चल घर्ती मगरले ४५ केजी तौलभन्दा कमको समूह, जस्मिन चौधरीले ४८ केजी तौल समूहभन्दा कम र टाइसन विष्टले ३२ केजीभन्दा कम तौल समूहको खेलमा काश्य पदक जित्न सफल भए । स्थलमार्ग हुँदै लामो यात्रा तय गरेका खेलाडीहरुले थकान, भोक, अभाव, अभिभावकत्व केही पनि नभनी देशका लागि लडेर यति ठूलो उपलब्धी लिएर घर फर्किँदा पनि उनीहरुको स्वागत सम्मान न स्थानीय सरकार थियो न खेल क्षेत्रका सम्वद्ध निकायका प्रतिनिधि नै थिए । सम्मान कार्यक्रममा सहभागी साना कलिला अनुहारका खेलाडीमा बेग्लै उत्साह देखिन्थ्यो । उनीहरुको मुहारमा देखिएको उर्जाले भोलिको भविष्य उज्यालो छ भन्ने प्रष्टै झल्किन्थ्यो ।